site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
माघे मेलाको जिलेबी
Sarbottam CementSarbottam Cement

बीसको दशकको मध्यतिर म पूर्वी नेपालको सीमान्त गाउँमा जन्मिएँ । सानो छँदा नेपालीहरूको भाग्य र भरोसाको केन्द्र मानिएको र तत्कालीन राजा महेन्द्रको परिकल्पनाअनुसारको महेन्द्र राजमार्गको निर्माण कार्यले तीव्रता लिइरहेको थियो ।

ठूलाठूला सडक बनाउने बुल्डोजर गाडीहरू मैले त्यही सडक बन्ने क्रममा देखेको हुँ । कालाकाला भारतीय साहेबहरू र मरन्च्याँसे मजदुरहरू पनि त्यही बेला देखेको हुँ ।

सडक बनिसकेपछि केही पातला यातायातका साधन चल्न थाले त्यता । हामी केटाकेटीहरूको खेल्ने ठाउँ नै त्यही महेन्द्र राजमार्ग थियो । पर गाडीको आवाज सुनेर हामी बाटो छोडेर निस्किन्थ्यौँ । अहिले त्यही महेन्द्र राजमार्ग चार लेनको बन्ने क्रममा छ । बाटो काट्न हम्मेहम्मे पर्छ । सवारीसाधनको चाप अधिक छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यो समयको समाज पूरै कृषिमा आधारित थियो । अहिलेजस्तो छिट्टै पाक्ने धानको विकास कल्पनाबाहिरको कुरो थियो । मंसिरमा मात्रै धान पाक्थ्यो । अनि, पुस लागेपछि धान काट्ने चलन थियो ।

त्यसपछि हप्ता दश दिन धानका पाजाँहरू खेतमा नै सुकेपछि मात्रै बिटा लगाएर खमारमा ल्याएर कुनिउँ लगाउने काम हुन्थ्यो । माघको आधाउधीपछि मात्रै धान दाउनी गर्ने चलन थियो ।

Global Ime bank

खेतीपाती टन्नै हुनेहरू त चैतसम्मै धानको दाउनी गर्थे । त्यहीबीचमा किसानहरू जुट (स्थानीय भाषामा पाटा) र मकैका लागि खेतको बाँझो मारेर छाड्थे । तिनताक जुट प्रमुख नगदेबाली थियो ।

बीसकै दशकको अन्त्यतिरको एउटा घटना म सम्झन्छु, माघे मेलाको । साल सम्झना भएन । महिना त माघ पक्का हो । चारपाँच वर्ष उमेरको मलाई कुन माघ, कुन वैशाख, कुन भदौ, के थाहा हुनु र ! म स्कुल जान थालेको थिइनँ ।

त्यसैबखत हाम्रा गाउँका मानिसहरूको एउटा जत्था माघे मेला र मकर नुहाउन भनेर माइखोला (कन्काई) जाने भएछ । त्यस टोलीमा मेरा बुवाआमा पनि हामी (भाइ टंक र म) लाई लिएर जान तयार हुनुभएछ ।

माघे सक्रान्तिका दिन बिहानै सामान्य खाजा खाएर काँकडभिट्टाबाट आएको आराथुन बस चढेर जम्बो टोली माइखोलातर्फ अगाडि बढ्यो । त्यस बेला निन्दाखोलामा पनि पुल बन्दै थियो ।

त्यहाँ बसले खोलाबीचबाटै तारेको सम्झना छ, अहिले पनि । मुस्किलले धुलाबारीसम्म पुगेको मलाई त्यसभन्दा पश्चिमको भूगोलको बारेमा के नै थाहा हुनु र ?

बसमा चढेको निकै बेरपछि हामी माइखोलाको बगरमा उत्रियौ‘ । माइखोलामा पनि पुल बन्दै रहेछ, निन्दाखोलामा जस्तै । माइखोला हाम्रो घरभन्दा पश्चिमतिर पर्ने रहेछ, यो कुरा त्यसै दिन थाहा पाएको थिएँ मैले ।

मेरी आम्मै, गन्नै नसक्ने मान्छेको भीड ! जताततै मान्छे नै मान्छे । कति हो कति मान्छे ! सारा संसार मान्छेको कुँडुलो मैले जीवनमा पहिलोपल्ट देखेको थिएँ । जता हेर्यो मानिस । जता हेर्यो भीड ।

मेलामा ठूलठूला रोटेपिङ, त्यसमा रमाइरहेका मानिस । माइकको आवाजले मेलामा कोलाहल थियो । केहीमाथि पुगेर बुवाआमाहरूले नुहाउनुभयो । हामी केटाकेटीलाई टाउकोमा पानी छम्किएर नुहाएसरह पारिदिनुभयो । यसरी हामीले पनि मकर नुहाउने काम सम्पन्न गर्यौ‘ ।

त्यसपछि हामीले मेलाबजार एकसरो घुम्यौ‘ । पूरै शिरपुछार घुम्न त दिनभरमा पनि सकिन्थेन । बुवाले जेजति घुमाउनुभयो, त्यति घुम्यौँ । मेलामै उहाँले हामीलाई एकएकवटा मुरली किनिदिनुभएको थियो ।

मेलाको एकछेउ पुगेर हामीले चियानास्ता गर्यौ‘ । मैले त्यही दिन हो, पहिलोचोटि जिलेबी (जेरी)को स्वाद थाहा पाएको !

माघ महिनाको छोटो दिन, क्रमशः ढल्दै थियो । त्यसैले अब हामीले घर फर्किनुपर्ने थियो । त्यसैको ध्याउन्नमा हाम्रो टोली तयारीमा लाग्यो । सबैजना बस चढ्ने ठाउ‘मा पुग्यौँ । तर, जुनै बसमा पनि भीड ।

बसमा भीडको कुरा के भनिसक्नु थियो र ! अर्को कुरो, जुनै बस पनि भन्ने बेलामा धरान जाने भन्छ, अनि मान्छे भरिएपछि काँकडभिट्टातिरै लैजान्छ ! धेरै बसले यस्तो गरिरहेका थिए ।

बुवाले भर्खरै आएको बसमा हामीलाई खाँदखुँद पार्नुभयो । बसवाला मान्छे ‘धरान जान्छ, धरान जान्छ !’ भन्दै थियो ।

‘ठिक छ, बस धरान गएछ भने हामी पनि धरान नै जाने,’ भन्नुभयो बुवाले । बसभित्र सास दबाएर बसेका थियौँ, हामी । भीड त्यति थियो ।

मलाई भने एक किसिमको डर लागिरहेको थियो, बसले साँच्चिकै भरे धरान पुर्यायो भने हामी कहाँ बास बस्ने होला ? कहाँ भात खाने होला ? मेरो बालमस्तिष्कले तारन्तार यही कुरा मात्रै सोचिरहेको थियो ।

तर, बस धरानतिर नगएर काँकडभिट्टातिरै मोडियो । लाग्यो, बुवालाई यो कुरो थाहा भएरै हामीलाई यो बसमा चढाउनुभएको रहेछ ।

हामी घर पुग्दा गोधूलि साँझले स्वागत गरिसकेको थियो । एकैसाथ गएको हाम्रो टोली फिर्दा भने छिन्नभिन्न भएर फर्किएको थियो । कारण, यातायातको असुविधा । जसले सबैले एकैफेर गाडी समाउन पाएनन् ।

यसबीच मेची, पालिया, निन्दा र माइखोलामा धेरै पानी बग्यो, तर अहँ, माघे मेला पुनः हेर्ने मेरो धोको पूरा हुन सकेन । मलाई पहिलोचोटि माघे मेला लैजानुहुने बुवाले संसार छाडिसक्नुभएको छ ।

अर्कोपटक पनि माघे मेलामा जिलेबी खाने रहर ममा नभएको होइन । तर, लामो समय बित्यो । एकैपटक सत्तरीको दशकको प्रारम्भ (करिब चालिस वर्षको अन्तराल)मा म र मेरा साढुभाइ पुण्यप्रसाद मैनालीले माघे मेलामा गएर मकर नुहाउने मौका पायौँ ।

तर, मैले खै किन हो किन, बाल्यकालीन माघे मेलाको त्यो रूप त्यस दिन देख्न सकिनँ । सायद बदलिँदो समय र मेरो उमेरजन्य कारणले पो हो कि ! कि माघे मेला नै पो सुक्दै गएको हो ? मैले मेसो पाउन सकिनँ । जिलेबी खाने त कुरै भएन !

खासमा जबजब माघे सक्रान्ति आउँछ, म त्यही पुरानो माघे मेलास्थलमा पुगेको हुन्छु ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement