site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारको सातागत विश्लेषण : आगामी हप्ता बढ्ने संकेत !

काठमाडौं । यो साता चारदिन सेयर कारोबार भयो । जसमा दुई दिन घट्यो, दुई दिन बढ्यो । बजार बढ्दा उच्च अंकले बढ्यो, घट्दा सामान्य अंकले । दुई दिनमा सेयर बजार ८१ अंक बढेको छ । तर, दुई कारोबार दिनमा बजार २० अंक घटेको छ ।

गत साताको तुलनामा बजार ६६ अंकले बढेको छ । यो साता बजार २२ सय विन्दु पार गरेर तल झरेको छ । लगानीकर्तामा मनोवैज्ञानिक त्रास बढ्दा बजार अहिले २,१५५ को विन्दुमा छ । गत साता बजार २,०८९ को विन्दुमा बन्द भएको थियो ।

धितोपत्र दोस्रो बजारको कुल बजार पुँजीकरण ३४ खर्ब नजिक पुगेको छ । यस साताको अन्तिम कारोबार दिन बिहीबारसम्म धितोपत्र दोस्रो बजारको कुल बजार पुँजीकरण ३३ खर्ब ८६ अर्ब तीन करोड रुपैयाँ कायम भएको हो । 

गत साताको तुलनामा यो साता कुल बजार पुँजीकरण एक खर्ब चार अर्ब ९६ करोड रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांक छ ।  गत साताको अन्तिम कारोबार दिन कुल बजार पुँजीकरण ३२ खर्ब ८१ अर्ब सात करोड रुपैयाँ थियो ।

बजारमा उतारचढाव कायम रहे पनि कारोबार रकम भने बढ्दो क्रममा छ । गत बुधबार नौ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । तर, त्यसको भोलिपल्ट कारोबार रकम घटेर आठ अर्ब १७ करोड रुपैयाँ कायम भएको थियो ।

सन् २०२३ डिसेम्बरदेखि २०२४ जनवरी १८ सम्म ६ हप्ता सेयर कारोबार भएको छ । यी ६ कारोबार दिनमा पहिलो दुई हप्ता बजार बढेको छ भने त्यसपछिका दुई हप्ता घटेको छ । त्यस्तै पछिल्लो दुई हप्ता भने बजार बढेको छ ।

बजारको प्राविधिक पक्षलाई सुक्ष्मरूपमा विश्लेषण गर्दा बजार आगामी दिनमा बुलिस ट्रेडमा जाने देखिएको सेयर बजार विश्लेषक सुवासचन्द्र ढुंगाना बताउँछन् ।

“डिसेम्बर महिनादेखि अहिलेसम्म ६ हप्ता कारोबार भएको छ । त्यसमा पहिलो दुई हप्ता बजार हरियो, दुई हप्ता रातो र अहिले अन्तिम दुई हप्ता फेरि हरियो बनेको छ । तर, यसमा ग्रिन क्यान्डिलको साइज ठूलो र रेड क्यान्डिलको साइज सानो छ,” विश्लेषक ढुंगानाले भने, “भोलुम पनि बजार बढ्दा धेरै र घट्दा थोरै आएकोले मार्केटमा स्ट्रेन्थ छ भनेर बुझ्न सकिन्छ । गत हप्ता २ प्रतिशत र यो हप्ता ३ प्रतिशतले बजार बढेको देखिन्छ ।” 

बजारले गति लिएर अघि बढ्ने संकेत गरेसँगै यो क्षेत्रमा लगानी बढेको सेयर विश्लेषकहरू बताउँछन् । नयाँ लगानीकर्ताको प्रवेश पनि दोस्रो बजारमा बढिरहेको ब्रोकरहरू बताउँछन् ।

नयाँ ब्रोकरहरूको बजार प्रवेशसँगै नयाँ लगानीकर्ताहरूको संख्या बढ्दै गएको छ । धितोपत्र बजारमा लगानीयोग्य पुँजी जुटाउन सहज भइरहेको जानकारीसमेत लगानीकर्ताहरूले दिएका छन् । आफ्नो धितोपत्रमा भएको लगानीको मूल्य बढेसँगै सेयर धितोकर्जा थप्ने लगानीकर्ताको संख्यासमेत बढेको जानकारी बैंक तथा वित्तीय संस्थाहरूले दिएका छन् । लामो समयपछि निकै उत्साहित अवस्थामा लगानीकर्ता रहेको ब्रोकरहरू बताउँछन् ।

अबको हप्ता बजारले घट्दा २०२० र बढ्दा २२१५ विन्दुको सामना गर्नुपर्ने ढुंगाना बताउँछन् । “यो हप्ता क्यान्डिलको हाई विन्दु २,२१५ र लो विन्दु २०९३ छ । बजार केही समय यही रेन्जमा खेलेर माथि जान्छ भने यसको वृद्धि हुने सम्भावना धेरै हुन्छ,” उनले भने, “अब बुलिस सेन्टिमेन्ट बढ्नका लागि २२१५ माथि बन्द हुनुपर्ने देखिन्छ । एकपटक २२ सय विनदुलाई हिर्काएर फर्किएको र फेरि पनि २२ सयतिरै बजार फर्किन्छ । त्यसलाई तोड्छ भने पहिलेको बलियो २२ सयको रेसिडेन्स त्यसपछि सपोर्ट बन्न पुग्छ ।”  

यो साताको पहिलो कारोबार दिन ३१.६२ अंक, दोस्रो दिन ५४.५४ अंक बढेको बजार बन्द भएको थियो । त्यसपछिका दुई कारोबार दिन निरन्तर बजार घटेको छ । तेस्रो कारोबार दिन १२.१० अंक र चौथो तथा अन्तिम कारोबार दिन ७.२४ अंकले बजार घटेको हो ।

गत साताको तुलनामा यो साता बजार मापक नेप्से परिसूचक ३.२० प्रतिशत अर्थात ६६.८३ अंक माथि उक्लिएको छ ।

यो साताको चार कारोबार दिनमा ३१ अर्ब ४१ करोड ८२ लाख रुपैयाँको ९ करोड ४६ लाख २६ हजार कित्ता धितोपत्र कारोबार भएको छ । गत पाँच कारोबार दिनमा २५ अर्ब ४७ करोड ७५ लाख रुपैयाँको आठ करोड २५ लाख ३७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम पाँच अर्ब ९४ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता एक करोड २० लाख ८८ हजारको भएको हो ।

‘अन्य’ समूहका कम्पनीमा लगानीकर्ता झुमिए

गत साताको तुलनामा ‘अन्य’ समूहको परिसूचक यो साता सर्वाधिक ८.९३ प्रतिशत बढेको छ । जलविद्युत्‌को ६.०८ प्रतिशत, लघुवित्तको ४.२७ प्रतिशत, विकास बैंकको ३.४४ प्रतिशत र लगानीको २.८८ प्रतिशत परिसूचक वृद्धि भएको छ । 

त्यस्तै, वित्तको २.८६ प्रतिशत, बैंकिङको २.२७ प्रतिशत, म्युचुअल फन्ड समूहको ०.५९ प्रतिशत, निर्जीवन बिमा समूहको ०.४९ प्रतिशत, जीवन बिमा समूहको ०.४७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ०.२४ प्रतिशत परिसूचक बढेको छ । 

साता बढेको बजारमा होटल तथा पर्यटन समूहको परिसूचक १.८३ प्रतिशत र व्यापारिक समूहको परिसूचक १.३४ प्रतिशत घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro