site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
ज्ञानेन्द्र शाहको कारण गएको राजतन्त्र फेरि फर्कन्छ ?

शासनमा विकृति विसंगति, माओवादीको उत्पति, राजा वीरेन्द्रको वंशनाश र राजा ज्ञानेन्द्रको सत्तारोहण

वीरेन्द्र राजाका रूपमा मलाई मनपर्ने राजा हुनुहन्थ्यो । राजाका रूपमा मात्र होइन व्यक्तिको रूपमा पनि उत्तिकै मनपर्थ्यो । राजा महेन्द्रको प्रशंसक हुँ । मैले उनको शासन भोग्न पाइन, सानै थिएँ । तर, उनका पालामा भएको केही कामहरू भने सराहनीय छन् । 

नेपाल राष्ट्र बैंकको स्थापना, त्रिभुवन विश्वविद्यालयको स्थापना, अरनिको राजमार्ग, पूर्वपश्चिम राजमार्ग, विभिन्न उद्योगको स्थापना, छुवाछुतको उन्मूलन, भूमिसधार लागु, अन्तर्राष्ट्रिय सम्बन्ध (अमेरिकी कांग्रेसमा सम्बोधन गर्ने एकमात्र नेपाली) जस्ता कार्यले आधुनिक नेपालको जग राख्ने काम गरेको थियो । यो समय सन् १९६० को दशकको कुरा हो जतिबेला चीन–भारतजस्ता देश पनि अल्पविकसित थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

राजा पृथ्वीनारायण शाह त सही मानेमा राष्ट्र निर्माता हुन् । उनी महान् राजा थिए भनी हामीले लेखेर प्रमाणित गरिरहनु पर्दैन । 

राजा त्रिभुवनले राणा शासनको अन्त्य गर्न राजनीतिक दल र जनतालाई साथ दिएर प्रजातन्त्र स्थापना गर्ने काममा सहयोग गरेका हुन् । त्यस मानेमा उनी स्मरणीय राजा हुन् । तर, राष्ट्रपितामा दर्ज हुने राजा हुन् भन्न मेरो मन मान्दैन । तर, कसैले उनलाई राष्ट्रपिता मान्छन् भने अरूले आपत्ति गरिहाल्नुपर्छ भन्ने लाग्दैन ।

Royal Enfield Island Ad

मैले भोगेको अर्को राजा ज्ञानेन्द्र हुन् । उनकै अदूरदर्शिता २४० वर्षको इतिहास भएको राजतन्त्रको अन्त्य गर्न सहयोगी हुन पुग्यो । त्यसपछिका १५ वर्षमा राजनीतिक दलहरूले देशदाई बेहाल अवस्थामा पुर्‍याएका कारण अब राजतन्त्र फेरि आवश्यक भएको हो त ? 

प्रश्न उठेको छ - ‘‘के राजतन्त्र फर्कन्छ ?’’ यस प्रश्नमा तर्क प्रस्तुत गर्नुपूर्व २४० वर्षको राजतन्त्रको अन्त्य कसरी हुन गयो भन्नेबारेमा संक्षिप्त चर्चा गर्न मनासिब लागेर त्यसैबाट यो आलेख आरम्भ गर्न गइरहेको छु । 

नेपाली कांग्रेस ‘संवैधानिक राजतन्त्र’को पक्षधर थियो । कांग्रेस आफ्नो स्थापनाकालदेखि संवैधानिक राजन्त्रप्रति प्रतिबद्ध रहिआएको थियो । राजा जहानियाँ राणा शासनको पिँजडामा १०४ वर्षदेखि बन्द थिए । त्यो चङ्गुलबाट निकालेर सही मानेमा राजा बनाएको कांग्रेसले हो । तर, राजा त्रिभुवनले कांग्रेसको गुन सम्झेनन् । कांग्रेसभित्र जालझेल गरिरहेकै अवस्थामा छोटो समयमा स्वर्गवासी भए ।

राजा महेन्द्र गद्दीनसीन भएपछि त उनी कांग्रेसप्रति असहिष्णुमात्र रहेनन् कांग्रेसलाई प्रमुख शत्रु नै मान्न पुगे । विसं २०१७ पुस १ मा अठार महिनामात्रै पुगेको कांग्रेसको सरकारलाई सैनिक ‘कू’ को माध्यमबाट अपदस्थ गरी सत्ता हातमा लिए । 

त्यतिबेला देशभित्र मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत नेता मानिएका बीपी कोइरालालाई लामो समय जेलमा राखे । जेलमुक्तिपछि बीपी कोइरालाले लामो समय भारत निर्वासनमा बिताए । वीरेन्द्र राजा हुँदा बीपी भारतमै थिए । राजा वीरेन्द्रको छवि अलि उदार भनिए पनि सायद उनीमा निर्णय गर्ने सक्ने क्षमताको अभाव थियो ल। उनले पनि ‘पिताकै पथ’ अंगीकार गर्दै गए ।
 
म बीपी कोइरालालाई धेरै पढेर र अलिअलि सुनेर १५ वर्षको उमेरमा विद्यार्थी राजनीतिको माध्यमबाट प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिएको थिएँ । गणेशमान सिंहलाई देखेर र सुनेर अनि कृष्णप्रसाद भट्टराइसँग त अलिअलि संगतै गरेर नेपाल विद्यार्थी संघ (नेवि संघ) मा क्रियाशील भएको हुँ ।
 
म करिव ४ वर्ष (२०३६–२०४०) नेविसंघमा क्रियाशील रहे । नेविसंघमा क्रियाशील भएपछि मात्र भीमबहादुर तामाङ (भीमदाइ) सँग चिनजान भएको हो । भीम दाइसँगको चिनजान नेता र अनुयायी अनि पारिवारिक सम्बन्धको रूपमा अन्तिम समयसम्म रह्यो । विसं २०३६ देखि २०४० सम्मको समय राजनीतिक हिसाबले रोमाञ्चक थियो ।

(म २०४५ सालमा सुर्खेतस्थित सिञ्चाइ निर्देशानलयमा इन्जिनियर पदमा कार्यरत थिएँ । त्यही वर्ष राजा वीरेन्द्रको क्षेत्रीय भ्रमण हुँदैथियो । विसं २०४३ को अन्त्यतिर भएको पञ्चायती व्यवस्थामा स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसले भाग लिएको थियो ।

काठमाडौं नगरपंचायतमा हरिबोल भट्टराई प्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो भने वीरेन्द्रनगर नगरपञ्चायत सुर्खेतमा पूर्णबहादुर खँड्का (म पूर्णबहादुर दाइ भनेर सम्वोधन गर्छु) प्रधानपंचमा निर्वाचित हुनुभएको थियो ।

राजाको सुर्खेत भ्रमणताका पूर्णबहादुर दाइ प्रधानपञ्च पदबाट निलम्बित भइसक्नु भएको थियो पञ्चायती संविधान दिवस तथा पुस १ को कार्यक्रममा सहभागी हुन अस्वीकार गरेबापत । मेरो एक कोठे डेरामा पनि उहाँ बेलाबेलामा आउनुहुन्थ्यो । मेरो नेविसंघ र कांग्रेस नेतासँगको संगतको धङधङी कायमै थियो । म उहाँसँग निर्धक्क भेट्थेँ ।) 

विसं २०४६ चैतमा बहुदलीय व्यवस्था र प्रजातन्त्रको पुनःस्थापना भयो । किसुनजी अन्तरिम सरकारको प्रधानमन्त्री बन्नुभयो । नेपाल अधिराज्यको संविधान, २०४७ बन्यो र २०४८ साल वैशाखमा प्रतिनिधि सभाको निर्वाचन भयो । कांग्रेसले स्पष्ट बहुमत ल्यायो । देशको दुर्भाग्य, किसुनजी सानो मतान्तरले निर्वाचन हार्नुभयो । 

किसुनजीको चातुर्य र शालीन व्यक्तित्वको बलबाट राजालाई संवैधानिक र जनतालाई सार्वभौम बनाउने संविधान बनेको थियो । भारत भ्रमणमा देखाएको कूटनीतिक कौशल र जीवनको सादगीले किसुनजी लोकप्रियताको शिखरमा हुनुहुन्थ्यो । विसं २०४८ मा किसुनजी जति लोकप्रिय त सायद कुनै पनि बहुदलीय व्यवस्था भएको देशको सरकार प्रमुख निर्वाचनको मुखमा बिरलै थिए होलान् । 

तैपनि किसुनजी निर्वाचन हार्नु भयो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । गिरिजाप्रसाद कोइरालाको ‘इनरसर्कल’मा रहेकाबाहेक अरू नेपाली जनता र कांग्रेसका समस्त नेता कार्यकर्ताले किसुनजी निर्वाचन हार्नुहुन्छ र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुहुन्छ भन्ने सपनामा पनि सोचेका थिएनन् । 

देश आज इतिहासको जुन अव्यवस्था र अस्तव्यस्तताको भुँमरीमा परेको छ त्यसको बीजारोपण किसुनजीको निर्वाचनमा भएको हार र गिरिजाप्रसाद कोइरालाको सत्तारोहणबाटै भएको हो । 

भनिन्छ, किसुनजीको हारमा दरबार र केही कांग्रेसीहरुको मिलिभगत सामेल थियो । लोकप्रितयाको शिखरमा रहेका बेला किसुनजीको हारले यो आरोप पुष्ट गर्न सहयोग पुग्छ । तर परिणाम स्वीकार्नुको विकल्प थिएन ।

कोइरालालाई कांग्रेसको मात्र होइन देशकै सर्वस्वीकार्य नेता बन्ने अभूतपूर्व अवसर प्राप्त भएको थियो । सिंगो कांग्रेसका साथै प्रतिपक्ष र राजासमेतलाई विश्वासमा लिएर देश निर्माणमा लाग्नुपर्ने समयको आवश्यकता थियो । तर उहाँको असहिष्णु चरित्र, सानो घेराभित्र रहन मन पराउने र आफ्नो वरिपरिकाको मात्र कुरा सुन्ने प्रवृत्ति, पार्टी कब्जा गर्नुपर्छ भन्ने सोच र छोरीलाई उत्तराधिकारी बनाउने मोहले कोइरालाले देशको नेता बन्ने अवसर गुमाउनुभयो ।

कोइरालाको काम गर्ने शैलीका कारण उहाँसँग राजाले सहकार्य गर्न चाहेनन् । नेकपा (एमाले)ले पनि सहकार्य गर्न चाहेन । कांग्रेसको आधी हिस्सा उनको कोपभाजनबाट कसरी बच्ने भन्नेमा गोलबन्द हुँदै गए । सरकारले डेलिभरी दिन सकेन । जनतामा नैराश्य बढ्दै गयो । कोइरालाको एक्लै हिँड्ने र आफ्नो समूहबाहेक कांग्रेसका नेता तथा कार्यकर्ताको तेजबोध गर्ने नीतिले अन्ततोगत्वा गणेशमान सिंहले कांग्रेस परित्यागको घोषणा गर्न बाध्य हुनुभयो ।

देशमा एकपछि अर्को दुर्घटना हुँदै गयो । यी सबै घटनाको पटाक्षेप २०६२/६३ को सफल जनआन्दोलन र २०६५ सालमा गणतन्त्रको घोषणामा पुगेर भयो ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० मा रहस्यमय मृत्यु भयो । भण्डारीको मृत्युको ‘चेन रियाक्सन’को परिणति आजको नेपालको दुर्भाग्यपूर्ण अवस्थामा पुगेको हो ।

मदन भण्डारीको मृत्युपछि त्यो क्षेत्रमा उपचुनाव हुने भयो । कृष्णप्रसाद भट्टराई उपचुनाव लड्न पुग्नुभयो । कोइराला पक्षधरका आधा कांग्रेस किसुजीलाई हराउने काममा लागे, किसुनजी फेरि हार्नुभयो । कांग्रेस विभाजित थिए भने उपचुनावमा किसुनजी उठ्नु हुने थिएन । गिरिजाप्रसाद कोइरालाको किसुनजी पक्षधर नेता तथा कार्यकर्तामाथिको दमन रोकिएन । गिरिजाप्रसाद कोइरालाले पार्टी कब्जा गर्ने दुस्साहस र सत्ताको दम्भले अन्ततः कांग्रेस संसदीय दल ‘७४– रे’ र ‘३६– से’ मा विभाजित हुन पुग्यो । विसं २०५१ मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधि सभामा अस्वीकृत हुन पुग्यो । गिरिजाप्रसाद कोइरालाको सरकार ढल्न पुग्यो । 

कति वर्षको तपस्या र सयौं सहिदको बलिदानले प्राप्त प्रजातन्त्रप्रति गिरिजाप्रसाद कोइराला इमानदार हुन्थे र कांग्रेसलाई एक ढिक्का राख्न चाहेको भए कुनै अर्को नेतालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर अघि बढ्ने विकल्प थियो । कोइरालाले सत्ताको दुरुपयोग र पैसाको बलमा निर्वाचन जित्ने बुझाइले देशलाई मध्यावधि निर्वाचनमा होमिदिए ।  

कोइरालाको हठ र अक्षमता हुँदैनथ्यो भने मदन भण्डारीको मृत्युको राजनीतिक ‘चेन रियाक्सन’ हुने थिएन । मदन भण्डारीको मृत्यु इतिहासको पानामा एउटा रहस्यमय मृत्युको रूपमा अंकित हुन्थ्यो । एमालेलाई दीर्घकालीन असर पर्न सक्थ्यो । तर कोइरालाको चाल र चरित्रको कारण मदन भण्डारीको मृत्युले देशमा एकपछि अर्को दुर्घटना निम्याउन पुग्यो ।

विसं २०५१ मा मध्यावधि निर्वाचन भयो । कोइराला निर्वाचन जित्नेमा ढुक्क थिए । कांग्रेसमा व्यापक अन्तर्घात भयो । कांग्रेसको हारपछि एमाले संसद्को सबैभन्दा ठूलो दलको रुपमा प्रकट भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद्को सन्तुलनको साँचो बोक्ने सिट जित्यो । पूर्वपञ्चहरूको यति छोटो समयमा पुनरुदयको आशा त सायख राप्रपाले पनि गरेको थिएन । 

एमालेलेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बन्यो । कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भए । देउवा नेतामा निर्वाचित हुनु पनि देशको आजको दुर्भाग्यपूर्ण अवस्थाको अर्को प्रमुख कारक थियो । सायद शैलजा आचार्य वा रामचन्द्र पौडेल नै पनि त्यतिबेला संसदीय दलको नेता भएको भए २०५२, ०५३ सालमा नैतिक मूल्यमान्यतामा जुन विचलन आयो त्यस्तो दृश्य देखिँदैनथ्यो होला । 

मनमोहन अधिकारीको सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऊ’, वृद्धा भत्ताजस्ता 'पपुलिस्ट' कार्यक्रमको माध्यमबाट राजनीतिक वृत्तमा हल्का कम्पन ल्याउँदै थियो कांग्रेसले राप्रपाको सहयोगमा त्यो सरकार ढालिदियो । देउवाको नेतृत्वमा गठबन्धनको सरकार बन्यो । 

राप्रपाका सबै सांसदलाई मन्त्री हुनुपर्ने भयो । पैसा कमाउनुपर्ने भयो । राप्रपा लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको समूहमा विभाजित भयो । सरकार टिकाउन देउवाले प्रजातन्त्रको बदनामी गराउन र जनताको संसदीय व्यवस्थाप्रतिको भरोसा अन्त्य गराउन जे जे गर्न नहुने हो सबै गरे । त्यतिगर्दा समेत विश्वासको मत लिँदाका बखत आफ्नै दलको २ जना सांसद संसदमा अनुपस्थित भएपछि देउवा सरकार ढल्यो । 

एमालेले लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनाउन तयार भयो । राप्रपाको सबै सांसद त मन्त्री हुने भएनन् । मन्त्री हुन नपाएका सूर्यबहादुर थापातिर लाग्ने नै भए । चन्द सरकार अल्पमतमा पर्न गयो । कांग्रेसको सहयोगमा सूर्यबहादुर थापा प्रधानमन्त्री बन्न पुगे । केही महिनापछि राप्रपाका सांसदको चलखेलले सूर्यबहादुर थापा सरकार सञ्चालन गर्न असमर्थ हुन पुगे र  राजीनामा गरे । 

देउवा, चन्द र थापाको सरकारले नेपाली जनता र प्रजातान्त्रिक व्यवस्थालाई दिएका उपहारमाः पजेरो प्राडो संस्कृति, सांसदको अपहरण, आफ्नै सरकारविरुद्वमा गाडीमा झन्डा फहराउँदै दरबारमा परेड, सांसदलाई थुनेर राखेको ठाउँमा सुरा सुन्दरीदेखि ब्लु फिल्म (पत्रपत्रिकामा आएको आधारमा) सम्मको व्यवस्था भयो । अझ सांसद किनबेच गर्न पैसा गन्न कठिन भएकाले तौलेर दिने चलन सुरु भयो । एक करोड रुपियाँको तौल १७ केजी हुने तथ्य थाहा भयो ।

माओवादी अध्यक्ष पुषपकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा सशस्त्र आन्दोलन २०५२ फाल्गुण १ बाट आरम्भ भइसकेको थियो । विसं २०५० सालदेखिको राजनीतिक भाँडभैलोले देशमा भर्खरै आएको प्रजातन्त्रदेखि जनता निराश हुँदै गइराखेका थिए । बेरोजगार युवामा आक्रोश बढ्दै थियो । देउवा, चन्द र थापा सरकारको पालामा भएका विकृति, विसंगति र भ्रष्टाचारले युवायुवतीको माओवादीप्रति आकर्षण बढ्दै गयो । माओवादी बलियो हुँदै गयो । 

विसं २०५४ मा एमाले विभाजित भयो र मालेको पुनर्जन्म हुन पुग्यो । गिरिजाप्रसाद कोइरालाले २०५५ मा पहिला मालेसँग मिलेर सरकार बनाए । केही समयपछि फेरि एमालेसँग मिलेर कोइरालाको नेतृत्वमा  चुनावी सरकार बन्यो । कोइराला आफू जनताबीच ‘अलोकप्रिय’ भएकामा राम्रो जानकार थिए । एमाले फुटेको अवस्थामा पनि आफूलाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गरेर जाँदा कांग्रेस हार्ने निश्चित देखेका थिए ।

त्यो समयसम्म पनि कृष्णप्रसाद भट्टराईको लोकप्रियतामा ह्रास आइसकेको थिएन । कोइरालालाई कसले बुद्धि दियो कुन्नि उनले कांग्रेस पार्टीको भावी प्रधानमन्त्रीमा भट्टराईलाई अघि सारे । कांग्रेस निर्वाचनमा होमियो ।

कांग्रेसले सामान्य बहुमत ल्यायो । माले शून्यमा पुग्यो, एमालेलाई बहुमत ल्याउनबाट रोक्न सफल भयो । एमाले र मालेको संयुक्त मत संख्या हेर्दा उनीहरुको बहुमत आउने देखिएको थियो ।

भट्टराईले सरकार निर्माणमा जनतालाई निराश तुल्याइदिए । भट्टराई सरकारमा तिनै मन्त्रीको बाहुल्य रह्यो जुन मन्त्रीहरु गिरिजाप्रसाद, शेरबहादुर र सूर्यबहादुर सरकारमा मन्त्री थिए । यो सरकारको काम गर्ने शैलीमा कुनै सुधार हुन सक्ने सम्भावना थिएन, भएन । 

सत्ताको मूलमा परेका कोइराला सत्ताबाहिर रहन सक्ने कुरै भएन । कांग्रेसको बहुमत ल्याउनमात्र निर्वाचनमा भट्टराईलाई प्रधानमन्त्रीको रुपमा अघि सारिएको त्यतिबेला नै थाहा नभएको पनि होइन । एघार महिनामा नै भट्टराई सरकार ढाली कोइरालाको सरकार बन्यो । यो सरकारको स्वरुप पहिलेका सरकार भन्दा भिन्न हुने कुरा भएन । देश र जनताका मुद्दा यो सरकारले सम्बोधन न गर्न सक्थ्यो, न चाहन्थ्यो नै । 

देश झन् निराशा र अनिश्चिततामा धकेलिँदै गयो । यी सवै घटनाक्रमले माओवादीलाई संगठित हुन सहयोग पुग्दै गयो । बैंकहरू लुटेर र धम्की प्रयोग गरी स्रोतसाधन जुटाउँदै सशक्त बनेको थियो । सरकार दुईतिहाइ जिल्लामा सदरमुकाममा मात्र सीमित हुनपुगेको थियो । माओवादीसँग नेपाल प्रहरी पूरै हारिसकेको अवस्था थियो । सरकारले माओवादीसँग लड्न अर्धसैनिक निकाय नेपाल सशस्त्र प्रहरी पनि गठन गरेको थियो । सशस्त्र प्रहरी पनि माओवादीसँगको लडाइँमा प्रतिरक्षात्मक बन्न पुग्यो । 

यसैबीच २०५८ जेठ १९ गते सारा नेपाली स्तब्ध हुनेगरी देशमा ठूलो दुर्घटना भयो । तीन तहको सुरक्षा घेराभित्रको दरबारमा राजा वीरन्द्रेको बंशनाश हुने गरी नरसंहार भयो । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रको परिवारबाहेक राजा वीरेन्द्रको सपरिवार र अन्य नातेदारको हत्या भयो । युवराज दीपेन्द्रले पारिवारिक असमझदारीको कारण आफ्नै पिता, माता, भाइ, बहिनी, काका, फुपु, फुपाज्युको हत्या गरेको समाचार सम्प्रेषण गरियो । औपचारिकरूपमा दिपेन्द्रले नै हत्या गरेको आधिकारिक सूचना नेपाली जनतालाई दिइयो ।

जनसाधारणले यसमा विश्वास गर्न सकेनन् । सत्य, तथ्य थाहा पाउने जनताको अधिकार थियो । सरकारसँग यो प्रकृतिको घटनाको अनुसन्धान गर्ने वैज्ञानिक प्रविधि, सामर्थ्य, क्षमता थिएन भने मित्रराष्ट्रबाट जनशक्ति मगाएर भए पनि सरकारको सम्बन्धित निकायसँग सहकार्य गरेर घटनाको केन्द्रसम्म पुग्नुपर्थ्यो । तर यस्तो भयानक घटना शुँदासमेत सरकारले विस्तृत अनुसन्धान गरेन । 

दरबार र सरकारको भनाइसँग नेपाली जनता असहमत भए पनि किंकर्तव्यबिमूढ थिए । जनतासँग अन्यथा प्रमाणित गर्ने उपाय थिएन । चुपचाप बस्न बाध्य भए । 

अधिराजकुमार ज्ञानेन्द्र पुनः एकपटक नेपालको राजा बन्न पुगे । कानुनी र भौतिकरूपमा ज्ञानेन्द्र राजा भए पनि जनमानसका राजा थिएनन् ।

देशमा माओवादी प्रभाव वढ्दै गइरहेको थियो । सरकार माओवादीसँग मनोवैज्ञानिक रूपमा हार्दै थियो । माओवादीसँग लड्न सेनाको आवश्यकता पर्छ भन्ने नेताको बुझाइ थियो । त्यसका लागि राजाको सहयोग चाहिने नै भयो । नेताहरूको बुझाइमा सेना राजाप्रति बफादार छ भन्ने थियो । ज्ञानेन्द्र, राजा वीरेन्द्र जस्तो उदार छैनन् भन्ने नै बुझाइ पनि धेरैको थियो । 

देशको अवस्था र ज्ञानेन्द्रको छविका कारण वास्तवमा सबै नेताहरूमा राजा ज्ञानेन्द्रको एक किसिमको भय थियो । उता नेताहरूको २०५० देखिको अकर्मण्यता र भ्रष्ट चरित्रको कारण कोही न कोहीले यिनलाई ठेगान लाइदिए हुन्थ्यो भन्ने जनता चाहिरहेका थिए । राजा ज्ञानेन्द्रमा नेपाली जनताले त्यस्तो कोही खोजिराखेका थिए । 

यसैबीच प्रचण्डलगायत माओवादीका शीर्ष नेताहरू रोल्पाको होलेरीमा प्रहरीको घेराबन्दीमा परेको समाचार आइराखेको थियो । होलेरीमा आक्रमण गर्न सरकारले सेना परिचालन गर्ने निर्णयमा राजाले सहमति दिएनन् ।

माओवादीका नेताहरू सुरक्षितरूपमा त्यहाँबाट उम्कन सफल भए । मेरो व्यक्तिगत विचारमा राजाको सेना परिचालनको स्वीकृति नदिने निर्णय गलत थियो भन्ने लाग्छ । होलेरीमा माओवादीका नेताहरू घेराबन्दीमा परेको समाचार सत्य थियो भने र राजा ज्ञानेन्द्रले सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएका भए देशको भाग्यको बाटो अर्कैतिर मोडिन सक्थ्यो । यो मेरो अनुमान हो ।

सेना परिचालनमा असमर्थ भएपछि २०५८ साउनमा कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा दिए । देशको दुर्भाग्य, २०५२ पछिको सारा विकृति र विसंगतिको मूलस्रोत देउवा नै प्रधानमन्त्री बन्न पुगे ।
 देउवाबाट देश सम्हालिने सम्भावना थिएन । भएन । 

(देउवाकै कारण प्रजातन्त्र राजालाई बुझाइएको बारेमा, राजाबाट भएको गल्तीका बारेमा र राजतन्त्रको अन्त्यका बारेमा अर्को आलेखमा लेख्नेछु ।) 

कार्की नेपाल सरकारका पूर्वसचिव हुन् 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro