site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अनुशासन र विधिमा टेकेर पार्टी नेतृत्व छान्नुपर्छ : नेता वाग्ले
फाइल तस्बिर ।

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले अनुशासन र विधिमा टेकेर पार्टीमा नेतृत्व छान्नुपर्ने धारणा राखेका छन् । रास्वपा व्यास नगर समितिको शनिबार दमौलीमा आयोजित भेलामा उनले पार्टीमा अनुशासन र विधिको शासनलाई कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गरे ।

पार्टीमा गुट बनाउने, नेताको नजिक हुन खोज्ने प्रवृत्ति भएकाले त्यस्ता प्रवृत्तिलाई रास्वपाले प्राथमिकता नदिने वाग्लेको भनाइ थियो । उनले भने, “राजनीतिक दलभित्र गुटबन्दी, नेताको चाकरी गर्ने प्रवृत्ति हुन्छ, हाम्रोमा पनि त्यस्तो प्रयास हुनसक्छ । त्यसमा हामी सचेत छौँ ।”

तनहुँ क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य रहेका वाग्लेले भ्रष्टाचार, विकृति र कुशासन भित्र्याउन खोज्ने तत्त्वविरुद्ध सचेत हुँदै त्यस्तालाई हटाउन निर्मम बनिने उल्लेख गरे । पार्टीमा देशैभर सर्वसाधारण जनताको आकर्षण बढेको बताउँदै आउँदो चुनावमा रास्वपाको लहर आउने वाग्लेले दाबी गरे ।

Argakhachi Cement Island Ad

उनले भने, “तनहुँ र चितवनको उपनिर्वाचनले पार्टीमा जनलहर आएको प्रमाणित भइसकेको छ । आगामी चुनाव २०८४ मा पार्टी सभापति रवि लामिछानेकै नेतृत्वमा हामी चुनावमा जाने हो ।”

डा. वाग्लेले पार्टीका १९ सांसद ४९ वर्षभन्दा कम उमेर समूहका रहेको बताउँदै अगाडि थपे, “हामीले अझै २० वर्षका लागि नेतृत्व तयार गरिसकेका छौँ । पाका नेताहरूलाई समेत पार्टीमा उचित जिम्मेवारी दिइन्छ ।”

डा. वाग्लेले राजनीतिलाई सङ्ल्याउने अभियानलाई अगाडि बढाउँदै सामाजिक न्यायसहितको उदार अर्थतन्त्रकोे नीति लिइएको बताए । कांग्रेसलाई कम्युनिस्ट बन्न गाह्रो र कम्युनिस्टलाई कांग्रेस बन्न गाह्रो हुने भन्दै वाग्लेले रास्वपामा सबै अट्ने जिकिर गरे ।

उनले भने, “सबै नेपाली अटाउन सक्ने पार्टी भनेको रास्वपा हो । नेपाली माटो सुहाउँदोको पार्टी छ ।”

पार्टीमा नेतृत्व गर्न आउनेलाई केन्द्रबाट हस्तक्षेप नगर्ने भन्दै उनले तल्लो तहबाटै नेतृत्व छनोट गरिने बताए । रास्वपा राजावादी पार्टी नभएको बताउँदै राजा चाहिन्छ भन्नेहरू पार्टीमा रहन नसक्ने वाग्लेको भनाइ थियो ।

संघीयताप्रति पार्टीको स्पष्ट धारणा रहेको भन्दै नेपाललाई भार पार्ने खालको संरचना आवश्यक नरहेको वाग्लेले बताए । आफूहरू संघीयताको विरोधी नभएको उनले उल्लेख गरे । रासस

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्