सियोल । प्योङयाङले दक्षिण कोरियासँगको तनावपूर्ण सामुद्रिक सीमा नजिक ‘प्रत्यक्ष हतियार प्रहार’को अभ्यास गरेको केही दिनपछि उत्तर कोरियाले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
“उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,” सियोलका ज्वाइन्ट चिफ अफ स्टाफले एक विज्ञप्तिमा भनेका छन् । ज्वाइन्ट चिफ अफ स्टाफले प्रक्षेपण भएको पत्ता लागेको बताए पनि यसबारे थप विवरण भने दिएका छैनन् ।
जापानको तटरक्षक बलले उत्तर कोरियाको रक्षा मन्त्रालय र चेतावनीवाहक जहाजहरूको जानकारीलाई उद्धृत गर्दै ‘सम्भावित ब्यालेस्टिक क्षेप्यास्त्र’ उत्तर कोरियाबाट प्रक्षेपण गरिएको बताएको छ ।
उत्तर कोरियाले पछिल्लो पटक ह्वासोङ–१८ ठोस इन्धनले चल्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो ।
केही दिनअघि उत्तर कोरियाले दक्षिण कोरियासँगको सामुद्रिक सीमा नजिक दुर्लभ ‘प्रत्यक्ष आक्रमणको अभ्यास’ गरेको थियो, जसका कारण केही दक्षिण कोरियाली सीमावर्ती टापुमा सावधानीका लागि निर्देशन जारी गरिएको थियो ।
उत्तर कोरियाली नेता किम जोङ उनले यसै साताको सुरुमा सियोललाई आफ्नो ‘प्रमुख शत्रु’ को संज्ञा दिँदै दक्षिण कोरियालाई ध्वस्त पार्न नहिचकिचाउने चेतावनी दिएका छन् ।
“ऐतिहासिक समय अन्ततः आएको छ, अब हामीले दक्षिण कोरियालाई ‘प्रमुख शत्रुराष्ट्र’को रूपमा परिभाषित गर्नुपर्छ,” किमले बुधबार कोरियाली केन्द्रया समाचार निकाय (केसीएनए)लाई उद्धृत गर्दै भनेका छन् ।
विश्लेषकहरूले त्यतिबेला यो परिवर्तन महत्त्वपूर्ण रहेको बताएका छन् । उनीहरूले प्योङयाङको सियोलप्रतिको दृष्टिकोणमा आएको परिवर्तनलाई ‘अति–उग्र मोड’ मा परिवर्तनको संकेत गरेको थियो ।
किमले आणविक शक्तिको रूपमा देशको स्थायी हैसियतलाई संविधानमा समावेश गरेपछि र धेरै उन्नत अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रहरूको परीक्षण गरेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौँ यताकै सबैभन्दा खराब अवस्थामा पुगेको छ । रासस/एएफपी