काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको हातपात घटनाको छानबिन गर्न गठित समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वको तीन सदस्यीय समितिले प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
घटनाको छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन मन्त्रालयले समितिलाई भनेको थियो । गएको शुक्रबार बनाइएको समितिले शनिबारदेखि काम थालेको थियो ।
समितिको कार्यावधि सोमबार नै सकिएको थियो । तर, समितिले थप एक दिनको समयावधि मागेको थियो । आज साँझसम्म प्रतिवेदन बुझाउने गरी काम भइरहेको समितिका एक सदस्यले बाह्रखरीलाई बताए ।
समितिमा नेपाल प्रहरीका डीआईजी राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन् ।
शुक्रबार विमानस्थलमा ‘चेकिङ’का क्रममा अध्यागमन अधिकृत छायालाल मोक्तान र प्रहरीका असई सञ्जय तामाङ र एक प्रहरी जवानबीच कुटाकुट भएको थियो ।