काठमाडौं । क्षयरोग निवारण गरिब राष्ट्रहरू मात्रै नभइ सार्क क्षेत्रकै चुनौती बनेको छ । काठमाडौंमा बिहीबार आयोजित सार्क राष्ट्रस्तरीय कार्यशाला गोष्ठी, एमएसएफ टीबी डे २०२४ मा विज्ञहरूले क्षयरोग सार्क क्षेत्रकै चुनौती बनेको बताए ।
कार्यक्रममा क्षयरोग नियन्त्रणमा काम गर्ने नेपाल, भारत, पाकिस्तान र बंगलादेशका सरकारी तथा गैह्रसरकारी निकायका प्रतिनिधिहरूले क्षयरोग निवारणका निम्ति उपचारको दायरामा सबै बिरामीलाई समेट्नुपर्नेमा जोड दिएका थिए ।
सार्क मुलुकहरूले सन् २०३० सम्ममा बर्सेनि थपिने क्षयरोगीको संख्या ८० प्रतिशतले र क्षयरोगका कारण हुने मृत्यु ९० प्रतिशतले घटाउने लक्ष्य राखेका छन् । तर, अधिकांश बिरामी रोग निदान र उपचारभन्दा बाहिर रहेकाले यो लक्ष्य भेटाउन कठिन हुने विज्ञहरू बताउँछन् ।
नेपालमा हाल ७० हजार जनसंख्यामा क्षयरोग भएको अनुमान छ । तर, तीमध्ये ३७ हजार ४४७ जना मात्रै पहिचान भएको ४६.५ प्रतिशत अझै उपचार बाहिर रहेको सेभ द चिल्ड्रेनका सिनियर टेक्निकल एड्भाइजर डा. आशिष श्रेष्ठ बताउँछन् ।
पहिचान र उपचारमा ग्याप हुनुमा सामाजिक लाञ्छनाका कारण बिरामी खुलेर बाहिर आउन नसक्नु नै रहेको उनको भनाइ छ । भारतमा क्षयरोगका बिरामीको संख्या २४ लाख रहेको र त्यसमध्ये ४४ प्रतिशत क्षयरोगी अझै उपचारको दायराभन्दा बाहिर रहेको तथ्यांक छ ।
बंगलादेशमा प्रतिवर्ष एकलाख जनसंख्यामध्ये २५ जनाको क्षयरोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ । त्यहाँ प्रत्येक वर्ष एक लाखमध्ये २६० जनामा क्षयरोग पहिचान हुने गरेको बार्क बंगलादेशकी सरुवारोग कार्यक्रम निर्देशक डा. सायला इस्लामले बताइन् ।
क्षयरोग पहिचान र उपचारमा ठूलो संख्या छुट्नु नै सार्क क्षेत्रमा क्षयरोग निवारणका निम्ति मुख्य चुनौती रहेको उनीहरूको भनाइ छ । यो चुनौती हटाउन समुदायमा आधारित अनुसन्धानात्मक कार्यक्रममा जोड दिनुपर्ने विज्ञहरूको जोड छ । त्यसका लागि ग्लोबल फन्डको आकार बढाउनुपर्ने बताउँछिन् बिराट नेपाल मेडिकल ट्रष्टकी रिसर्च म्यानेजर डा. कृतिका दीक्षित ।
क्षयरोगप्रतिको गलत सामाजिक बुझाइकै कारण ७० प्रतिशत बिरामीले आफ्नो रोजगारी गुमाउनुपरेको तथ्य उनले प्रस्तुत गरिन् । नेपालको हकमा समुदायमा आधारित क्षयरोग पहिचानका कार्यक्रममा सरोकारवालाहरूको ध्यान जानुपर्ने डा. दीक्षितको सुझाव छ ।