काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सरकार १५ देखि २० दिन मात्र चल्ने हो कि भन्दाभन्दै यति समयसम्म आइपुगेको भन्दै ठट्टा गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले आफूलाई सरकार ढल्ने चिन्ता नभएको बताए ।
सांसद गणेश पराजुलीले ‘सुशासनको कुरा गर्दा सरकार ढल्ने चिन्ता भएको हो ?’ भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले छिमेकी देश भारतमा अटल बिहारी बाजपेयीको सरकार १३ दिन टिकेको इतिहास थाहा पाएपछि आफूलाई आनन्द लागेको बताए ।
“कुर्सी हल्लिने मलाई डर छैन । अहिलेको प्रतिपक्षीले, पहिलेको प्रमुख प्रतिपक्षले मलाई प्रधानमन्त्री बनाएको हो । प्रधानमन्त्री बन्दा १५ दिन हो कि २० दिन हो भन्ने सोचेको थिएँ । विश्वको अध्ययन गरेको थिएँ । नजिकै छिमेकी देश भारतमा १३ दिनमा अटल बिहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिएँ,” उनले भने ।
कसरी भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने र सामाजिक सेवा प्रवाह गर्ने भन्ने मात्र आफ्नो दिमागमा रहेको भन्दै उनले सरकार ढल्ने बिल्कुलै डर नभएको जिकिर गरे ।