
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सीजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरीलाई कुनै ठोस प्रमाण र आधारबिना नै प्रहरीले पक्राउ गरेको बताएको छ । प्रहरीले छानबिनका नाममा बिना प्रमाण चौधरीलाई पक्राउ गरेको नाडाको आरोप छ ।
बिहीबार साँझ एक विज्ञप्तिर्माफत नाडाले भनेको छ, "सम्बन्धित विषयकाे गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई आग्रहसमेत गर्दछौँ ।"
नाडाले पहिले गिरफ्तार गर्ने र पछि मात्र समस्या पहिल्याउने प्रवृत्तिले व्यवसायीहरूलाई थप हतोत्साहित बनाएको बताएको छ ।
"यसले आउँदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ । पहिला आवश्यक छानबिन र सत्यतथ्य यकिन गरेर मात्र कानुनी प्रकृयालाई अघि बढाउन हामी सरकारलाई आग्रह समेत गर्दछौँ," विज्ञप्तिमा भनिएको छ ।