काठमाडौं । संसद्को शून्य समयमा सांसदहरूले विभिन्न विषयहरू उठाएका छन् । राष्ट्रिय सरोकारदेखि किसानको समस्या समेत उठान भएको छ । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद इश्वरीदेवी न्यौपानेले मिटरब्याजपीडितको समस्या सरकारले समाधान गर्न नसकेको विषय उठान गरिन् ।
“सदनको पहिलो वर्ष उपलब्ध रहेन । आरोप प्रत्यारोपण गरेर व्यवस्था बदल्नुभन्दा अवस्था बदल्न लाग्नुपर्छ । २३ दिनको पैदल यात्रा गरेर मिटरब्याज र लद्युवित्तपीडित काठमाडौं आउनु सामान्य विषय होइन,” उनले भनिन् ।
यस्तै, अशोककुमार चौधरीले महिला र पुरुष फुटबल खेलाडीहरूबीच भइरहेको विभेद अन्त्य गर्न माग गरे । सांसद अश्मा कुमारी चौधरीले भूमिहीन किसानहरूको समस्याबारे विषय उठान गरिन् । उनले भने, “गुठीपीडित किसानहरू दाङमा धर्नामा छन् । यथाशीध्र गुठी विधेयक सदनमा ल्याई माग सम्बोधन होस् ।”
सांसद डा. आरजु राणा देउवाले किसानले कहिले दूधको भुक्तानी पाउँछन् भन्दै प्रश्न गरिन् । उनले सदनको कृषि समितिबाट निर्देशन दिँदा पनि भुक्तानी नभएको गुनासो गरिन् । “कात्तिक १५ गते कृषि समितिले नेपाल सरकारलाई दुग्ध किसानको पेमेन्ट गर्न निर्देशन दिएको थियो । अहिले यो कहाँ पुग्यो ? ताकेता गर्न अनुरोध गर्दछु,” उनले भनिन् ।
सांसद कुसुमदेवी थापाले दूध फालेर विरोध गरिरहँदा सरकार किन मौन यस विषयमा किन बहस हुँदैन भन्दै प्रश्न गरिन् । “दूध फालेर विरोध गरिरहेका छन् । अफ्रिकन स्वाइन फिवरको कारण बंगुर मरेका छन् । यसले किसानलाई व्यवसायबाट पलायन बनाइरहेका छन् । कानुनी अभाव कि संरचनाको कमी ? यसमा किन बहस भएन ?,” उनले भनिन् ।
सांसद इश्वरबहादुर रिजालले पनि किसानको दूधको भुक्तानी गर्नुपर्ने माग राखे । सांसद अमृतलाल राजवंशीले बालकुमारी घटनाको रिपोर्ट सार्वजनिक गर्न माग गरे । यस्तै, सांसद अमृतादेवी अग्रहरीले रक्षक भनिएको सरकार नै भक्षक भएपछि देश कसले बचाउँछ भन्दै प्रश्न गरिन् ।
“सरकारले सुशासन खै ? देशको रक्षक भक्षक भइरहँदा देशलाई कसले बचाउने ? दिउँसै नागरिकको हत्या गर्ने सरकारले देश कसरी बचाउँछन् ? मन्त्रीले गरेको गल्ती हैन ? मन्त्रीलाई कारबाही गर्नुपर्छ,” उनले भनिन् ।