site stats
बाह्रखरी :: Baahrakhari
कला
विदेशबाट पारिश्रमिकको रकम ल्याउँदा कलाकारलाई विमानस्थलमा समस्या हुँदैन ?

काठमाडौं । गायक प्रमोद खरेल बुधबार (हिजो) कन्सर्टका लागि कतार गएका छन् । प्रमोद उतैबाट हङकङ जानेछन् । कतिपय अवस्थामा एउटै कार्यक्रममा जाँदा उनी थुप्रै स्टेज पफर्मेन्स गरेर फर्किन्छन् । प्रमोद मात्र होइन, विशेष गरी अमेरिका, अस्ट्रेलिया र युरोप गएका बेला कलाकार कम्तीमा आधा दर्जनभन्दा धेरै कार्यक्रम एकैपटक गरेर फर्किन्छन् ।

यस्तो अवस्थामा एकै कलाकारले प्रायः धेरै पारिश्रमिक लिएर आउनुपर्ने हुन्छ । एकैपटक दर्जनौँ कार्यक्रमको पारिश्रमिक लिएर आउँदा समस्या हुँदैन ? 

त्यसैले प्रमोद अक्सर पारिश्रमिक साथमा लिएर आउँदैनन् । उनी सकेसम्म नेपालबाटै पारिश्रमिक लिने वातावरण मिलाउँछन् । “म अर्गनाइजरलाई नेपालमै बैंकमा पैसा जम्मा गर्न भन्छु, ५० प्रतिशत अग्रिम पेमेन्ट गरेपछि मात्रै कार्यक्रम गर्न जान्छु,” प्रमोद भन्छन्, “बाँकी पेमेन्ट पनि सकेसम्म अर्गनाइजरका यहीँका कम्पनीबाट जम्मा गर्न भन्ने गरेको छु ।”

प्रमोद देशानुसार पैसा ल्याउन सहज र असहज हुने बताउँछन् । “केही देशमा सहज हुन्छ, केहीमा अलि असहज हुन्छ,” प्रमोद भन्छन्, “अर्गनाइजरअनुसार पनि यो कुरा निर्धारण हुन्छ । तर, पैसा लिएर फर्किन भने खासै कठिन हुँदैन ।”

पैसा ल्याउन हुन सक्ने सम्भावित झन्झट नहोस् भनेर प्रमोद नेपालबाटै आफ्नो खातामा रकम जम्मा गर्न लगाउँछन् । कतिपयले नेपाल र कतिले भारतबाट पैसा जम्मा गरिदिने गरेको उनको अनुभव छ । “कति आयोजकले भारत र नेपालबाट पैसा जम्मा गर्दिन्छन्,” प्रमोद भन्छन्, “कतिले नेपालमै पारिश्रमिक दिने गरी सहमति गरेका हुन्छन् ।”  

Global Ime bank

कतिपय कलाकारले एक/दुई हजार डलर साथमै बोकेर आउने गरेको उनको भनाइ छ ।

गायक कुलेन्द्र विश्वकर्मा पारिश्रमिकबापत आउने पैसा ल्याउन समस्या नरहेको बताउँछन् । एक/दुई हजार डलर खल्तीमै बोकेर आउँदा पनि समस्या नहुने उनको अनुभव छ । “केही दिनअगाडि मात्रै मैले करिब दुई हजार डलर साथमै बोकेर आएको थिएँ,” कुलेन्द्र भन्छन्, “सानो अमाउन्ट बोकेर हिँड्दा समस्या हुँदैन । ठूलो परिमाणमा पैसा ल्याउनलाई मात्रै समस्या हुने हो ।”

कतिपय आयोजकले विभिन्न मनि ट्रान्सफरमार्फत आफ्नो खातामा रकम हालिदिने गरेको उनी सुनाउँछन् । केहीले नेपालमै पैसा दिने गरेको उनको अनुभव छ ।

“केही आयोजकले नेपालमा आफन्त तथा यहाँको कम्पनीमार्फत पैसा खातामा पठाइदिनुहुन्छ,” कुलेन्द्र भन्छन्, “कतिपय अवस्थामा हामी आफैँ उहाँ चिनेजानेका आफन्तलाई पैसा छोडेर यता उनीहरूका आफन्तबाट लिन्छौँ ।”

एक/दुई कार्यक्रममा वर्षको एकाधपटक विदेश जाने कलाकारलाई पारिश्रमिक नेपाल ल्याउन समस्या नरहेको गायिका आस्था राउतको अनुभव छ । २५ देखि ५० प्रतिशत सुरुमै आयोजकले एड्भान्स पठाइदिने र बाँकी रकम सपिङ गर्दै सकिने उनी बताउँछिन् ।

“तीन/चार लाख रुपैयाँ पैसा ल्याउन समस्या हुँदैन । त्यसमा पनि वर्षमा एक/दुईपटक कार्यक्रममा जाने कलाकारलाई एड्भान्सबाहेक बाँकी पैसा सपिङ र घुमघाममै सकिन्छ,” उनी भन्छिन् ।

तीन/चार महिना उतै बसेर कार्यक्रम गरेर आउनेलाई भने अप्ठ्यारो हुन सक्ने आस्था बताउँछिन् ।

लोकदोहोरी गायक खुमन अधिकारी ५/६ लाख रुपैयाँ साथमै लिएर आउन खासै समस्या नरहेको सुनाउँछन् । ५/६ लाख आफूले साथमै बोकेर आएको उनको भनाइ छ ।

कुन देशमा कार्यक्रम गर्न गएको र प्रस्तुतिको विस्तृत विवरण साथमा भएपछि ५/६ लाख रुपैयाँ लिएर आउँदा विमानस्थलमा पनि समस्या नहुने उनी बताउँछन् । “धेरै रकम एकैपटक लिएर आउनुपर्‍यो भने सायद समस्या हुन्छ होला । तर, पारिश्रमिकबापतको मात्रै रकम लिएर आउनलाई आजसम्म समस्या भएको छैन,” खुमन भन्छन् ।

आयोजकले कर काटेर पारिश्रमिक दिने हुँदा शंका लागे आधिकारिक निकायले पान नम्बर ‘चेक’ गर्दा पनि समस्या नहुने उनको बुझाइ छ ।

एकैपटक विभिन्न कार्यक्रममा सहभागी भएर फर्कंदा धेरै पैसा भएको अवस्थामा उतैबाट आफ्नो बैंक खातामा पठाउने गरेको उनी सुनाउँछन् । “एकपटक यूके र युरोपमा कार्यक्रम सकेर फर्किंदा केही रकम बैंकमा पठाएर आफू फर्किएको छु,” खुमन भन्छन्, “धेरै पैसा बोकर आउँदा रिस्क हुन्छ भनेर बैंक खातामा पठाएर आउने गरेको छु ।”

विदेशबाट नेपाल पैसा पठाउन अहिले धेरै समस्या नहुने कलाकारको अनुभव छ । आईएमई, प्रभु मनि ट्रान्सफर, ईसेवा मनि ट्रान्सफर, वेस्टर्न युनियन मनि ट्रान्सफर, सिटी एक्सप्रेसलगायत मनि ट्रान्सफरमार्फत पैसा पठाउन सकिने भएकाले पनि अहिले विदेशबाट रकम लिएर आउन ठूलो समस्या नरहेको उनीहरूको भनाइ छ ।

कार्यक्रम गरेर विदेशी मुद्रा नेपाल ल्याउनु आफैँमा राम्रो भएकाले यसमा झन्झटिलो प्रक्रिया हुन नहुने गायक कुलेन्द्रको धारणा छ । राज्यले सरलीकरण गर्नुपर्नेमा उनको जोड छ ।

विदेश गएर लामो समय बसेर धेरै कार्यक्रम गरेर फर्कनेमा लोक तथा दोहोरी गायकगायिका बढी छन् । उनीहरूले पनि पारिश्रमिक ल्याउन समस्या नरहेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा बताउँछिन् ।

“आजसम्म हामीलाई कसैले पनि पारिश्रमिकबापत पाउने पैसा लिएर आउन समस्या भयो भनेर भन्नुभएको छैन,” रीता भन्छिन्, “सम्भवतः समस्या नभएरै कुरा नआएको होला । संस्था र व्यक्तिगत रूपमा पनि कुनै गुनासो आएको छैन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu