काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेलका लागि भएको टस जितेर अफगानिस्तानका कप्तान नासिर खान मरुफखिलले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए ।
यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो ।
आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । यो समूहमा समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउनेछ । यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।