site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
राजेश हमालका दुइटा र ‘छक्का पञ्जा’ हेरेको भन्ने व्यक्ति सेन्सरमा आएपछि के अपेक्षा गर्ने ?

सेन्सरसिपको कुरा गर्दा सरकारले चारवटा विषयमा सेन्सर गरिनेछ भनेर उल्लेख गरे पुग्छ । सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जातीय सद्भाव र धार्मिक सहिष्णुता खलल गर्न पाइने छैन भनेर उल्लेख गरे मात्रै पनि पर्याप्त हुन्छ । बाँकी के होला, भोलि कसो होला भनेर सोच्नु पर्दैन ।

नेपालमा विरोधका लागि विरोध गर्ने प्रचलन नै बसिसकेको छ । धर्मको कुरामा केही सानो कुरा आयो भने त्यसमा विरोध हुन्छ । जातीय कुरा केही आयो भने त्यसको विरोधमा जुलुस उठ्छ । अभिव्यक्तिमा जे बोल्न पनि पाइयो, पुस्तकमै पनि धेरै कुरा लेख्न पाइने अवस्था छ । चलचित्रमा भने सेन्सरका नाममा धेरै कुरामाथि बन्देज लगाइयो । थप बन्देज लगाउन खोजिँदै छ । जबकि, पञ्चायतकालमा पनि पञ्चायती व्यवस्था र दरबारविरुद्ध नबोले मात्रै पुग्थ्यो । बाँकी विषयमा सेन्सर लाग्दैन थियो ।

हुनुपर्ने के थियो भने, देशको सार्वभौमसत्ता अरूमा जानु भएन । राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउन पाइने छैन । अर्थात्, कसैले नेपाल भन्ने देश भारतमा विलय गर्नुपर्छ भनेर सिनेमा बनाउन पाउँदैन । जातीय द्वन्द्व फैलाउन पाइँदैन । अहिले त क्यारिक्याकेचर पनि गर्न नपाइने भयो । मैले राई, लिम्बूको क्यारिकेचर गरेँ भने टिपिकल आवाज निकाल्न सक्छु होला, त्यो पाइएन । मैले काठमाडौंको टिपिकल नेवारी क्यारेक्टर गर्न लागेँ भने टट, मट त अवश्य आउँछ । तर, ‘ए, हामीलाई बोल्न जान्दैन भनेर हेपेको ! हामीलाई उडाउने ?’ भनेर विरोध हुन्छ । अहिले समाज साँगुरो सोच राखेर अगाडि बढेको देखिन्छ ।

Dabur Nepal
NIC Asia

तर, सिनेमा बनाउँदा राष्ट्रियताविरोधी, जातजातिबीचमा घृणा फैलाउनु भएन । मलाई नेवारी परम्परा एकदम झ्याउ लाग्छ भनेर भन्न पाइँदैन । नेवार समुदायकी केटीसँग प्रेम भयो भने अर्को समुदायको केटाले भगाइदेला, ‘हाम्रो नेवारी समुदायको छोरीलाई भगाउने ?’ भनेर विरोध गर्न पाइँदैन । जातीय र धार्मिक सद्भाव भड्काउन पाइएन । अपाच्य हुने गरी यौनका दृश्य देखाउनु भएन । यसबाहेक प्रतिबन्ध वा बन्देज लगाउनुपर्ने कुनै विषय छ भन्ने मलाई लाग्दैन ।

चलचित्र जाँचपास समितिले प्रस्ताव गरेका मस्यौदाले भनेजस्तो सिनेमाले समाजलाई उच्छृंखल बनाउने वा बिगार्ने काम गर्दैन । सिनेमाले त समाज बनाउँछ, सपार्छ । असत्यमाथि सत्यको जित हुन्छ भनेर देखाउँछ । बलात्कार गर्न हुँदैन भनेर सबैलाई थाहा छ । चलचित्रले यो कुरा दृश्यानुसार बनाउँछ । दृश्यानुसार बलात्कार गर्न हुँदैन भनेर देखाउन पहिला रेप गरेको देखाउनुपर्छ । अथवा, रेपको प्रयास गरेको देखाउनुपर्छ ।

प्रधानमन्त्रीलाई मार्छु भन्ने विषय बन्न सक्छ चलचित्रको । एउटा नागरिकलाई प्रधानमन्त्रीसँग रिस उठ्यो । त्यो नागरिक म प्रधानमन्त्रीलाई मार्छु भनेर योजना बनाउन थाल्छ । तर, सिनेमाको अन्तिममा पुग्दा त्यो व्यक्तिले मार्ने काम राम्रो हुँदैन, मान्छे मार्नु समस्याको समाधान होइन भन्ने महसुस गराउनुपर्छ । उसले मार्नलाई अनेकौँ हतकन्डा अपनाउँछ होला, प्रयास गर्छ होला । तर, अन्तिममा मार्नु समस्याको समाधान होइन भन्ने महसुस गर्छ । उसभित्र भएको नराम्रो चिज र गर्ने नराम्रो कामविरुद्ध लडाइँ लड्नुपर्छ । त्यो प्रधानमन्त्रीको मनमा रहेको नराम्रो भावनालाई चाहिँ मार्नुपर्छ भन्ने सन्देश सिनेमाले दिनुपर्छ ।

तर, ‘ओहो, तैँले प्रधानमन्त्री मार्न भन्न कहाँ पाउँछस् ! प्रधानमन्त्रीलाई मार्ने योजना बनाएको देखाउने सिनेमा कसरी बनाउन पाइन्छ ?’ भनेर भन्न पाइँदैन । यसो भन्ने हो भने त सिनेमा नै बन्दैन ।

सबै मन्त्रीहरू ‘चोर’ हुन् भनेर नागरिकले भनिरहेका छन् । त्यहाँभित्र एउटा इमानदार मन्त्री पनि होला । एकजना इमानदर व्यक्ति मन्त्री भनेर अधिकांश मन्त्रीमाथि उठेको विषयलाई सिनेमामा उठाउनै नपाइने हो ? 

सबैभन्दा दिक्क लाग्दो कुरा त नेपाल प्रहरीलाई नकारात्मक रूपमा देखाउन पाइँदैन भन्ने हो । प्रहरीका कुरा समेटिएको छ भने सुरुमै स्क्रिप्ट प्रहरी हेडक्वार्टरमा बुझाउनुपर्छ । किन म मेरो सिनेमामा भ्रष्ट प्रहरी देखाउन सक्तिनँ ? म प्रहरीलाई सिनेमाको मुख्य खलपात्र बनाउन किन सक्तिनँ ? त्यो प्रहरीले खराब काम गर्‍यो भने त्यसलाई मेरो सिनेमाको नायकले मार्न किन नपाउने ? सिनेमाको क्रिएसनको हिसाबले निश्चिन्त पाइयो ।

सरकार र सरकारी अधिकारीले आफ्नो व्यवहार सुधार्ने हो, चलचित्रलाई सुधार्न खोज्ने होइन । चलचित्रको सिर्जनशीलताको घाँटी निमोठ्ने होइन । आफूभित्र भएको खराब पक्ष र समाजमा रहेको विकृतिलाई हटाउने हो । यसका लागि पहिलो कुरा सिनेमा बुझ्नुपर्छ ।

सिनेमा हेर्ने व्यक्तिमा चलचित्रको न्यूनतम ज्ञान हुनुपर्छ । सेन्सर बोर्डमा बस्ने मान्छे चलचित्रको विज्ञ नै हुनुपर्छ । सरकारी निकायमा अधिकृत भएर आएको, ‘जिन्दगीभरमा राजेश हमालका दुइटा सिनेमा हेरेको छु’ भन्ने मान्छेलाई सेन्सर बोर्डमा राखेपछि के हुन्छ ? त्यस्तो व्यक्तिले चलचित्रबारे के बुझ्छ ? चलचित्रको मर्मबारे के थाहा पाउँछ ? सिनेमाको सूक्ष्मता, चलचित्रको सुरुआत, चलचित्र कसरी बन्छ भनेर ज्ञान नभएको मान्छे भएपछि हुने नै यस्तै त हो ।

चलचित्र कस्तो हुनुपर्छ, यसले सामाजिक दायित्व कति बोकेको हुन्छ ? चलचित्र कति क्रान्तिकारी हुन्छ, परिवर्तनको क्षमता कति राख्छ ? चलचित्रको मर्मलाई कति आत्मसात् गरेको छ ? चलचित्रको कति विज्ञ हो, चलचित्रको विद्यार्थी हो कि होइन ? चलचित्रको विद्यार्थी होइन भने ‘म सानो हुँदा राजेश हमालका दुइटा सिनेमा हेरेको थिएँ, अनि अस्ति ‘छक्का पञ्जा’ पनि हेरेको छु’ भन्ने मान्छेलाई चलचित्र मूल्यांकन गर्ने र त्यसलाई सर्टिफाइ गर्ने ठाउँमा नियुक्ति दिइन्छ भने के नै अपेक्षा गर्न सकिन्छ ?

चलचित्र सुधार्ने होइन, आफूलाई सुधार्ने हो । हामी चलचित्रकर्मीले आफ्नो सिनेमामा ७० प्रतिशत अंश नकारात्मक पक्ष देखाउँछौँ । भत्किएको र मासिएको देखाउँछौँ । सिनेमाको सुरुमा नायक पनि बिग्रिएको हुन्छ । प्रायः चलचित्र विकृत समाज र अवस्थाबाट सुरु गर्छौँ । नेगेटिभ कुराबाट सुरु भएको सिनेमामा विस्तारै–विस्तारै पोजेटिभ कुरा हाबी गराउँदै, आफ्नो कमजोरी महसुस गराउँदै चलचित्रको मुख्य पात्र र उसका फलोअर्सले आन्दोलन गर्छन्, क्रान्ति गर्छन् । नायक परिवर्तनका लागि अगाडि बढ्छ र आफूसँगै समाज रूपान्तरणका लागि सकारात्मक भूूमिका खेल्छ । त्यसपछि सिनेमाको हिस्सा परिवर्तनकारी र क्रान्तिकारी हुन्छ । चलचित्रमा नकारात्मक पक्षमाथि सकारात्मक पक्ष विजयी भएको देखाइन्छ । ७० प्रतिशत हिस्सा खराब देखाएपछि पो पछिल्लो ३० प्रतिशत हिस्सा हेरेपछि हो सिनेमा भनेको यस्तो हुनुपर्छ भनेर भन्न सकिन्छ ।

चलचित्रको यो संरचना, संवेदनशीलता र कथा उठान गर्ने स्ट्रक्चरलाई नै नबुझ्नेले भन्ने हो– यत्रोविधि खराब कुरा किन देखाएको ? यति धेरै बलात्कारका सिन किन देखाएको ? मन्त्रीलाई किन चोर भनेको ? भनेर प्रश्न गर्ने हो । चलचित्रको संरचना र संवेदनशीलता नै नबुझेपछि गरिने प्रश्न हुन् यी । संसारभरमा ९० प्रतिशत चलचित्र असत्यमाथि सत्य जितको विषयमा बनेका हुन्छन् ।

रामायणमा सीताको हरण हुन नदिएको भए रामायणको कथा नै हुने थिएन । सीतालाई नाडीमा छोएर किन रावणले लगेको ? रावणले सीतालाई हरेर लंका लगेपछि न राम गएर युद्ध गरेर सीतालाई फर्काएपछि रामको जित भयो । असत्यमाथि सत्यको जित भयो । महाभारतमा द्रौपदीको वस्त्रहरण भएपछि न महाभारत पूरा भयो । तासजुवा खेलेर युधिष्ठिरलाई वनवास नपुर्‍याएको भए पाण्डवहरूमा आउने परिवर्तन कसरी आउँथ्यो ? यी कुरालाई नबुझेपछि अहिलेको समस्या आएको हो । सेन्सर बोर्डको मस्यौदा चलचित्रको संरचना र सवेदनशीलता नबुझ्दाको परिणाम हो ।

अपांगलाई सिनेमामा देखाउँदा उसले खल्च्याङ खल्च्याङ गरेको देखिन्छ । तर, ‘अपांगलाई उडाउन पाइन्छ ?’ भनेर भन्ने हो भने सिनेमा कसरी बन्छ ? यो अव्यावहारिक मस्यौदा खारेज हुनुपर्छ । यस्तो मस्यौदा चलचित्रकर्मीले स्वीकार्न सक्दैनन् ।

(दीपकराज गिरीसँगको कुराकानीमा आधारित ।) 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro