डाक्टर च्याङवीक मेरा पुज्य गुरु तथा अत्यन्त बौद्धिक मान्छे । उहाँ मकहाँ पाहुना बस्ने भन्ने कुराले म साह्रै प्रसन्न थिएँ, फुर्किएको पनि थिएँ । मैले नै उहाँलाई दार्जीलिङ घुमाउनु भन्ने उहाँको आदेश थियो ।
मनोविज्ञानका प्राध्यापकलाई पर्यटन स्थलहरूभन्दा प्राकृतिक सुन्दर ठाउँहरू मोहक लाग्ला भन्ठानेर मैले उहाँलाई धुपीको बाक्लो वन, खरका नेपाली सुन्दर घरहरू, बोटानिकल गार्डनबाट सूर्यास्तको गुलाफी छाया हरिया चियाको बोटमा परेको दृश्य देखाउने कार्यक्रम बनाएँ ।
डा. च्याङवीक आइपुग्नु भयो । ६ फुट अग्ला, मकै जुँगे, रातो–पिरो अनुहार भएका प्रौढ अंग्रेज डा. च्याङवीकको मुहार बौद्धिकताको क्रान्तिले उज्यालो थियो । देख्नेले फर्केर नहेरी धरै नपाउने ।
उहाँलाई पहिले सूर्यास्त देखाउने निर्णय गरेर बोटानिकल गार्डन (सरकारी फूलबारी) लगेँ । सूर्यास्तको गुलाफी छाया चियाका कलिला मुनाहरूमा परेर लजाएकी किशोरीको सम्झना गराउँथ्यो ।
फूलबारीको पुछारमा राखिएको काठको फलैँचामा बसेर हामी सूर्यास्त हेर्न थाल्यौँ । फलैँचाका वरिपरि सेता गुलाफका लहराहरू झ्यामझ्याम्ती थिए तथा सेता गुलाफका फूलका झुप्पा झुप्पा फुलेर हावा नै मगमगाएको थियो ।
गदगद हुँदै डा. च्याङवीकले भन्नु भयो, ‘प्रकृतिले कति धेरै सौन्दर्य दिएको छ यो ठाउँलाई । यस्तो ठाउँमा बस्न पाएर पनि तिमी किन पेन्टिङ्ग (चित्रकला) गर्दिनौ ?’
आत्मग्लानिले मुन्टो निहुराएँ । के कैफियत दिने...? आफू त कुम्भकर्ण भइसकेँ भन्न भएन । ठीक त्यति नै बेला राता–राता पोक्चे गाला भएका दुई जना ससाना केटाहरूले गुलाफको झ्याङको पछाडिबाट चियाइरहेको देखेँ ।
एउटाले भन्यो, ‘हेर है त रिठ्ठे अब त्यो गोराले केटीको छातीमा हात राख्छ अनि त्यसको ओंठमा म्वाइँ खान्छ, अंग्रेजी सिनेमामा जस्तै ।’
अर्कोले भन्यो, ‘हिजो पो मजा आयो यार, आजको गोरा त बूढो छ, केटीले पनि सारी लगाएकी छ ।’
मेरा कान गाला तातिन थाले । लाजले भुतुक्क हुँदै फलैँचाबाट जुरुक्क उठ्दै भनेँ, ‘जाऊँ सर तलबाट दृश्य झन् राम्रो देखिन्छ ।’
डा. च्याङवीकले मलाई उनको कुरा बिझे छ भन्ने ठान्नु भयो क्यार, मायालु स्वरमा भन्नु भयो, ‘मेरो कुराले तिम्रो चित्त दुख्यो भने मलाई क्षमा गर है नानी ।’
अंग्रेजको सोहमतै राम्रो । आत्तिएर भनेँ, ‘होइन सर होइन सर ।’
(‘छहारी’ वर्ष–१, अंक–१)
(थापाको कथाकृति ‘प्रलय प्रतीक्षा’बाट)