site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
प्राधिकरणका अध्यक्षले भने– टेरामक्स किन्न ५२ करोड भुक्तानी भएको छ, ५० लाखको ल्यापटप फ्रिमा आएको हो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदका लागि ५२ करोड रुपैयाँ भुक्तानी भएको बताएका छन् ।

बुधबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्राधिकरणका अध्यक्ष खनालले टेरामक्स खरिदका लागि १७.३४५ प्रतिशत भुक्तानी भएको बताएका हुन् ।

उनले यो भुक्तानी एलसी खोलेर भएको जानकारी दिए । खरिद प्रक्रियामा सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको र त्यतिबेला फोरजी सेवा आइसकेको बताएका छन् ।

यस्तै टेरामक्स जडानकै लागि आवश्यक ५० लाख रुपैयाँ पर्ने ल्यापटप परीक्षणका लागि निःशुल्क आएको उनले जानकारी दिए ।  

बैठकमा उनले भने, “५० लाखको ल्यापटप फ्रिमा आएक‍ो हो । परीक्षणका लागि आएको हो । पछि भन्सारले क्लियर गरेको छ ।”

गोपनीयताको विषयमा उनले व्यक्तिगत कल डिटेल नहेरेर समग्र कल डिटेल रिपोर्ट (सीडीआर) हेरिने बताएका छन् । यो अधिकार गोपनीयता ऐनमा समेत रहेको प्राधिकरणका अध्यक्ष खनालले बताए ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्