काठमाडौं । चलचित्र निर्देशक घनश्याम लामिछानेले आफू ‘चित्रा’मार्फत मेनस्ट्रिम सिनेमा निर्देशनमा पनि प्रवेश गरेको बताएका छन् । रियालिस्टिक सिनेमा मात्रै निर्देशन गर्छ भन्ने छवि बनेको भन्दै उनले ‘चित्रा’मार्फत उक्त धारणा परिवर्तन हुने बताए ।
“घनश्याम लामिछाने भनेको आर्ट टाइपको सिनेमा मात्रै बनाउँछ भन्ने धारणा धेरैमा रह्यो । यो स्टेरियोटाइप धारण हो,” उनी भन्छन्, “चित्रामार्फत यो धारणा परिवर्तन हुन्छ । चित्रा कर्मसियल इलिमेन्ट भएको सिनेमा हो ।” चलचित्र ‘पञ्चेबाजा’ हेरेर धेरैले स्लो सिनेमा मात्रै बनाउँछ भन्ने टिप्पणी गरेको भन्दै उनले अब त्यो आरोप आफूले खेप्नु नपर्ने उनको विह्वास छ ।
हरेक निर्देशकले फरक–फरक जानराका सिनेमामा काम गर्नुपर्ने उनको धारणा छ । कुन निर्देशकले कस्तो सिनेमा बनाउँछ भन्ने उसका केही सिनेमा हेरेर मूल्यांकन गर्ने गरिएको उनको भनाइ छ । यद्यपि, मेकरले आफूले चाहेजस्तो सिनेमा बनाउन नपाइरहेको हुनसक्ने उनी बताउँछन् ।
सानो घटनाले व्यक्तिलाई कुन हदसम्म पुर्याउँछ ?
आफू रियालिस्टिक मात्रै नभएर हरेक जानराका सिनेमा बनाउने चाह भएको निर्देशक भएको उनी बताउँछन् । “म आर्टिस्टिक र अहिले बनाएको चित्राजस्तो मात्रै होइन, मैले बनाउन चाहेका सिनेमा धेरै खालका छन् । तर त्यसका लागि लगानी गर्ने व्यक्ति चाहिन्छ,” घनश्याम अगाडि थप्छन्, “मैले धौली बनाएँ । चित्रा रिलिज हुँदै छ । त्यसैले महिलाप्रधान सिनेमा बनाउँछ भन्ने ट्याग लाग्छ । महिलाका कथा पक्कै पनि मेरा सिनेमाले भन्छन् । तर, त्यस्तै मात्रै चलचित्र निर्देशन गर्छु भन्ने होइन ।”
आफूले ‘चित्रा’मार्फत फरक स्वादको सिनेमा दिन लागेको उनले बताए । घनश्यामले निर्देशनले गरेको चलचित्र ‘चित्रा’ यही पुस २७ गते रिलिज हुँदै छ ।
‘चित्रा’मा सन्तोष अधिकारी, प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रधान, सुवेक्षा खड्का, अञ्जना बराइली, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘चित्रा’ बावु र छोरीसँगै साथीको कथा भएको निर्देशक घनश्यामले बताउँदै आएका छन् ।