काठमाडौं । विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० संघीय संसद्, राष्ट्रियसभासमक्ष पेस गरिएको छ ।
सभाको सोमबारको बैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेस गर्दै त्यसबारे सभालाई जानकारी गराएकी थिइन् । सभापति राईले एक वर्षमा समितिका ५४ बैठक सम्पन्न भएको जानकारी दिइन् ।
यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गरिन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । रासस