site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रुख सुकेपछि चरा नयाँ रुखमा गएजस्तो अवसर नदेखेर युवाले देश छाडे : पदम गिरी 
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले स्वदेशमा अवसर नदेखेर युवा पुस्तामा निराशा बढिरहेको बताएका छन् । यसको परिणाम दैनिक लाखौँ युवा विदेशिरहेको उनको भनाइ छ । 
 
बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यी विषयमा यर्थाथताको जगमा टेकेर मूल्यांकन गर्नुपर्ने बताए । “जसरी रुख सुक्यो भने त्यसमा रहेका चराहरू हरियो रुखमा जान्छन् । यो देशमा मेरो भविष्य छैन भनेर पलायन हुने ठाउँमा मान्छे पुगेका छन्,” उनले भने ।
 
प्रमुख सचेतक गिरीले गएको एक वर्षमा सदन प्रभावकारी बन्न नसकेको बताए । जनताको सरोकारको विषय, संविधान कार्यान्वयन र ऐन कानुन निर्माण तथा सुशासन समृद्धिका मुद्धामा बहस हुन नसकेको उनको भनाइ छ । सदनलाई प्रभाकवारी बनाउने काममा सबै पक्ष चुकेको बताए । 
 
“सरकारको गैरजिम्मेवारिका कारण सदनलाई एक वर्षमा एउटा मात्र ऐन दियौँ । हामीले समितिमा छलफल गर्न पनि सकेनौँ,” उनले भने, “जब संसद् सुशासन दिन प्रतिवद्ध छैन भने अरु निकायमा कसरी सुशासन हुन्छ ।”

उनले सदनले क्यालेन्डर बनाएर बैठक सञ्चालन गर्ने भन्दैमा सदन प्रभावकारी बन्ने ग्यारेन्टी नभएको तर्क गरे । “जुन कार्यतालिका आएको छ, कार्यतालिका बनाउँदैमा व्यवस्थित बन्छ भन्ने होइन । यसमा सरकारले पहल गर्नुपर्छ । समयमा विजनेसन दिनुपर्छ । शून्य र विशेष समय चलाएर मात्र हुँदैन । सदनलाई प्रभावकारी बनाउन सरकारको भूमिका हुन्छ,” उनले भने । 

नेकपा एमालेले कानुन निर्माण र जनताको विषय सदनमा जोडदार ढंगले उठाउने बताए ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्