site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीपी–महेन्द्र टकरावको असर : महेन्द्र स्वयम् झन्डै ‘कू’मा परेका थिए
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

राजा महेन्द्रले २०१७ पुस १ मा संसद् र निर्वाचित सरकारविरुद्ध ‘कू’ हुँदाका बखत राजनीति देखेका र बुझेका पात्र हुन्, विश्वबन्धु थापा । २०१६–२०१७ मा थापा कांग्रेसको मुख्य सचेतक थिए । प्रजातन्त्रविरुद्ध ‘कू’ भएपछि राजाको मन्त्रिपरिषद्मा मन्त्री, पञ्चायती व्यवस्थाका एक हस्ती, जनमत संग्रहका बेला बहुदलबादी बनेका थिए । यतिखेर थापा ९७ वर्षको उमेरमा छन् । उनै थापासँग २०१७ पुस–१ र त्यसपूर्वको परिस्थितिबारे बाह्रखरीका हरिबहादुर थापा बलराम पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

हेर्नुस्, म त २०१७ पुस १ को राजनीतिक घटना हुँदा अमेरिकामा थिएँ । म संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन चार महिनाका निम्ति अमेरिकामा थिए । त्यो दिन बिहानै एउटी परिचित अमेरिकी महिलाले भनिन्, ‘तिम्रो मुलुकमा त राजाले ‘कू’ गरेछन् । तिमीले थाहा पायौ ?’ 

मैले भनें, ‘मलाई केही पनि थाहा छैन ।’ त्यतिखेर यतिखेर जस्तो टेलिफोन सुविधा थिएन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनको बोली सुन्नासाथ झस्कन पुगेँ । त्यो दिनका अखबारमा नेपालमा भएका घटनाबारे समाचार छापिएको रहेछ । त्यसपछि मैले संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि हृषिकेश शाहलाई फोन गरेँ । उनले भने, “हो, राजाले कदम चालेका छन् । मलाई खबर आएको छ कि, तपाईंलाई टिकट काटेर प्याक गरेर पठाइदिनू भनेका छन् । तपाईंहरु कहिले जाने ?”

म त छटपटीमा परेँ । मलाई लाग्यो, राजाले पनि मलाई ढाँटे । त्यसपछि म शाहलाई भेट्न गएँ । मसँग अर्का सांसद अच्युतराज रेग्मी पनि थिए । मैले शाहजीसँग सोेधेँ, “तपाईंलाई राजाले यसबारे केही भनेका थिएनन् ।”

Royal Enfield Island Ad

उनले भने, “मलाई केही थाहा छैन, सुवर्ण शमशेर कलकत्ता गएका छन् । अरु सबै नेता थुनिएका छन् । अब तपाईं के गर्नुहुन्छ ?”

म नेपाल फर्किएँ । मलाई काठमाडौं एयरपोर्टमै पक्राउ गरी थुन्न खोजियो । मैले भनेँ, “अमेरिकादेखि थुनिन आएको होइन, म एकपटक राजासँग कुरा गर्छु ।”

त्यसपछि पक्राउ गर्न गएकाहरूले सेनापतिसँग सम्पर्क गरे । 

मलाई राजा महेन्द्रसँग भेट गर्न लगियो । मैले भनेँ, “सरकार, यस्तोे राजनीतिक निर्णय हुँदा मलाई किन खबर गरिएन ।”

राजाले जवाफ फर्काए, “हेर, त्यो हृषिकेश धेरै रक्सी खान्थ्यो । उसले रक्सी खाएपछि जे पायो, त्यही बोल्छ भन्ने मलाई लाग्यो । कुरा लिक हुन्छ भन्ने ठानी मैले उसलाई केही भनिन् ।”

त्यसपछि राजासँग सोधे, “अब के गर्ने त ?”

अब डा. तुलसी गिरीसँग छलफल गरेर अघि बढ्नुपर्छ । 

त्यतिखेर मलाई के लागेको थियो भने सूर्यबहादुर थापा धेरै प्रयोग भएका छैनन् । तर उनको केही वर्षअघि प्रकाशित पुस्तक पढेपछि थाहा भयो, २०१७ पुस १ कदमको भाषण उनले लेखेका रहेछन् । त्यतिखेर यस्ता विषयमा कहीँ छलफल भएको थिएन ।

राजाले सुरुमै भनेका थिए, “यो अवस्था केही समयका लागि मात्र हो, पछि बहुदल दिन्छु ।”

म राजाको बोलीको विश्वास गर्दै उनलाई साथ दिएँ । 

राजाले पाँच–सात वर्षका निम्ति शासन लिएको भनेका थिए । तर, राजा महेन्द्रले बोले जसरी पुर्‍याएनन् ।

सुवर्ण शमशेर प्रधानमन्त्री बन्न राजी नभएको खण्डमा वा उनलाई कांग्रेसले प्रधानमन्त्री नबनाएको खण्डमा ‘कू’ गर्छु भनी मसँग भनिसकेका थिए । 

त्यत्ति हो, राजा महेन्द्रले त्यस्तो निर्णय गर्नुपूर्व मलाई जानकारी दिन्छु भनेका थिए । 

राजनीतिक परिस्थिति प्रधानमन्त्री बीपीको प्रतिकूल हुँदै थियो । त्यस्तो अवस्था हुन्छ भन्नेबारे म जानकार नै थिएँ ।

किनभने राजाले मसँग म अमेरिका जानुअघि बीपीसँग असन्तुष्टिबारे प्रकट गरिसकेका थिए । 

bishwobandhu7-1702792666.jpg

बीपीकै दबाबमा अमेरिका

एक दिन मलाई बोलाउँदै बीपीले भन्नुभयो, “तँ यूएनको महासभामा भाग लिन जा... । चार महिना जति महासभामा भाग लिएर आइज ।”

मैले त अघिल्लो वर्ष नै भाग लिइसकेको थिएँ । बीपीसँग मैले भनेँ, “म त गइसकेँ, अरु साथीहरुलाई अवसर दिनुपर्‍यो । यसपालि म किन जाने ? अर्काेलाई मौका दिऊँ न ।”

तर, बीपीले जोड गरेपछि मैले हुन्न भन्न सक्ने अवस्था नै थिएन । 

त्यसपछि गृहमन्त्री सूर्यप्रसाद उपाध्यायसँग भनेँ, “हेर्नुस्, बीपीले भनेपछि अमेरिका नगई भएन । तर, स्थिति धेरै खराब भइसकेको छ । हेर्नुहोला, म अमेरिकामा हुँदाहुँदै तपाईंहरु जेल पर्नुहोला !”

कांग्रेसमा मेरो भूमिका र बीपीसँगको सम्बन्ध राजालाई सबै थाहा थियो । 

उनलाई लागेको थियो कि यही विश्वबन्धुको टेकोमा बीपीको प्रधानमन्त्री पद अडेको छ । 

तर, हामीलाई के लाग्थ्यो, बीपी सकिनुभयो भने हाम्रो समूह पनि सकिन्छ र सुवर्ण शमशेर समूह बलियो हुन्छ । उता सूर्यबाबु (सूर्यप्रसाद उपाध्याय) त दुवैतिर खेल्थे । 

सूर्यबाबुकै हकमा हामी मजाकमा भन्थ्यौँ, “दिनभरि सूर्यबाबु बीपीसँग बस्नुहुन्थ्यो, रातभरि मात्रिकासँग । अब दिनभरि बीपीसँग बस्नहुन्छ, रातभरि सुवर्ण शमशेरसँग ।”
 
सूर्यबाबुका पिताजी सुवर्ण शमशेरकै बंशजका ‘खरदार’ हुनुहुन्थ्यो । मैले सीधै भनेँ, “तपाईं दोहोरो भूमिका खेल्नुहुन्छ ।”

मैले त्यसो भनेपछि सूर्यबाबु निकै रिसाए, “बढी हल्ला गर्नुहुन्छ, अमेरिका जान पाएपछि किन नजाने ? जानुस् ।”

मैले भनेँ, “तपाईंहरुले मलाई अमेरिका पठाएर ठीक गर्नुभएन । म फर्किंदा यहा“ अर्कै अवस्था भएको हुन सक्छ ।”

सूर्यबाबुसँग मैले भनेँ, “सूर्यबाबु तपाईं मुलुकको गृहमन्त्री हुुनुहुन्छ । राजाको इच्छा त तपाईंले पनि थाहा पाउनुपर्ने हो, मैले थाहा पाए जत्ति त । मेरो मोटर राजदरबारभित्र छिर्ने बित्तिकै तपाईंका गुप्तचरले थाहा पाइहाल्छन् । मैले नाम नलिइकन (डा. तुलसी गिरीलाई संकेत गर्नेगरी) तपाईंका मन्त्रीहरु पनि नारायणहिटी छिरिरहेका छन् भनेँ । अनि जति पनि सामन्ती, जमिन्दार मन्त्री–सांसद छन्, तिनीहरु सुवर्ण शमशेरसँग छन् । राजा पनि उनै सुवर्ण शमशेर चाहन्छन् । पहिला मात्रिका–बीपी झगडा थियो, अब दरबार बीपी–सुवर्ण झगडा चर्काउन चाहन्छन् । तपाईंहरुले चाहेको के हो ?”

सत्ता राजनीतिमा दरबारले अनेकन किसिमको नाटक खेलाइरहेको थियो । 

दरबार जसरी पनि प्रधानमन्त्री परिवर्तन गर्ने खेलमा थियो । सुवर्ण शमशेर प्रधानमन्त्री भएको खण्डमा पार्टीमा अलि शान्त हुन्छ कि भन्ने बलियो मत पनि थियो । त्यो कुरा बीपीले पनि बुझ्नु भएको थियो ।

bishwobandhu8-1702792666.jpg

महेन्द्र चाहना म अमेरिका नजाओस्

यता राजा महेन्द्र चाहिँ मलाई अमेरिका नजानू भनिरहेका थिए । 

मेरो राजासँग भेट भइरहन्थ्यो । तर, बीपीले नाम पठाइसकेपछि म रोकिन सक्ने अवस्थामा थिइनँ । 

राजा महेन्द्रले भने, “तिमीले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराउने हो भने बीपी हट्छन्, सुवर्ण शमशेर प्रधानमन्त्री भइहाल्छन् ।”

मैले घुमाउरो भाषामा भनेँ, “सरकारलाई यस्तो खबर कसले दिन्छ ? यो हुन सक्दैन ।”

मलाई लागेको थियो, तिनै डा. गिरीले राजालाई यो रणनीति सिकाइरहेका हुन सक्छन् ।

मैले राजासँग भनेँ, “म बीपीको पक्षमा एउटा लेख लेख्छु । उहाँ मेरो प्रधानमन्त्री हो र म उहाँकै पक्षमा छु । त्यसपछि को–को बीपीको खिलाफमा प्रस्तुत हुँदा रहेछन् हेरौं न ।”

राजाले भने, “ल, लेख न त ।”

मैले बीपीको पक्षमा एउटा लामो लेख गोरखापत्रमा छपाएँ । 

मेरो लेखको प्रतिवाद गर्न राजाले मानिसहरु खोजे । 

राजाको चाहना थियो, “यो विश्वबन्धु थापाले बीपीको चाकडी मात्र गरेका हुन् । परिस्थिति अर्कै छ... भन्ने आशयसहितको लेख लेख्ने मानिस खोजेका थिए ।”

तर, कसैले पनि प्रतिवादमा लेख्न वा बोल्न सकेनन् । अनि राजा महेन्द्रले भने, “कोही पनि बीपीको खिलाफमा लेख्न तयारै छैनन् त ? मसँग विरोधका कुरा गर्छन् । तर कोही पनि लेख्न तयार हुँदैनन् ।”

महेन्द्र खुब छट्टू थिए । उनी जसलाई जे मन पर्छ, त्यसलाई त्यसरी नै खेलाउन खोज्थे । 

म अमेरिका जानुअघि पनि फेरि भेटे । राजाले फेरि उही कुरा दोहोर्‍याए, “तिमी नजाऊ ।”

मैले भनेँ, “सरकार, मेरो नेता बीपी कोइराला हो । उहाँको आदेश पालन गर्न म जानैपर्छ । सरकार, धैर्य गर्नुपर्‍यो कि परिस्थिति बनेपछि बीपी कोइराला सरकारबाट हट्नुहुन्छ र सुवर्ण शमशेर नै प्रधानमन्त्री बन्नुहुन्छ । बीपीलाई प्रधानमन्त्री बनिरहने मोह नै छैन ।”

राजाले भने, “खोई त, बीपी कहिल्यै छाड्दैनन् त...। तिमीले छाड्छ भनेको छ–सात महिना भइसक्यो । अब तिमीलाई अमेरिका जान रोक्न सक्ने अवस्थामा देखिनँ । तिमी जाऊ । मेरो बेलायत भ्रमण हुँदा सुवर्ण शमशेरलाई लिएर जान्छु । भ्रमणका बेला कुराकानी हुँदा सुवर्णले प्रधानमन्त्री हुन्छु भन्ने लक्षण देखाएको खण्डमा म तिमीलाई बोलाऊँला । उसले प्रधानमन्त्री हुन मानेन भने म ‘कू’ गर्छु ।”

राजा महेन्द्र २०१७ मंसिर तेस्रो साता बेलायत भ्रमणमा जाने कार्यक्रम थियो । 

मैले भनेँ, “सरकार, त्यस्तो काम गर्नु राम्रो हुन्न । चार महिनापछि म आउँछु, त्यसपछि कुरा गरौँला । राजनीतिक निर्णय लिनुपूर्व जानकारी पाउँ ।”

महेन्द्रले भने, “के गर्ने भन्ने विषय लण्डनमै तय गर्छु । हृषिकेश शाहलाई पनि अमेरिकाबाट बोलाउँछु । मैले केही गर्ने भए भने हृषिकेशमार्फत् खबर गर्छु । केही नगर्ने भए चुप लागेर बस्छु । यदि कुनै बाध्यात्मक परिस्थिति आयो भने म तिमीलाई हृषिकेश शाहमार्फत् भन्नेछु ।”

बीपी राष्ट्रसंघमा सम्बोधन गर्न जाने क्रममा हामी सँगै गएका थियौं । 

मैले बीपीसँग भनेँ, “राजाले तपाईंलाई रुचाएका छैनन्, राजीनामा गर्नु राम्रो हुन्छ । राजाले जबर्जस्ती हटाउनुभन्दा पनि आफैँले छाड्नु राम्रो हुन्छ ।”

तर, मैले राजासँग भएका कुराकानीबारे बीपीलाई भन्नु भएन । त्यो सूचना चुहाए जस्तो हुन्छ । मेरो कुरा सुनेपछि बीपी निकै गम्भीर हुनुभयो । मैले त्यसरी कहिल्यै बीपीसँग बोलेको थिइनँ । तर, बीपीले कुनै प्रतिक्रिया दिनुभएन । उहाँ नेपाल फर्किनुभयो, म अमेरिकामा रहे ।

bishwobandhu5-1702792665.jpg

बीपीलाई प्रधानमन्त्री पत्नी सुशीलाकै रोक

जब २०१६ मा निर्वाचन सकियो र परिणाम आयो । तब कांग्रेस संसदीय दलको को नेता बन्ने र प्रधानमन्त्री बन्ने बहस चल्ने नै भयो । कांग्रेस दुई तिहाई बहुमतमा थियो । 

बीपी कोइराला दलको नेता हुँदै प्रधानमन्त्री हुन चाहन्थे । 

तर उनकै पत्नी (सुशीला भाउजू) बीपीलाई प्रधानमन्त्री बन्न दिनै चाहेकी थिइनन् । 

बीपीले मलाई बोलाउँदै भन्नुभयो, “सुशीला भाउजूलाई फकाउनुपर्‍यो । उसले प्रधानमन्त्री हुनुहुन्न भनेकी छ । म प्रधानमन्त्री बन्ने कुरा उसलाई जँचेकै छैन ।”

म सुशीला भाउजूसँग कुराकानी गर्न गएँ । तर, सुशीला भाउजूले बीपी प्रधानमन्त्री बन्ने कुरामा आपत्ति जनाउनुभयो । 

उहाँले भन्नुभयो, “अप्ठ्यारो परेका बेलामा सुवर्ण शमशेरलाई सभापति बनाउने ? सुवर्ण शमशेरले चुनाव गराउनुभयो, तीन ठाउँबाट जित्नुभएको छ । सूर्यबाबु दुई ठाउँबाट हार्ने, किसुनजी गोरखाबाट हार्ने, बीपी एक ठाउँमा मात्र चुनाव जित्ने ? बीपी, सूर्यप्रसाद र कृष्णप्रसाद तिम्रा मान्छे हुने, अनि सुवर्ण चाहिँ पराई ? ठूल्दाइ (मात्रिकाप्रसाद) लाई पनि टिकट नै नदिने ? तिमीहरू खाली बद्मासी गर्छौ, झगडिया जस्ता भएका छौ ।”

म भाउजूका कुरा सुनेपछि झस्कन पुगेँ । त्यही कुरा बीपीलाई सुनाएँ । त्यसपछि बीपीले भन्नुभयो, “तेरो भाउजूले मानी भनेमात्रै म प्रधानमन्त्री हुन्छु, त्यसलाई फकाउने काम तेरै भयो ।”

उता सुवर्ण शमशेरलाई पनि बीपी कोइराला दलको नेता र प्रधानमन्त्री बन्दा कुनै आपत्ति थिएन । तर, बढी आपत्ति सुशीला भाउजूलाई थियो । फेरि भाउजूसँग कुरा गरेँ, “उहाँ त कुनै पनि हालतमा मान्ने छाँटकाँट देखाउनु हुन्न ।”
 
उल्टो उहाँ प्रश्न गर्नुहुन्छ, “क्रान्तिका नेता कोही प्रधानमन्त्री बनेका छन्, महात्मा गान्धी प्रधानमन्त्री बन्नुभयो ? लेनिन बन्नुभयो ? तिमी के चाहन्छौ ?”

मैले भनेँ, “भाउजू, क्रान्तिका नेता बीपी पहिलो निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भन्ने मेरो मान्यता हो । ठूल्दाइ (मात्रिकाप्रसाद) पहिलो नागरिक प्रधानमन्त्री भइहाल्नुभयो । ठुल्दाइ निर्वाचित प्रधानमन्त्री होइनन्, राजाले बनाएका प्रधानमन्त्री हुन् । पहिलो निर्वाचित प्रधानमन्त्रीको रेकर्ड राख्नुपर्छ ।”

म भाउजूलाई अनेक कुरा गरेर फकाउँदै थिएँ । मैले अति जिद्दी गरेपछि भाउजू प्रधानमन्त्रीको ‘रेकर्ड’ राख्न मात्रै राजी हुनुभयो । 

भन्नुभयो, “त्यसो भए जम्मा दुई महिना मात्र प्रधानमन्त्री बन्ने र त्यसपछि राजीनामा दिने । त्यसो गर्ने हो भने म मान्छु । प्रधानमन्त्री बनाउनू, माला लगाइदिनू, रेकर्ड राख्नू भइहाल्यो, त्यहाँभन्दा अघि जान पाइँदैन । राजीनामा गर्न तयार हुनुपर्छ ।”

bishwobandhu6-1702792665.jpg

मैले भनेँ, “भाउजू कम्तीमा एक वर्षका निम्ति मानिदिनुस् ।”

त्यसपछि सुशीला भाउजूको अर्काे सर्त आयो, “संसदीय दलमा चुनाव हुने भयो भने उहाँ उमेदवार बन्न पाउनु हुन्न, सबैले एकमतले मानेको खण्डमा मात्र हुन्छ । दलको नेतामा चुनाव हुन्छ भने हुँदै हुन्न । सुवर्ण शमशेरको इच्छा देखियो भने उहाँलाई छाड्नै पर्छ ।”

संसदीय दलको बैठक बोलाइयो । तर, सांसदहरूको मत मेरो हातमा थिएन, तिनले कसलाई मतदान गर्छन् भन्ने कसरी मैले थाहा पाउनु ?

कांग्रेसका नेताहरू सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई चुनाव हार्नुभएको थियो । बीपी, सुवर्ण र गणेशमान सिंह गरी तीनजना हुनुहुन्थ्यो । गणेशमान सिंहले विरोध गरे पनि गाह्रो हुन्थ्यो नै ।  

म ‘सर्वसम्मत्’ तुल्याउने उपायको खोजमा लागेँ ।

गणेशमान सिंहले मसँग भने, “यदि सुवर्ण शमशेर दलको नेतामा उठ्छन् भने म पनि लड्छु । उनलाई त म मान्दै मान्दिनँ । बीपी उठे भने म उठ्दिनँ । त्यो राणा, हुँदै हुँदैन ।”

हुन पनि २०१२ सालमा वीरगन्ज महाधिवेशनमै सभापतिमा सुवर्ण शमशेरसँग गणेशमान चुनाव लडिसकेका थिए । सुवर्ण शमशेरसँग गणेशमान सिंह पराजित हुनुभएको थियो ।

सुवर्ण शमशेरकै निवासमा कांग्रेसबाट निर्वाचित सांसदलाई जम्मा गराइयो । मिटिङ हुनुपूर्व मैले सुवर्णशमशेर एक्लै भेट्दै भनेँ, “सुवर्णजी अवस्था यस्तो छ, के गर्ने ?”

त्यसमा सुवर्ण शमशेरले प्रश्न गरे, “तपाई चाहिँ के चाहनुहुन्छ ?”

मैले भनेँ, “तपाईं दलको चुनाव लड्न खोज्नुभयो भने बीपी उठ्नु हुन्न । तर, तपाईं उठ्दा गणेशमान सिंहले विद्रोह गर्नुहुन्छ ।”

त्यो त उहाँलाई पनि थाहा थियो । मैले सुशीला भाउजूका सर्त र भनाइ केही पनि खुलाइन । त्यो भन्यो भने परिस्थिति अर्कै हुन सक्थ्यो ।

त्यसपछि सुवर्ण शमशेरले भन्नुभयो, “मैले कहिल्यै उठ्छु भनेकै छैन ।”

सुवर्ण शमशेरको चाहना देखिएन । तर, सुवर्णजीकहाँ ठूलै भोज भइरहन्थ्यो । अझ धनीमानी, जमिन्दार सांसदहरू, भारदार, दरबारियाहरू सुवर्ण शमशेरकै पक्षमा थिए । 

सुवर्ण शमशेरका पक्षमा लाग्नेहरू पहिला मात्रिकाप्रसाद कोइरालाको पक्षमा थिए । त्यतिखेर पनि झगडा ‘हुने खाने’ र ‘नहुने’बीचको थियो । तिनै मात्रिकाप्रसाद कोइरालाका मानिसहरू सुवर्णशमशेरतिर सरेका थिए ।

सुवर्ण शमशेरका कुरा सुनेपछि मैले भनेँ, “तपाईंं पनि बीपी नेता हुनुपर्छ भन्ने चाहनुहुन्छ भने प्रस्तावक पनि तपाईं नै हुनुपर्छ ।”

त्यसपछि सहमति बन्यो, “सुवर्ण शमशेर प्रस्तावक, समर्थक गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई हुने । बैठकको प्रारम्भ विश्वबन्धु थापाले गर्ने ।”

सांसदहरू हलमा थिए, त्यहाँ प्रारम्भमै सुवर्ण शमशेरले बीपी कोइरालाको नाम प्रस्ताव गर्नुभयो । 

गणेशमान सिंह दङ्ग पर्दै तत्कालै समर्थन गरिहाल्नुभयो । 

bishwobandhu2-1702792664.jpg

त्यसपछि सूर्यबाबु, किसुनजीले पनि समर्थन गर्नुभयो । हामीले ताली पिट्यौं । सांसदहरू पनि दंग परे ।

त्यसरी बीपी दलको नेता बन्नुभयो । दलको नेता चुनिएपछि प्रधानमन्त्रीका निम्ति कांग्रेसले बीपीको नाम दरबार पठायो । 

तर, राजा महेन्द्र प्रधानमन्त्री नियुक्त गर्ने सवालमा कुनै कामै अघि बढाउँदैनन् त ? निकै दिन भइसक्यो नियुक्ति नै हुँदैन । त्यसपछि अनेक हल्ला हुन थाल्यो । त्यसले मलाई पनि झस्कायो, “के गर्न आँट्यो यो दरबारले ? भन्ने भयो ।”

त्यसपछि सुशीला भाउजूले मलाई बोलाएर भन्नुभयो, “देख्यौ, तिमीले त हो नि, बीपीलाई नेता बनाएको । सुवर्ण शमशेरलाई नेता बनाएको भए यस्तो हुन्थ्यो ? दरबारले बीपीलाई प्रधानमन्त्री बनायो त ?”

म त भाउजूका अघिल्तिर नाजवाफ बनेको थिएँ ।

सुवर्ण शमशेर, राजा महेन्द्रका साथी थिए । अनि शाह–राणाबीच पारिवारिक साइनो सम्बन्ध पनि थियो । राजा महेन्द्रको चाहना थियो– सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाउन पाए, मेरै मान्छे हुन्छ भन्ने थियो ।’

सुवर्ण शमशेरलाई दरबारिया भाषा सिकाउनु नै पर्दैनथ्यो । 

तर, बीपीलाई दरबारिया भाषा आउँदैनथ्यो । दरबारियाहरू ‘हजूर’ भन्थे, हामी कांग्रेसी ‘तपाईं’ प्रयोग गर्थ्यौँ । हामी त क्रान्तिकारी थियौं । हुन पनि त्यतिखेर देश पुरै सामन्ती पाराको थियो ।

संसदीय अभ्यासमा गएपछि म मुख्यसचेतक थिएँ । 

बीपी प्रधानमन्त्री बनेको एक वर्ष हुँदै थियो । एक दिन प्रधानमन्त्री बीपीले मलाई भन्नुभयो, “राजाले मलाई त हैरान नै पारिराखेका छन् । सुशीला पनि प्रधानमन्त्री छाड्नुपर्‍यो भनी अडान लिँदैछिन् । अब एक वर्ष भइहाल्यो । वर्किङ कमिटीको बैठक राखौं र म राजीनामा गर्छु । सुवर्ण शमशेरलाई अघि बढाऔं ।”

मैले वर्किङ कमिटिको बैठक बोलाएँ । त्यो बेला गिरिजाप्रसाद कोइराला मोरङबाट भर्खर आएका थिए । मैले बैठकमा बीपीले प्रधानमन्त्री छाड्न चाहेको कुरा राखेँ । 

त्यसपछि बैठकमा सन्नाटा छायो । कोही पनि केही बोल्दैनन् । त्यसपछि गिरिजाबाबुले मसिनो स्वरमा भने, “बीपीले छाड्ने बेला अलि भइसकेको छैन कि...”

त्यसपछि हल गुन्जियो, ‘हो, हो छाड्ने बेला भएको छैन । यो विश्वबन्धु थापा के तालमालको कुरा ल्याउँछ ?’

हेर्नुस्, त्यो हलमा म त एक्लै परेँ । त्यसपछि बीपीतिर हेरेँ, “उहाँको पनि कुनै प्रतिक्रिया छैन ।”

पहिला नै बीपी र गिरिजाप्रसादबीच कुनै खाले कुराकानी भइसकेको पो थियो कि ? त्यो त उनीहरूको परिवारको कुरा थियो । दाजु–भाइबीच रणनीति बनेको थियो कि ! ‘विश्वबन्धुले यस्तो प्रस्ताव राख्छ, तैँले यसरी प्रतिवाद गर्नू ।

गिरिजाप्रसाद बीपीका आफ्नै भाइ । त्यहाँ गिरिजाबाबुले आफ्नै मनले त्यो बोल्नु भयो कि बीपीसँग परामर्श भएर त्यसरी बोल्नुभएको हो ? हामी कसरी थाहा हुनु ? आफ्नै भाइबाट बेला भएको छैन, पख... भन्नू ।

उता, सुशीला भाउजू पनि भन्न थाल्नुभयो, “हेर, यो सब बीपीको नाटक हो । तिमीले बुझ्नुपर्दैन ?”

घरभित्रै त्यस्तो स्थिति, म चाहिँ बीचमा परिरहेको थिएँ । त्यसपछि फेरि उहाँ प्रधानमन्त्रीमा रहनुभयो ।

बीपी प्रधानमन्त्री हुँदा म पनि साहै्र अप्ठ्यारो परिस्थितिमा थिएँ ।

मलाई महेन्द्रले बेलाबखत भन्थे, “तिमी त बीपी जस्तै चर्काे छौ त ।”

म भन्थेँ, “म बीपीकै भाइ हुँ । म साख्यै भाइ नभए पनि बालखकालदेखिकै सम्बन्ध छ ।”

युवराध महेन्द्र स्वयम् झण्डै ‘कू’मा

महेन्द्र र बीपी एक–अर्काबीच राम्रै सम्बन्ध थियो । महेन्द्रले आफ्नै साली रत्नसँग प्रेम गरेका थिए, जेठी श्रीमती इन्द्रराज्य लक्ष्मीको मृत्युपछि । 

तर, राजा त्रिभुवन आफ्ना युवराजधिराले प्रजातन्त्रपछि पनि राणा परिवारकै जुद्ध शमशेरकै नातिनीसँग प्रेम गरेको र विवाह गर्न चाहेको विषय हेर्न चाहेका नै थिएनन् । तर, महेन्द्र रत्नसँग जसरी पनि विवाह गर्न चाहन्थे ।

त्यतिखेर अनिरुद्धप्रसाद सिंह हरिशमशेरको चाकडीमा थिए । 

हरिशमशेर महेन्द्रका ससुरा थिए । तिनै सिंह, महेन्द्रले रत्नसँग प्रेम गर्दा पाले बसेका रहेछन् । राजा महेन्द्रले पछि अनिरुद्ध सिंहलाई मन्त्री, न्यायाधीशदेखि धेरै पद दिनुको कारण पनि त्यही बफादारी हो ।

हेर्नुस् कस्तो अवस्था थियो होला । राजा त्रिभुवनले चाहिँ महेन्द्रले रत्नसँग विवाह गरेको खण्डमा उत्तराधिकारीबाट बञ्चित गरी गोरखा दरबारमा लघार्ने योजनासम्म बनाएका थिए । 

त्यो गोर्खाको दरबार यति फोहोर थियो कि कसैले सफासमेत गरेका थिएनन् । महेन्द्रलाई त्यता धपाउने योजनाकै कारण हुनुपर्छ, त्यो दरबार त्यतिखेर सफासुग्घर पारिएको थियो । 

मैले त्यहाँ बुझ्दा पहिला त्रिभुवन राजा हुनुभन्दा अघिका एक साहेबज्यूलाई त्यही दरबारमा राख्ने कुरा भएको रहेछ । 

त्यतिखेर एकपटक सफा गरिएको रहेछ । प्रजातन्त्रविरोधी जुद्धशमशेरकी नातिनी रत्नसँग महेन्द्र प्रेम छुट्न नै नसक्ने देखेपछि त्रिभुवनले त्यस्तो योजना बनाएका रहेछन् ।

यदि महेन्द्रले रत्नसँग विवाह गरेको खण्डमा त्रिभुवन ‘कू’ गर्न बाँकी राख्दैनन् भन्ने अवस्था सिर्जना भइसकेको छ । 

तिनले महेन्द्रको अधिराजकुमार पद खोसी माइला छोरा हिमालय वीरविक्रमलाई युवराजधिराज बनाउन खोज्दै थिए । त्यतिखेर राजा त्रिभुवन युवराज महेन्द्रविरुद्ध ‘कू’ गर्छन् भन्ने हल्ला काठमाडौंमा व्यापक रुपमा चलेको थियो ।

त्यो ‘हल्ला’ युवराजधिराज महेन्द्रले थाहा नपाउने कुरै भएन । त्यसपछि महेन्द्रले बीपीसँग सम्पर्क गरे । 

महेन्द्रले आफूविरुद्ध ‘कू’ हुने डरले बीपीसँग भेट गर्न खोजेका थिए । 

२००७ पछि बीपीले सेनामा तलब बढाइदिएका कारण ‘लोकप्रिय’ थिए । 

त्यतिमात्र होइन, सेनामा ‘मठ्याहा’लाई सेनापति बनाइदिएका थिए ।  त्यो कालमा ‘ठ्या’ भनेको चोखो मानिन्थ्यो, मठ्याहा भनेको ‘बिटुलो’ ।  राणा खानदानमा ‘मठ्याहा’को संख्या ठूलै थियो ।  त्यहीकारण महेन्द्रले के ठानेका थिए भने सेना बीपीले भनेको मान्छ । आफूविरुद्ध आफ्नै पिताजीले ‘कू’ गरेको खण्डमा बीपीमार्फत् सहयोग लिने । 

अझ कांग्रेसको पनि २००७ को क्रान्तिका बेला मुक्ति सेना छँदैथियो । तिनीहरू सेना र प्रहरीमा थिए ।

दरबारको चालबाजी महेन्द्रले नबुझेका होइनन् । ‘कू’ भएपछि त सेना लगाउँदै कहाँ पुर्‍याउनुपर्ने हो, त्यहीँ पु¥याइदिन्छन् भन्ने महेन्द्रले बुझेकै थिए । त्यो कालमा बाबु त्रिभुवन र छोरा महेन्द्रबीच ‘शीतयुद्ध’ राम्रैसँग चर्किएको थियो, रत्नसँगको विवाहकै कारणले गर्दा । 

महेन्द्रले बीपीसँग जय नेपाल सिनेमा घरमा भेट गरे । त्यतिखेर म र डा. तुलसी गिरी बीपीका दाहिने र देब्रे हात जस्ता थियौं ।  बीपीले महेन्द्रलाई रत्नसँग विवाह गर्न सहयोग गर्ने भनेका हुन् । राजा त्रिभुवन स्वयम् बिरामी नपरेको भए त्यो विवाहपछि युवराजधिराको पगरी खोस्दै गोर्खा पुर्‍याउन सक्थे होलान् । 

तर, त्यही क्रममा महेन्द्रले के बुझे भने सेनासँग बीपीको राम्रो सम्बन्ध छ । 

bishwobandhu4-1702792664.jpg

त्रिभुवनको चाहना प्रजातन्त्र

जब २००७ मा परिवर्तन भयो, राजा त्रिभुवन परिवर्तनका बाहक थिए । महेन्द्र त युवराजधिराज मात्रै थिए । राजा त्रिभुवनको सम्मान गर्ने शैलीबाट हामी पनि प्रभावित थियौं । उहाँले हामीलाई ‘तपाईं’ भन्नुहुन्थ्यो । 

म त यतिखेर २२–२३ वर्षको ठिटो थिएँ । म पोखराको बडाहाकिम बनिसकेको थिएँ । राजा त्रिभुवनसँग भेट हुँदा मलाई ‘तपाईं’ भनी सम्बोधन गरे । म त छक्क परे, भर्खरैको ठिटोलाई राजाबाट ‘तपाईंं’को सम्बोधन । राजाले ‘तपाईं’ भनी सम्बोधन गरेपछि आश्चर्य लाग्यो, मलाई । 

राजा त्रिभुवनले जे–जति हुन्छ, जसरी हुन्छ, प्रजातन्त्र हुर्काउन सहयोग गरेका हुन् । 

त्यतिखेर भारतीय हस्तक्षेप जहाँ पनि हुन्थ्यो । त्रिभुवनको पालामा भारतीय प्रभावलाई स्वाभाविक रुपमा लिइयो । राजा त्रिभुवनका सल्लाहकार नै भारतीय प्रशासक थिए ।

त्यतिखेर मलाई दरबारिया भाषा पनि आउँदैनथियो । भारतको टेढीनगर र पछि विराटनगरमा हुर्कियो, हामीलाई त दरबारिया भाषा प्रयोग आउँदैनथियो । हामीले काठमाडौं आएपछि मात्र ‘दरबारिया भाषा’ बुझेको हौं । 

हाम्रो चलनमा ठूलाबडालाई ‘तपाईं’बाट मात्र सम्बोधन गरिन्थ्यो । त्यसमाथि म त पूरै प्रवासी, बाल्यकाल भारतकै टेढीनगरमा बिताएको मानिस ।

प्रजातन्त्रपछि बीपी गृहमन्त्री हुँदाकै बखत मलाई बडाहाकिममा नियुक्त गरियो ।  त्यो पदमा धेरै बस्न मन लागेन म राजनीति गरेको मानिसलाई । म फेरि विराटनगरमै गएँ ।  त्यहाँ गिरिजाप्रसाद कोइराला म सँगसँगै थियौं । उहाँ कांग्रेसको जिल्ला सभापति हुनुहुन्थ्यो । 

२००९ वैशाखमा मोरङ जिल्लाका किसानले कर नतिर्ने घोषणा गरेका थिए । बढ्दो किसान आन्दोलनलाई निस्तेज पार्न हामीहरूलाई पक्राउ गरिएको थियो । तर, पछि म त सान्दाई (बीपी) सँग संगत गरेको मानिस, गिरिजाबाबुसँग काम गर्ने शैली मिलेन भन्नुपर्छ । त्यसपछि मोरङमा म सभापति भएँ, तर गिरिजाबाबु त्यसमा बस्नु भएन ।

२००७ देखि २०१७ पुस १ सम्मका घटना सबै देखेँ ।पञ्चायती व्यवस्था आएपछि केही वर्ष मन्त्री, राष्ट्रिय पञ्चायत अध्यक्ष, मन्त्रिपरिषद्को उपाध्यक्ष भए ।  मैले ठानेको र महेन्द्रकै बोलीमा विश्वास गरेको हुँदा २०१७ मा पाँच–सात वर्षमै बहुदलको झण्डा फहराउनेछ भन्ने लागेको थियो । महेन्द्रको जीवनकालभरि देख्न पाइएन ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro