site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजालाई माधव नेपालको सुझाव– चुनाव जितेर प्रधानमन्त्री बने हुन्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीका रूपमा विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भई निर्वाचन जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न सुझाव दिए । राष्ट्रपति बन्नका निम्ति मानिसको अभाव नरहेको उनको भनाइ छ ।

“यदि, राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ,” उनले भने, “चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिए हुन्छ ।”

उनले देशमा अहिले प्रतिगामी शक्तिले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको बताए । राजतन्त्रले प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोष, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा अनेक स्रोतसाधनको एकलौटी कब्जा गरेको आरोप उनले लगाए ।

“अहिले हाम्रो देशको सामुमा समस्या प्रतिगामी शक्तिहरूले टाउको उठाउने र यो व्यवस्थालाई समाप्त पार्ने मात्रै देखिएको छ । त्यसको सामना गर्ने हो,” उनले भने, “राजतन्त्रले फेरि फर्किएर आउने चाहना राखेको छ । त्यो कदापि सम्भव छैन ।”

उनले थपे, “कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिँदैन । त्यसो हुनाले यहाँ राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक हो ।”

अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको बताए । उनले आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिका बारेमा गम्भीर रहेको उल्लेख गरे ।

“अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौँ । तर, असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन,” उनले भने, “असन्तुष्टि समस्याको समाधान होइन । समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो । समस्याका कारण पत्ता लगाउनुपर्छ । खोजी गर्नुपर्छ । त्यसको समाधानको बारेमा गम्भीर विचार र मन्थन हुनुपर्छ ।”

विश्वविद्यालयहरूमा विद्यार्थीको कमी भइरहेका बारेमा गहन अध्ययन गर्न जरुरी रहेको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro