site stats
बाह्रखरी :: Baahrakhari
खेल
त्रिदेशीय शृंखलामा घरेलु टिम नेपालविरुद्ध अपराजित नामिबिया

काठमाडौं । कप्तान गेरहार्ड इरास्मसको अर्धशतकप्रेरित नामिबियाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालविरुद्ध लगातार दोस्रो जित निकालेको छ ।

जारी शृंखलाको आफ्नो तेस्रो खेलमा नामिबियाले बुधबार घरेलु टिमलाई दुई विकेटले हराएको हो ।   यो सँगै लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नेपालले नामिबियाविरुद्धको दुवै खेलमा हार बेहोरेको छ । यसअघि शृंखलाको पहिलो खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १६९ रनको लक्ष्य कप्तान इरास्मसको अर्धशतकमा नामिबियाले ४० ओभरमा आठ विकेट गुमाएर भेट्टायो ।

नामिबियाको जितमा कप्तान इरास्मसले ५२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३औँ अर्धशतक बनाएका इरास्मसले ५६ बलमा एक चौका र दुई छक्का प्रहार गरे । १७–२ को अवस्थाबाट उनले माइकल भान लिन्गेनसँग ५२ रनको साझेदारी गर्दै नामिबियाको इनिङ सम्हालेका थिए ।

लिन्गेनले नामिबियाको स्कोरबोर्डमा ३१ रन थपे । उनले ३४ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

Global Ime bank

यस्तै, टिमको जितसम्म अविजित रहेका जेजे स्मिथले ६६ बलमा एक चौका र दुई छक्कासहित ३४ रन बनाए । रुबेन ट्रम्पेलमनले १६ रन थपे ।  नामिबियाको खातामा निकालेस डाभिनले आठ, जेन ग्रिनले ६, जान निकोल लोफ्टी–इटोनले पाँच, जान फ्रयाइलिन्कले चार र जेपी कोट्जेले तीन रन जोडेका थिए ।

नेपालका कुशल भुर्तेलले तीन विकेट लिए । पाँच ओभर बलिङ गरेका भुर्तेलले २८ रन खर्चिए । कुशल मल्ल, ललित राजवंशी, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

त्यसअघि आसिफ सेखले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो । जारी शृंखलामा पहिले ब्याटिङमा आएको टिमले बनाएको यो नै अहिलेसम्मको ठूलो योगफल हो । यसअघि पहिले ब्याटिङमा आउने कुनै पनि टिमले १४० रन कटाउन सकेका थिएनन् ।

नेपालका ओपनर आसिफ सेखले ५८ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १२औँ अर्धशतक बनाउने क्रममा आसिफले ६४ बलमा आठ चौका र एक छक्का प्रहार गरे ।  पहिलो विकेटका लागि अर्का ओपनर कुशल भुर्तेलसँग ६.१ ओभरमा ३८ रनको साझेदारी गर्दै आसिफले नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । भुर्तेलले टिमको खातामा १८ रन थपे ।

तर, आठ ओभरमा ४३ रन जोड्दा तीन विकेट गुमाएपछि नेपाल पुनः दबाबमा आएको थियो । ४३–३ को अवस्थाबाट आसिफले चौथो विकेटका लागि पुनः कुशल मल्लसँग ५७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

कुशलले ५२ बलमा तीन छक्का र एक चौकासहित ३६ रन थपे । यसबाहेक, भीम सार्कीले २६ र करण केसीले १२ रन बनाए । नामिबियाविरुद्ध नेपालका तीन ब्याटर खाता पनि नखोली पभेलियन फर्किए ।  नेपालका कप्तान रोहितकुमार पौडेल, अनिल साह र देव खनाल ‘डक’ भएका थिए । शून्यमा आउट भएका रोहितले नौ बल, देवले पाँच बल र अनिलले दुई बल खेलेका थिए ।

नामिबियाका बर्नार्ड स्कल्जले चार र जान निकोल लोफ्टी–इटोनले समान विकेट लिए । १० ओभर बलिङ गरेका स्कल्जले दुई मेडन फ्याक्दै ३१ रनमात्र खर्चिए । नेपालको शीर्ष क्रम ब्याटरलाई धरासायी बनाएका स्कल्जले कुशल भुर्तेल, आसिफ सेख, अनिल साह र भीम सार्कीलाई पभेलियनको दिशा देखाए । 

६.१ ओभर बलिङ गरेका इटोनले ३४ रनमात्र खर्चिए । उनले नेपालका कप्तान रोहित, दीपेन्दसिंह ऐरी, सोमपाल कामी र करण केसीलाई आउट गरे । ज्याक ब्रासेल र कप्तान गेरहार्ड इरास्मसले एक–एक विकेट लिए । ब्रासेलले देव खनाल र कप्तान इरास्मसले कुशल मल्लको विकेट हात पारे ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी शृंखलाको पहिलो खेलमा घरेलु टिमले यसअघि नामिबियासँग चार विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई नौ विकेट लिएका थिए ।

यता, नामिबियाको भने यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो खेलमा भने नामिबिया नेदरल्यान्ड्ससँग सात विकेट पराजित भएको थियो । नेपालले अब शृंखलाको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu