काठमाडौं । सरकारले बालकुमारी घटनाको छानबिनका निम्ति उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।
सोमबार (भोलि) बस्ने मन्त्रिपरिषद्को बैठकबाट आयोग गठनको निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
“जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “भोलि मिति २०८०÷९÷१६ मा बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ र सो आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्नेछ ।”
गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसितको झडपमा दुई युवकको मृत्यु भएको थियो । त्यसअघि, प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । आगजनीअघि सुरक्षाकर्मीले मन्त्री ज्वालालाई गाडीबाट ओरालेर सुरक्षित स्थानमा पुर्याइएको थियो ।