
काठमाडौं । पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा पाँचपोखरी र ह्योल्मो–११ विजयी भएका छन् ।
शनिबारदेखि सुरु भएको छैटौँ संस्करणको पाँचपोखरी ट्वान्टी–२० क्रिकेट प्रतियोगिता काठमाडौंको मूलपानीस्थित निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले गरेका थिए । शनिबार भएको पहिलो खेलमा साविक विजेता ह्योल्मो ११ ले चौतारा साँगाचोकगढी नगरपालिकालाई १२७ रनले पराजित गर्यो ।
शनिबारै भएको दोश्रो खेलमा पाँचपोखरी क्रिकेट क्लबले इन्द्रावती गाउँपालिकालाई चार विकेटले हराउँदै प्रतियोगितामा विजय सुरुआत गरेको छ । प्रतियोगितामा सिन्धुपाल्चोकका आठ टोलीको सहभागिता रहेको छ ।
यसपटक हरेक टोलीले समान एकजना नेपालबाट प्रतिनिधित्व गरिसकेका राष्ट्रिय खेलाडी खेलाउन पाउनेछन् । फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन् ।