गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट, २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरू र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा. महतले निम्तो दिएका हुन् ।
सम्बोधनका क्रममा मन्त्री डा. महतले भने, "नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदै छ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्ताहरूलाई पनि निम्तो गर्छु । तपाईंहरूको इनोभेटिभ बिज्नेस आइडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्ने छ भन्ने आशा गर्दछु ।"
उनले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र आईटीमा लगानीको ठूलो अवसर रहेकाे बताए । स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवाजस्ता लगानीका अन्य सम्भावित क्षेत्रहरू पनि रहेकाे उनको भनाइ छ ।