site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिग–२ मा नेपालको तेस्रो हार, नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ । योसँगै नेपालले घरमै भएको शृंखलाका चारमध्ये तीन खेलमा हारको खराब नतिजा आत्मसात् गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १७३ रनको लक्ष्य डच टिमले ३७.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । नेदरल्यान्ड्सको जितमा विक्रमजित सिंहले अविजित ५८ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा छैटौँ अर्धशतक बनाएका सिंहले ९२ बलमा सात चौका प्रहार गरे ।

७१–२ को अवस्थाबाट विक्रमजितले तेस्रो विकेटका निम्ति साइब्रान्ड एन्जेलब्रेटसँग १०२ रनको शतकीय साझेदारी गर्दै नेदरल्यान्ड्सलाई जितसम्म पुर्‍याएका थिए । सिंहसँगै अविजित रहेका एन्जेलब्रेटले ७५ बलमा तीन चौकासहित ४६ रन जोडे ।

त्यसअघि, पहिलो विकेटका लागि माइकल लेभिट र म्याक्स ओ‘डाडले ८.४ ओभरमा ६१ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । लेभिटले ३४ बलमा तीन चौका र चार छक्कासहित ३९ रन बनाए । अर्का ओपनर ओ‘डाडले २६ बलमा समान दुई चौका र छक्कासहित २८ रन थपे ।

नेदरल्यान्ड्सविरुद्ध फितलो बनेका नेपाली बलरमध्ये ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । १० ओभर बलिङ गरेका ललितले ४२ रन खर्चिए । दीपेन्द्रले १० ओभरमा दुई मेडन राख्दै ३० रन दिए । अरू बलरको प्रदर्शन उल्लेख्य बन्न सकेन ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा संघर्ष गरेको नेपालबाट ओपनर कुशल भुर्तेलले ६६ रन बनाए । क्रिजको एक एन्डबाट लगातार विकेट जाँदा अर्कोमा टिकेका भुर्तेलले धैर्यपूर्ण ब्याटिङ गर्दै ९३ बलमा आठ चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो आठौँ अर्धशतक हो ।

आसिफ शेखसँग ओपनिङ ब्याटिङमा आएका भुर्तेल सातौँ विकेटका रूपमा आउट भएका थिए । पहिलो विकेटका निम्ति शेखसँग ८.३ ओभरमा ४२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर, यसपछिका ब्याटर खुलेर खेल्न नसक्दा नेपाली टिम ठूलो योगफलसम्म पुग्न सकेन ।

नेपालको स्कोरबोर्डमा आसिफले २७ बलमा दुई चौका र एक छक्कासहित १७ रन थपे ।

शीर्ष र मध्यक्रम ‘फ्लप’ भए पनि अन्तिममा आरिफ शेख र करण केसीले नवौँ विकेटका लागि ३६ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलसम्म पुगेको हो । ५० बल खेलेका आरिफले एक चौकासहित २२ रन बनाए । करणले २७ बलमा एक चौका र दुई छक्कासहित २६ रन थपे । कप्तान रोहितकुमार पौडेलले १६ रन थप्दा अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेदरल्यान्ड्सका भिभियन किंग्मा र आर्यन दत्तले समान तीन विकेट लिए । बास डे लिडेले दुई र रोइलोफ भान डेर मेर्वेले एक विकेट लिए ।

लिग–२ को पहिलो शृंखलामा खराब नतिजाको आत्मसात् गरेको नेपाल यसअघि नामिबियासँग सुरुआती खेलमा चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल पुनः नामिबियासँग दुई विकेटले पराजित भएको थियो ।

चार खेलबाट दुई अंकको नेपाल तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट तीन जितसहित ६ अंक जोडेको नामिबिया शीर्ष स्थानमा छ । चार खेलबाट दुई अंककै नेदरल्यान्ड्स दोस्रो स्थानमा छ ।

लिग–२ २०२४–२७ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, क्यानडा, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (यूएई) र अमेरिका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro