काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले विशालविक्रम केसीलाई आठौँ विकेटको रूपमा गुमाएको छ ।
बुधबार दक्षिण अफ्रिकाको मनगंगमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले दीपेशलाई ४२.६ ओभरमा व्यक्तिगत ४८ रनमा गुमाएको हो । अर्धशतक बनाउन दुई रनले चुकेका विशालले १०० बलमा ६ चौका प्रहार गरे ।
खेलको ४३ ओभर समाप्त हुँदा नेपालले आठ विकेट गुमाएर १३८ रन बनाएको छ ।
प्रतियोगिताको यस संस्करणमा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् ।
नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।
यता, बंगलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार बेहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।
आजको खेलपछि नेपालले सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्ने छ ।