site stats
बाह्रखरी :: Baahrakhari
देश
पानी पर्छ तर मौसम विभागको सिस्टमले देखाउँदैन, किन ? 

काठमाडौं । काठमाडौंका केही स्थानमा आज छिटपुट वर्षा भएको छ । चाबहिल, बालाजु, बालुवाटारलगायत स्थानमा वर्षा भएको हो । 

जल तथा मौसम विज्ञान विभागको नियमित बुलेटिनमा भने काठमाडौंसँगै देशभर आज वर्षा नहुने उल्लेख छ । टेलिफोन संवादमा पनि विभागका मौसमविद्हरूले आज वर्षाको सम्भावना नरहेको बताएका थिए । तर, विभागको पूर्वानुमानभन्दा विपरीत काठमाडौंमा वर्षा भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पानी परे पनि विभागको सिस्टममा भने नदेखिएको मौसमविद् गोविन्द झा बताउँछन् । “हाम्रो सिस्टममा पानी परेको देखिएको छैन । हामीलाई पनि पानी परेको खबर आएपछि बुझ्दा काठमाडौंका केही स्थानमा पानी परेको हो रहेछ,” उनले बाह्रखरीसँग भने । 

यद्यपि, लामो समयसम्म पर्ने खालको पानी नभएको उनी बताउँछन् । धेरै भू–भागमा नपर्ने भन्दै उनी खण्ड वृष्टि हुने बताउँछन् । स्थानीय वायु सक्रिय हुँदा सिस्टममा नदेखिए पनि पानी परेको मौसमविद् झाको भनाइ छ । 

पानी पर्ने वा नपर्ने अथवा बदली हुने/नहुने भन्ने पूर्वानुमान गर्ने विभागको सिस्टमले स्थानीय वायुले पारेको पानी नदेखाएको उनी स्पष्ट पार्छन् । “यो पश्चिमी वायुको प्रभावले पारेको पानी होइन । स्थानीय सिस्टम सक्रिय भएर छिटपुट वर्षा भएको हो, त्यो पनि खण्ड वृष्टि मात्रै हो,” मौसमविद् झा भन्छन्, “स्थानीय सिस्टम सक्रिय भएर भएको वर्षा रेकर्ड गर्न हाम्रो सिस्टमले सकेन ।” 

यद्यपि, यसलाई उनी अस्वभाविक भन्दैनन् । नेपालको भूगोल नै जटिल भएकाले यस्तो अवस्था आउने उनको तर्क छ । चार किलोमिटर दूरीसम्मको वर्षा रेकर्ड गर्ने प्रणाली रहेको तर त्यसभन्दा बाहिरको वर्षा मापन हुन नसकेको मौसमविद् झा बताउँछन् । एउटै पहाडको एकातिर पानी पर्ने तर अर्कोतिर नपर्ने गरेको उनको भनाइ छ । जटिल भौगोलिक भू–संरचनाका कारण यस्तो हुने उनको तर्क छ । 

“ठूलो क्षेत्रमा वर्षा भएको भए सिस्टमले देखाउँथ्यो । पश्चिमी वायुले पारेको पानी भएको भए धेरै भू–भागमा वर्षा हुने भएकाले त्यो देखाउँथ्यो,” उनी अगाडि थप्छन्, “आज हामीले पश्चिमी वायुको प्रभावले उच्च पहाड र हिमाली क्षेत्रमा हिमपात हुन्छ भनेका थियौँ, भयो । त्यसलाई हाम्रो सिस्टमले देखाएको छ ।” 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्