site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्लोभेनियामा सुनौला दश दिन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

ठमेलको ज्याठामा हिँडिरेहको थिएँ । अगाडि क्यामरा र पछाडि ब्याकप्याक बोकेको, दारी झप्प पालेकोे व्यक्ति एक्कासि त्यहीँ देखिए । यस्ता धेरै मान्छे देखिन्छन् ठमेलमा । तर, मेरा लागि उनी विशेष थिए, किनभने उनी आत्मीय मुस्कान भरेर मतिर हेरिरहेका थिए । मैले ठम्याउन सकिनछु, उनैले ‘ए बुढा, चिन्नु भएन !’ भनेपछि पो बल्ल चिनेँ । मैले सम्झिएँ, उनी त आत्मीय वीरमानजी थिए । कस्तो चिन्न नसकेको मैले !

मलाई लाज लाग्यो । तर, त्योे लाजलाई छोप्दै उनलाई जिस्काएँ, ‘विदेशीले पनि नेपाली बोल्दो रहेछ !’

अब उनी झनै हाँसे, उही पुरानो लयमा । आत्मीयताको डोरी अझै कस्सिएको अनुभव मैले गरेँ । उनी हतारमा थिए, त्यसैले बेलुका भेट्ने वाचा गरेर छुट्टियौँ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनीसँग मेरो पहिलो भेट मैतीदेवी मन्दिरमा भएको थियो । सूत्रधार भने कृष्ण शाह यात्री थिए ।

हाम्रो दोस्रो भेट ईशान सुवेदीजीको घर बाफलमा भयो । त्यस दिन ईशानजीको घरमै खाना खाई भरदिन फोटो सेसन गरेर बितायौँ । तेस्रो भेट साँझपखको थियो नक्सालमा, जहाँ उनी बसोबास गर्थे ।

Royal Enfield Island Ad

उनले त्यहाँ हामीलाई चिया खुवाए, तर अजीवको । भित्र पानी बसाले । चियापत्ती लिन बाहिर गए, केही घाँस चुँडेर ल्याए । पानीमा हाले र हामीलाई दिए । स्वाद भने बेजोडको थियो । पहिलोपल्ट लेमनग्रासको चिया मैले त्यहीँ पिएको थिएँ । फर्कने बेलामा मैले बिरुवा पनि ल्याएँ । मलाई लेमनग्रासको पारखी बनाउने पनि उनै हुन् । उनलाई तीनैपटक भेट्दा कृष्ण शाह यात्री सँगै थिए ।

नुवाकोटको कुमलटारमा वीरमान श्रेष्ठ त्यति बेला काठमाडौं सहरसँग निकै पौँठेजोरी खेलिरहेका थिए । सहरले जहिल्यै लखेट्न खोज्ने ! वीरमानलाई गाउँले त लखेट्यो, सहरले पनि बस्न नदिने यो सह्य थिएन । उनी पौँठेजोरी खेलिरहेका थिए ।

उनी यति लामो क्यामेरा बोक्थे, फोटो खिच्थे । कलम र कुची लिएर हिँड्थे । तुरुन्तै चित्र कोरिदिन्थे । तर, समयको साक्षी ती तस्बिर र पेन्टिङले पनि उनलाई यो सहरमा टिकाएन ।

त्यसपछि वीरमान इटालीतिर हान्निए । इटालीलाई केही वर्ष मुकाम बनाएपछि स्लोभेनियनी सुन्दरी आन्द्रेयाका साथ लाग्दै स्लोभेनियालाई मुकाम बनाए । अहिले उनी मन र मुटुका साथ उतै रमाइरहेका छन् ।

पहिले पौँठेजोरी खेलिरहेको काठमाडौंसँग भने यति बेला उनको पिरती झनै कस्सिएको छ । वीरमानजी स्लोभेनिया, ईशानजी जापानतिर लागेपछि भने कृष्ण शाह यात्रीजी र म यही खाल्डोमा रमाइरह्यौँ । अहिले यात्रीजी पनि अमेरिका हान्निएका छन् । वीरमानजीसँगको भेट विस्तारै पातलिँदैँ गए पनि सम्झना भने उस्तै थियो ।

तिनै आत्मीयले सन् २०१५ अक्टोबरमा युरोप आउने प्रस्ताव राखे । मैले सहर्ष स्वीकार गरेँ । जाने बन्दोबस्तको लागि उनले नै स्पोन्सर लेटर पठाए । भिसा पनि लाग्यो । र, ढिला नगरी मैले पनि सन् २०१५ को डिसेम्बर २८ गतेको टिकट बनाएँ ।

टर्किस एयरलाइन्सबाट स्तानबुलसम्म साढे आठ घण्टा र १२ घण्टाको ट्रान्जिटपछि भोलिपल्ट बिहान ७ः३० बजे स्लोभेनियाका लागि उडियो । यसअघि मलाई दिल्लीसम्मको उडानको मात्र अनुभव थियोे, यति लामो उडानको अनुभव पहिलोपटक नै थियो ।

जीवन वास्तवमै अनुभवैअनुभवको खानी रहेछ । स्तानबुलसम्म त नेपालीहरू पनि धेरै थिए, हवाईजहाजमा । केहीसँग कुराकानी पनि गरियो । एकजना फ्रान्सको एम्बेसीमा काम गर्छु भन्थे । छन्द न बन्दका उनका कुराले साह्रै दिक्क पनि बनायो । मैले एयर होस्टेसलाई भनेर सिटै परिवर्तन गरेँ !

पछि त ती महानुभावलाई एयर होस्टेसहरूले घेरिरहेकोे देखेँ । के भएछ भनेर बुझ्न गएको उनी त रक्सीले फिटान रहेछन् । अनि, ‘अझै रक्सी देऊ’ भनेर कराउँदै रहेछन् । म केही नबोली आफ्नै सिटमा फर्किएँ । भोलिपल्ट बिहानै क्वाइट रुममै भेटेँ । निन्याउरो अनुहार लगाएर बसेका रहेछन् ।

मैले ‘हिजोकोले छोडेन कि क्या हो !’ भनेर जिस्क्याएँ । उनी ‘अलि बढी भएछ’ भनेर हिँडे । बनावटी फुर्ती झर्नलाई कति नै समय लाग्दो रहेछ !

जाने बेला सुशील पन्तजी (गोरखा ट्राभल्स)ले ‘स्तानबुल पुगेपछि टर्किस एयरलाइन्सको काउन्टरमा गएर मिल कुपन माग्नू, बाहिर होटेलमा नजानू, भित्रै क्वाइट रुम माग्नू’ भनेका थिए । बेलुकीको करिब नौ बजे हामी उत्रियौँ । अमेरिका जान लागेका एकजना भाइ र दिदीको ‘सँगै बसौँ है’ भन्ने आग्रहलाई नकार्न सकिएन ।

केही समय एयरपोर्टभित्रै अलमलमा परियो । एक तलामाथि जानुपर्ने हामी तल्लो तलामै रुमल्लिएछौँ । यो पनि नौलो अनुभव रह्यो । सुरुमै लिफ्ट चढेर गएको भए ठिक हुने रहेछ । ती भाइको पछि लाग्नाले केही झमेला भयो ।

एक तलामाथि जाने क्रममा जुत्ता–ज्याकेट सबै खोलेर चेक गरे सुरक्षाकर्मीले । यो हाम्रा लागि नौलो थिएन, तर त्यो भाइको सर्ट–पाइन्ट समेत खोलेर चेक गरियो ।

लिफ्टबाट माथि गएपछि हामी फेरि अलमलमा पर्यौं । भाइ पनि त्यति जानकार रहेनछन्, दिदी त भर्खर छोरो भेट्न जान लागेकी रहिछन् । उनीहरूले मेरो सहारा खोजेको मलाई प्रस्ट भयो । केही समय त्यहीँ बेन्चमा आराम गर्यौं हामीले । भोक लागिरहेको थियो, उनीहरूलाई त्यहीँ छोडेर म खानाको लागि हिँडे । उनीहरू नखाने भनेर त्यहीँ बसे ।

म फुडकोर्टतिर घुम्दै गएँ । खानाको मेनु हेरेँ । के खाने के, अन्योल भयो, पुनः फर्किएँ । घुम्दै जाँदा टर्किस एयरलाइन्सको काउन्टर देखेँ र सुशीलजीको कुरा सम्झिएँ । काउन्टर खाली थियो ।

त्यहाँ रातको एक बजे मात्र काउन्टरमा मान्छेहरू आए । मैले मिल कुपनका बारेमा बताएँ । उसले ‘थाहा छैन’ भनेर पठाइदियो ।

हामी फ्रेन्च एयरलाइन्सको अगाडि बेन्चमा बसेका थियौँ, करिब तीन घण्टादेखि । फ्रेन्च एयरलाइन्सको कर्मचारीले सोध्यो, ‘कहाँ जान लागेको ?’ मैले सबै बेलीविस्तार लगाएँ । उसले बिहान पाँच नबजी यो रुममा यात्रुहरू नआउने भएकाले त्यहीँ सुत्न भन्योे ।

ऊ नेपाल आएको रहेछ, नेपालीको बारेमा केही जानकार रहेछ । उसले मलाई भन्यो, ‘हेर्, एसियन मूलका मान्छेहरूलाई यिनीहरूले धेरै हेप्छन् । एकपटक गएर थर्का !’

मैले फेरि गएर कुरा गरँे । अघिको मान्छे रहेनछ । उसले मुसुक्क हाँसेर ‘यति बेलासम्म भोक लागेन ?’ भनेर सोध्यो । उसले हामी तीनजनाको लागि पाँचवटा कुपन दिँदै भन्यो, ‘ल, यो पनि लिनु – भोलि बिहानको बे्रकफास्टको कुपन ।’

म दंग परेँ, उनीहरू पनि दंग परे । अघिसम्म ‘भोक लागेको छैन’ भन्ने त्यो भाइले तीनवटा कुपनका सबै खानेकुरा खायो । म ट्वाँ परेँँ । ती दिदीले भने फ्रेन्चफ्राई मात्र खाइन् । त्यसपछि हामी त्यहीँ फ्रेन्चको क्वाइट रुममा गएर पल्टियौँ । मिठो निन्द्रा लागेछ । बिहान एकैपल्ट पाँच बजे हल्लाखल्ला भएपछि ब्युँझियौँ ।

अघिल्लो दिन मलाई आइडिया दिने केटोलाई धन्यवाद दिएर फर्कंदै थिएँ, उसले आफैँ बनाएर कफी पिलायो । अनि, गेट नं. ८ मा जाने बाटो देखाइदियो । त्यो दिदीभाइसँग पनि छुट्टिएँ, तर उनीहरूको नाम नै सोध्न बिर्सेछु ।

त्यहाँको समयानुसार बिहानको ७ः३० बजेको फ्लाइट थियो । गेट नं. ८ मा पुगेर प्रतीक्षारत भइयो ।

अलिकति कुरा एयरपोर्टको पनि गरौँ । त्यहाँको एयरपोर्ट हेर्दा हाम्रो त एक छेउ पनि नलाग्ने ! मैले ठूलो एयरपोर्ट सामना गरिसकेको छु, दिल्लीको । दौडँदा दौडँदै झन्डैझन्डै दुईपटक प्लेन छुटेको । त्यहीँ कर्मचारीको गाली खाएको अनुभव पनि छँदै थियो । त्यसैले पनि म समयभन्दा पहिल्यै त्यहाँ पुगेँ र प्रतीक्षामा बसेँ । त्यसैले यात्रामा जहिल्यै चनाखो हुन्छु म ।

म वेटिङ रुममा जहाज कुर्दै गर्दा मनमा त्यहाँको एयरपोर्टकै बारेमा कौतूहल भइरह्यो । कति विशाल छ, मैले बिहानै धेरै घुमेँ । जति घुमे पनि छेउ र टुप्पो नभेटिने ! मान्छेहरू हुलका हुल आएका छन्, गएका छन् । यति मान्छे कि भनिसाध्य छैन् ।

यहाँबाट यात्रा गर्नका लागि युरोप पनि नजिक, अफ्रिका पनि नजिक र अमेरिका पनि नजिक । त्यो सहज पनि भएकाले स्तानबुल एसिया, युरोप, अफ्रिका र अमेरिकाको पनि ढोकाका रूपमा रहेछ । त्यसैले पनि यहाँ भीडभाड हुने रहेछ । सुविधायुक्त ट्रान्जिटको रूपमा यसलाई लिइँदो रहेछ । यो हेर्दा हाम्रो एयरपोर्ट एक छेउ पनि लागेन । मलाई लाग्यो– धन्न चलेका रहेछन् हाम्रोमा हवाईजहाजहरू ।

‘कृपया स्लोभेनिया जानुहुने यात्रुहरू ८ नम्बर काउन्टरमा पाल्नुहोला ।’

उद्घोषण भएपछि सबै लाइनमा लागे । म पनि लागेँ । हामीलाई एउटा बसमा चढाएर लगभग दश मिनेट गुडेपछि प्लेनमा पुर्याइयो । त्यसैले पनि यो एयरपोर्ट कत्रो रहेछ भन्ने अनुमान लगाउन सकिन्छ ।

स्लोेभेनियामा नेपाली प्रायः पुग्दा रहेनछन् । प्लेन पनि अलि सानो जाँदो रहेछ । पूरा प्लेनमा म एक्लो थिएँ नेपाली, अझ एसियन । सिटहरू आधा खाली थिए । मैले टिकटमा नै शाकाहारी खाना लेखाइसकेको हुनाले पहिले खाना नै ल्याइदिए । उनीहरूको सेवा भने राम्रो लाग्यो ।

साढे दुई घण्टाको उडानपछि म लुब्लियाना पुगेँ । उडान त्यति नहुने रहेछ, एयरपोर्ट पनि सानो । तर, सफा चिटिक्क । अरूकै पछि लागेर म अध्यागमनको काउन्टरमा पुगेँ । आफ्ना डकुमेन्टहरू देखाएँ । उसले स्पोन्सर गर्ने मान्छेको नाम सोध्यो । मैले ‘मेरो साथीको श्रीमती हो आन्द्रेया’ भनँे । ‘लगेज छ कि छैन ?’ भनेर सोध्यो । मैले ‘छ’ भनेपछि ‘लिएर आऊ’ भन्यो ।

अरू सबै गइसकेका थिए । लगेज लिने ठाउँमा मेरो मात्र लगेज ठिङ्ग्रिङ्ङ थियो । म लगेज लिएर भित्र पसेँ । उसले खोल्न आदेश दियो, मैले खोलेँ । उसले सबै सामानहरू एकएक गर्दै निकालेर हेर्यो । उसको आँखा मेरो किताबमा गएर अड्कियो र सोध्यो, ‘तिमी लेखक हौ ?’

मैले ‘हो’ भने । पुनः उसैले मेरा सामानहरू ब्यागमा हालेर जिपर लगाइदियो । पासपोर्टमा छाप हानेर दियो र भन्यो, ‘तिम्रो स्लोभेनिया बसाइ सुखद रहोस् ।’

धन्यवाद दिएर निस्कँदै थिएँ, वीरमानजी ढोकैमा आइपुगे, ‘तपाईंलाई दुःख दियो कि क्या हो !’ भन्दै । उनले ती पुलिससँग के–के कुरा गरे, त्यहाँकै भाषामा । त्यसपछि उसले मलाई ‘सरी है केही क्षण कुराएकोमा’ भनेर माफी माग्यो ।

माफी माग्ने र दिने काम सम्पन्न भएपछि म सुटकेस गुडाउँदै वीरमानजीको पछि लागेँ ।

सधैँ चिनेजानेको जस्तो गरेर वीरमानजीको छोरा अँगालो हाल्न आइपुग्यो । उसले मेरो भाषा र मैले उसको भाषा नबुझे पनि आँखा–आँखाले नै त्यो मिठो आत्मीयता र अपनत्वकोे बोध भयो । मैले भने, ‘तपाईंभन्दा छोरो निकै बाठो छ, हेर्नुस् त मलाई चिनेजस्तै गरेर मेरो अँगालोमा बाँधिएको ।’

अब दश दिन मेरो खेल्ने साथी हो यो । उनले पनि छोरालाई आफ्नो भाषामा भने । छोरोले झन् दंग पर्दै भन्यो, ‘अब ऊ मेरो ठूलो साथी भयो ।’

लुब्लियानाबाट करिब ४५ मिनेटको ड्राइभिङपछि हामी चेलिया पुग्यौँ । निन्द्रा, थकाइले केही थकित महसुस भएको थियो । वीरमानजीको घर पुगेपछि ढुक्क भइयो । उनकी श्रीमती आन्द्रेयाको आतिथ्य निकै उत्कृष्ट थियो ।

‘हामी नेपालीलाई जहाँ गए पनि दालभात नबजाई हुन्न सर, अब म तपाईंलाई दालभात पकाएर खुवाउँछु’ भनेर वीरमान कस्सिए । दुई दिन भइसकेको थियो पेटमा भात नपरेको । मैले नाइँ भन्ने कुरै भएन । त्यसैले मैले ‘हुन्छ’ भनिदिएँ । स्लोभेनियाको दालभात साँच्चिकै मिठो थियो । अपार्टमेन्टको नौ तलामाथिको यो बसाइ निकै सहज भयो ।

मध्य युरोपमा पर्ने स्लोभेनिया सुन्दर पहाडी मुलकको रूपमा चिनिन्छ । सानासाना चट्ट मिलेका पहाड, सफा चौडा बाटो, स्वच्छ वातावरण अनि अनुशासित मान्छेहरूले सबैलाई मोहित पार्छन् । प्राकृतिक रूपमा अति सुन्दर स्लोभेनिया युरोपियन युनियनको सदस्य राष्ट्र पनि हो ।

पूर्वमा हंगेरी, पश्चिममा इटाली । उत्तरमा अस्ट्रिया र दक्षिणमा क्रोयसियाको बीचमा छ, यो सुन्दर देश । जेलिया, आलु र मासु यहाँको मुख्य खाना हो । यहाँको मुख्य खेल स्की भएता पनि धेरै किसिमका खेलकुदमा मानिसहरूको रुचि देखिन्छ ।

खाना खाएर केही समय आराम गरेपछि वीरमानजीको कन्सन्र्ट रहेछ । उनी जान हतारिए । थकित भए पनि म जान हौसिएँ । करिब पाँच बजे हामी हिँड्यौँ । उनको स्टोरमा गएर सामानहरू गाडीमा लोड गरेर पुनः हुइँकियौँ । सात बजे ठिक समयमा सो सुरु हुने रहेछ । त्यसका लागि धेरै समानहरू लैजानुपर्ने हुँदा म गएर राम्रै भएछ । दुईजना भएर सामान बोकेर सबै ठिक पार्यौं ।

स्लोभेनियामा उनको यो कन्सन्र्ट चर्चित रहेछ । सिङगिङ बल बजाएर सबैलाई मुग्ध बनाउने उनको कला निकै चाखलाग्दो थियो । नेपालको धामीझाँक्रीजस्तै लाग्यो मलाई । म केही क्षण आराम गर्नका लागि गाडीमै बसेँ । दुई घण्टा मस्त निदाएछु । प्रोग्राम सकिएपछि पुनः गाडीमा सामान लोड गरेर हामी घर फर्कियौँ ।

घर पुग्दा बेलुकीको एघार बजिसकेको थियो । खानाले छोडेको थिएन, म स्लोभेनियाको पहिलो रात मस्तले सुतेँ ।

तेस्रो दिन । अघिल्लो दिन नै वीरमानजीले ‘भोलि हिउँ पर्छ’ भनेका थिए । बेलुका नै दुवै गाडीका चक्का परिवर्तन गरेका थियौँ, हामीले मिलेर । (हिउँ परेपछि गाडीको चक्का परिवर्तन गर्नुपर्ने रहेछ) । मैले वीरमानजीलाई हल्का जिस्काएँ, ‘नेपालमा त मौसमविद्को भर हुन्न, यहाँ पनि त त्यस्तै होला नि । बेकारमा किन दुःख गर्नु हो !’

‘यो युरोप हो सर, भोलि सबै घरहरू सेतै भएपछि थाहा पाउनुहुन्छ,’ उनले मजाक नगरी भने ।

नभन्दै भोलिपल्ट बिहान नवाैँ तलाबाट हेर्दा म चकित भएँ । सबै सेताम्य ! मैले धीत मरुन्जेल हेरेँ, झ्यालबाट हिउँ । त्यसै दिन हामी मारीवोर सहरतिर घुम्न गयौँ । फर्कंदा वीरमानजीले एकजना आर्टिस्टसँग भेट गराए ।

आर्टिस्ट योजे रसिला र हँसिला रहेछन् । भित्र पस्नेबित्तिकै उनले ‘के खाने ?’ भनेर सोधे । मैले एक गिलास पानी मागेँ । उनले जंगिँदै के भने मैले बुझ्न सकिनँ । वीरमानजी भने मुसुमुसु हाँसिरहेका थिए । तुरुन्तै उनले भने, ‘सर, पानी पिउने भए छिमेकीको पल्लो घरमा चिसो पानी पाइन्छ, त्यहाँ जाने । ब्रुनो (लोकल वाइन) पिउने भए यहाँ पाइन्छ भन्छन् त बुढा !’

मलाई अप्ठ्यारो लाग्यो । मैले केही नबोलेको देखेर योजेले ठूलो स्वरमा फेरि केही भने । ‘यो यहाँको उखान मात्र हो, बुढा जिस्केका हुन् ।’

म पनि के कम, ‘छिमेकमा राम्री तरुनी पनि त होली नि, बरु उतै लागौँ कि क्या हो !’ भनिदिएँ । वीरमानजीले योजेलाई अनुवाद गरी सुनाए । उनी त मलाई अँगालो मार्न आए र भने ‘तिमी पनि रसिक रहेछौ । मेरै घरमा तरुनी छोरी छे, सक्छौ भने लैजाऊ ।’

त्यति बेलासम्म उनकी श्रीमती र छोरी वाइन लिएर हामीलाई पिउन आग्रह गरिरहेका थिए । त्यहीँबाट सुरु भयो हाम्रो वाइन चियर्स (नजरावेँ) । मैले योजेसँग सानो कुराकानी गर्न चाहेँ, उनी राजी भए । हामीले उनका गीत पनि सुन्यौँ । उनकी श्रीमती संगीतकार रहिछिन् । छोरी पनि गायिका । कस्तो राम्रो संयोग ।

मैले नेपाल आएपछि योजेको चित्रकारिताका बारेमा दुईवटा लेख पनि लेखेँ । पत्रिका उनलाई पठाइदिएँ । पछि योजेसँग कुरा गर्दा उनले त्यसलाई जतनसाथ भित्तामा फ्रेममा राखेको देखाउँदा म गदगद भएँ ।

सात हजार ८२७ वर्गमिटरमा फैलिएको यो सानो देशमा लगभग २६ लाख जनसंख्या रहेको छ । लुब्लियाना यसको राजधानी । प्रायः नेपालीहरू मुस्किलले पुग्ने यस देशमा करिब ७०/८० जना मात्रै नेपालीहरूको बसोबास रहेको स्लोभेनियाका लागि नेपाली वाणिज्यदूत रहेका अश्विनी श्रेष्ठले बताउनुभएको थियो ।

अश्विनी सरको घरमा उहाँले नै पकाएको दालभात कम्ता मिठो थिएन । यहाँ आर्थिक कारोबार युरोमा नै हुनेगर्दो रहेछ । रोग्ला, मारीवोर, रोगार्सका, लुब्लियाना, भेलेन्या, पोर्रतोरस, पीराना, कोपर, चेलीया र कुनिचा यसका मुख्य सहरहरू रहेछन् ।

जनतालाई सरकार भएको अनुभूति हुने देश र जनताप्रति सरकारलाई पूर्ण विश्वास भएको देशका रूपमा स्लोभेनियालाई लिन सकिन्छ । हुन त विकसित देशका सरकार जनताप्रति उत्तरदायी हुन्छन् नै, नत्र कसरी यत्रो विकास सम्भव छ र ? युरोपको भूमिमा उभिएर हेर्दा हाम्रो देश उनीहरूको दाँजोमा पुग्नको लागि निरन्तर काम गरे पनि सय वर्षभन्दा बढी लाग्न सक्छ ।

मलाई हिउँ असाध्यै मन पर्छ । हिमालयको देश भने पनि मैले हिउँसँगको अनुभूति खासै साट्न पाएको थिइनँ । त्यसैले म बढी उत्साहित भएँ । हिमपातले बढाउने कठ्यांग्रिँदो चिसोलाई बिर्सिएर हिउँले नुहाउँदा यहाँको सुन्दर प्रकृति अझै कति सुन्दर हुने होला भनेर पो सोच्न थालेछु ।

‘युरोपको हिउँ नहेरेको मान्छेले युरोपको अनुभव छ भनेको सुहाउँदैन,’ एकजना साथीले भनेका थिए । झलक्क सम्झिएँ । जे होस्, म हिउँको युरोपेली सौन्दर्यलाई आस्वादन गर्नका लागि जस्तै चिसोलाई झेल्न पनि तयार थिएँ ।

जनवरी २०१६ को पहिलो दिन । बिहानै उठेर ‘आज तपाईंलाई म रोग्ला घुमाउन लैजान्छु’ भन्दै वीरमानजी कस्सिए । आखिर म त घुम्नैका लागि आएको थिए युरोप । आन्द्रेयाले बनाएको मिठो केक र चिया पिएर हामी चेलियामै रहेको योगा केन्द्रमा गयौँ । अनि, योग शिविरको उद्घाटन समारोहमा सहभागी भएर घरमा लन्च गरेर रोग्ला हान्नियौँ । चेलिया सहरबाट करिब ४० किमि उत्तरमा रहेको रोग्ला हिउँ खेल्नका लागि प्रख्यात रहेछ । स्लोभेनियाको पर्यटनको मुख्य केन्द्रविन्दु पनि रहेछ रोग्ला ।

बाटोमा जाँदै गर्दा मलाई नगरकोट जाने बाटोजस्तै अनुभूति भइरहेको थियो । नयाँ वर्ष भएकोले बिदाको सदुपयोग गर्न त्यहाँ भीडभाड ठूलै थियो । स्वर्गजस्तै लाग्ने सुन्दर रोग्लाको रौनकले म एकछिन अलमल्लै परेछु । ओहो, मान्छेहरू हिउँमा कस्तो रमाइरहेका ! एकातिर चिसो स्याँठ चलिरहेको छ, अर्काेतिर सफा घाम वरिपरि छरिएको छ । घामका किरणहरूले सफेद हिउँलाई चाटीचुटी गरेर अझै स्निग्ध बनाइरहेका छन् । बच्चादेखि बुढासम्मै हिउँमा रमाइरहेका छन् । स्लोभानियाको प्रसिद्ध खेल स्की खेल्नेहरूको भीड पनि उत्तिकै ।

रोग्लामा बाह्रै महिना हिउँ रहँदो रहेछ । तालको पानीमा पनि पूरा हिउँ जमेको । स्की खेल्नका लागि सुरक्षित स्थानहरूको निर्माण गरिएको रहेछ । स्की गर्दै तल पुगेपछि पुनः केबलकारबाट माथि आउने व्यवस्था पनि रहेछ ।

प्रकृतिले खन्याएको सौन्दर्यमा मानिसको कल्पना र बुद्धिविवेक अनि मिहिनेतले सिर्जना गरेको स्वर्ग थियो त्यो । सायद पुराणहरूमा वर्णित स्वर्ग यस्तै हुन्छ होला ! मानिसहरू सायद यही अनुभूति बोेकेर रमाइरहेका थिए । म पनि केही समय रमाएँ । त्यहाँको सुन्दरता मन र भौतिक दुवै क्यामरामा कैद गरियो ।

मैले स्की खेल्न जानेको थिइनँ, तर त्यहाँ खेलेका मान्छेहरू देखेर पूरा आनन्द लिएँ । वीरमानजी यसअघि पनि धेरैपटक रोग्ला पुगेका थिए, तापनि उनको हाउभाउ देख्दा लाग्थ्यो, मानौँ उनी त्यहाँ पहिलोपटक आएका हुन् ।

वीरमानजी र मैले हिउँसँग धेरै बेर लुकामारी खेल्यौँ । त्यहाँको मनमोहक सुन्दरताले मन हरेको थियो । म पहिलोपटक पुगेकोले रमाइलो लागेको ठानेको थिएँ, तर स्लोभियन नै मभन्दा बढी रमाइरहेका थिए । मान्छेले गरे के नहुने रहेछ भन्ने प्रमाण थियो रोग्लामा ।

अत्याधुनिक सुविधा त्यहाँ थियो । सँगै प्रकृतिले सबै सुन्दरता त्यतै लगेर खन्याइदिएको थियो । माइनस १५ को चिसोमा पनि मन गर्माइरहेको आभास हुन्थ्यो । हिउँमा खेल्नको लागि चाहिने सबै सामानहरू हामीसँग थियो नै ।

दिनभर मनमोहक रोग्लासित भुलेर सूर्य डुब्नै लाग्दा हामी पनि चेलियातिर लम्कियौँ ।

दश दिनको समयमा धेरैभन्दा धेरै स्थानहरू घुम्नु छ । त्यहाँको रहनसहन रीतिरिवाजको अवलोकन गर्नु छ । म सकेसम्म धेरै घुम्ने छु, मेरो सारथी वीरमानजी जो छँदै छन् । यसैक्रममा यहाँका मुख्य सहरहरूमा पुग्ने ठूलो अभिलाषा छ र चेक रिपब्लिकसम्म पुग्नका लागि यानासँग कुराकानी भइहेछ । हेरौँ, कतिसम्म भ्याउँदा रहेछौँ ।

वीरमानजी ‘तपाईं कम्तीमा पनि २०/२५ दिनको समय लिएर आउनुपर्ने’ भनेर ख्याउँख्याउँ गरिरहेका छन् । म भने हाँसेर टारिदिन्छु ।

मुख्य सहरहरूमध्ये रोग्ला, मारीवोर, लुब्लियाना, पीराना, कोपर र चेलीयामा मात्र घुमियो । इटालीको त्रियस्ते हुँदै कोपरबाट क्रोयसिया भेटियो । मारिवोरको अंगुर खेती नियाल्दै अस्ट्रियाको छेउसम्म पुगियो । कलाकारहरूसँग भेटियो, युरोपको नाट्यशालामा नाटक पनि हेरियो । ७२ वर्षीय नाटक निर्देशक भिन्चेयस सेन्टोच्निक आफैँ चेलिया सहरको फायरमेन प्रमुख पनि रहेछन् । ७२ वर्षको उमेरमा पनि कहिल्यै फुर्सद छैन उनलाई । थकानको अनुभूति छैन ।

जब फुर्सद मिल्छ, आफ्नो वर्कसपभित्र पसेर कम्युटरमा अल्मलिइरहेका हुन्छन् उनी । यस्ता महत्त्वपूर्ण व्यक्तिहरूसँगको भेटघाटले यात्रा निकै महत्त्वपूर्ण भएको आभास भयो । अर्को एउटा कुरा, यहाँका नाट्यकर्मीहरू कोही प्रहरीमा जागिरे, कोही इन्जिनियर रहेछन् । कोही नगरपालिकामा काम गर्ने, कोही व्यापार गर्ने । कोही मोटर मिस्त्री पनि रहेछन् । नाटकका पात्रजस्तै जीवनका अनेक रूपमा मञ्चन भइरहेका छन्, उनीहरू ।

उनीहरूबीच को वरिष्ठ को कनिष्ठ छुट्ट्याउन सकिँदैन । उनीहरूलाई सरकारले यो गरेन, त्यो गरेन भन्ने गुनासो पनि रहेन छ । किनकि, उनीहरू सबै आफैँ आ–आफ्नो क्षेत्रमा विज्ञ छन् । यहाँका धेरै सकारात्मक कुरा हामीले सिक्न जरुरी देखेँ मैले ।

समय अभावका कारणले कवि/साहित्यकारहरूसँग चाहेर पनि भेट्न सकिएन । मौका मिलेमा अर्कोपटक अहिले पूरा गर्न नसकेका अभिलाषाहरू पूरा गर्ने नै छु । जे होस्, युरोपको यो सानो देश जति सुन्दर थियो, त्यतिकै सुन्दर वीरमानजीले मलाई भेटाएका मानिसहरू थिए । एकै भेटमा पनि उनीहरूले दर्शाएको आत्मीयता स्मृतिपटमा आज पनि ताजै छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro