site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बरहथवा घटना : मृतकको शव अझै घटनास्थलमै, यस्तो छ स्थानीयको माग

काठमाडौं । सर्लाहीको बरहथवा घटनामा मृत्यु भएका व्यक्तिको शव अझै घटनास्थलबाट उठाइएको छैन । गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।

उनको शव अझै घटनास्थलबाट नउठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । शव उठाउनका निम्ति स्थानीयले विभिन्न माग अघि सारेको उनले बताए ।

“शव उठाइएको छैन, माग पूरा नभई शव नउठाउने उहाँहरूले बताउनुभएको छ,” डीएसपी पञ्जियारले बाह्रखरीसित भने ।

शव उठाएर दाहसंस्कार गर्न मृतकलाई सहिद घोषणा गर्नुपर्ने, पीडित पक्षलाई क्षतिपूर्तिलगायत माग गरिएको उनले जानकारी दिए ।

यस्तै, घटनाका दोषीमाथि कारबाही, गोली चलाउने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ ।

बरहथवास्थित १५ शय्याको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गर्नुपर्ने, मृतकको सालिक बनाउनुपर्ने पनि उनीहरूले माग गरेका छन् ।

“मृतकलाई सहिद घोषणा गर्नुपर्ने, बरहथवा नगरपालिका–६ मा मृतकको स्ट्याचु (सालिक) बनाउनुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने, १५ शय्याको अस्पताललाई ५० शय्याको बनाउनुपर्ने उहाँहरूको माग छ,” उनले भने ।

मृतकको अन्तिम संस्कार र पीडित पक्षको मागका विषयमा छलफल जारी रहेको उनले बताए । स्थानीयले प्रदर्शन पनि जारी राखेका छन् ।

यसैबीच, घटनामा गोली चलाउने प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता गरिएको उनले जानकारी दिए ।

यता, घटनामा ज्यान गुमाएका साहका परिवारलाई सरकारले राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति पनि बनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro