काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस एकमहिने अभियान लिएर देशैभरका वडा तहसम्म पुग्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एकमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कांग्रेसले यस अभियानलाई ‘समुदायमा कांग्रेस’ भनेको छ ।
महामन्त्री गगन थापाका अनुसार अभियानमा पार्टी पदाधिकारीहरू नै तल्लो तहसम्म पुग्ने छन् । अभियानमा आमसभा, सार्वजनिक सभा तथा अन्तरक्रिया कार्यक्रम गरिने छ ।
पुस १६ देखि माघ १६ गतेसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरेर अभियान चलाइने छ । अभियानका लागि केन्द्रीय कार्यसमितिको तर्फबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसको तयारी छ ।
कतिपय जिल्लामा पार्टी चरम आन्तरिक विवादमा फसेको छ । संस्थापन र इतर समूहले एक अर्कालाई मान्ने अवस्था छैन । उदाहरणका लागि बारालाई लिन सकिन्छ । बारामा केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुर र उनको समूहले जिल्ला नेतृत्वलाई नै मान्दैन । जिल्लाको कार्यक्रमलाई उनीहरूले 'बाइपास' गरिरहेका छन् । बारा, सिराहासहित करिब दुई दर्जन जिल्लाको अवस्था फरक छैन ।
शुक्रबारको कार्यसम्पादन समिति बैठकले गत साउनमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको क्यालेन्डर परिमार्जन गर्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको छ । यसको अर्थ कार्यतालिका परिमार्जन गर्ने जिम्मा महामन्त्रीले पाएका छन् । केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहन्छ । कार्यतालिका परिमार्जन गर्ने जिम्मेवारी महामन्त्री गगनकुमार थापाले पाएका छन् ।
“क्यालेन्डर परिमार्जन गरेर थाती रहेका कार्यक्रम हुने छ । सुवर्ण शमशेर इकोनोमिक कनक्लेभले पार्टीलाई लामो समयसम्म अर्थनीतिसम्बन्धी रोडम्याप बन्ने गरेर कार्यक्रम गर्ने छौँ,” महामन्त्री थापाले भने, “अरू कार्यक्रम पनि क्यालेन्डरअनुसार अघि बढाउने छौँ ।”
माघमा हल मिलेन, फागुनमा पुग्यो महासमिति
शुक्रबारको बैठकले कांग्रेस महासमिति बैठकको मिति तेस्रोपटक तोकेको छ । कांग्रेसले फागुन ७ देखि १० सम्म महासमिति बैठक गोदावरीमा गर्ने निर्णय गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाएर कांग्रेसले महासमिति बैठक सारेको हो । बैठक सारेर सभापति देउवाले फागुन २८ गते प्रस्ताव गरेका थिए । तर, महामन्त्रीद्वयले राष्ट्रिय सभा चुनावलगत्तै बैठक बस्नुपर्ने बताएका थिए । महामन्त्रीद्वयले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन सकिएपछि बैठक गर्ने प्रस्ताव राखेका थिए ।
महामन्त्रीद्वयले माघ १६ बाट गरौँ भन्ने प्रस्ताव राखेका थिए । तर, हलको अभाव हुने देखिएपछि माघ २६ लाई मिति सारिएको थियो । त्यो मितिमा पनि हल नपाएपछि फागुन २ मा पुर्याइएको थियो । तर, फागुन ७ बाट गर्ने आधिकारीक निर्णय भएको छ ।
पुसको केन्द्रीय समिति बैठक : मन्त्रीहरूको कामबारे चर्को बहस
पार्टीले पुस १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकमा नितान्त सरकारको समीक्षा हुने महामन्त्री थापा बताउँछन् ।
उनका अनुसार बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यप्रगतिबारे छलफल हुने छ । मन्त्रीहरूको समग्र गतिविधिबारे समीक्षा गर्ने बैठकले तयारी गरेको छ ।
सरकार प्रभावकारी हुन नसकेको गुनासो पार्टीबाटै हुने गरेको छ । सरकारले जनचाहना अनुसार काम गर्न नसक्दा निराशा बढेको बुझाइ कांग्रेस नेताहरूको छ । बैठक ३–४ दिनसम्म चल्ने बताइएको छ ।
पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत भने पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कामबारे कसैले प्रश्न उठाउने ठाउँ नरहेको दाबी गर्छन् । कार्यसम्पादन समितिको बैठकपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका मन्त्रीले काम गरेनन् भनेको आफूले कतै नसुनेको बताए ।
“पार्टीको तर्फबाट सरकारमा गएका छौँ । प्राथमिकताका साथ काम गरेका छौँ । काममा प्रश्न उठाउने ठाउँ छैन । प्रधानमन्त्रीसँग हाम्रो नियमित समीक्षा भइराख्छ । मलाई थाहा छैन, नेपाली कांग्रेसका मन्त्रीले काम गरेनन् भनेको मैले कहीँ सुनेको छैन,” उनले भने ।
उनले अर्थतन्त्र सुधार भइरहेको पनि बताए । जग्गा कारोबार, पर्यटन क्षेत्र चलायमान भएकाले अर्थतन्त्रले लय समातेको दाबी उनको छ ।
यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णयहरू
(१) संवत् २०८० साल माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम नेपाली कांग्रेस राजनीतिक दललाई निर्वाचन आयोगमा दर्ता गर्ने ।
(२) सो निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।
(३) सो निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा नेपाली कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।
(४) राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने ।
(५) पौष १६ गतेदेखि माघ १६ गतेसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान संचालन गर्ने । सो अभियानका लागि केन्द्रीय कार्यसमितिको तर्फबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने ।
(६) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २ देखि १० गतेसम्म बसेको बैठकले परिमार्जन सहित पारित गरेको पार्टीको वार्षिक कार्यतालिका कार्यान्वयन प्रारम्भ भइसकेको विदित नै छ । यसै बीचमा गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा गएको भूकम्पका कारण पार्टीले आफ्ना नियमित कार्यतालिकाका कार्यक्रम स्थगित गरी भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेको र पार्टीका सबै तहका सम्मेलनहरू सम्पन्न गर्नेतर्फ ध्यान दिँदा कार्यतालिकाका कार्तिक र मंसिर महिनाका कार्यक्रमहरू प्रभावित हुन पुगे । यसै क्रममा महासमितिको बैठकको मिति र तयारीका कारण पनि कार्यतालिकामा परिमार्जन गर्नुपर्ने भएकोले भूकम्प र पार्टीका तहगत सम्मेलनहरूका कारण स्थगित भएका कार्यक्रमहरू समेत समाहित गरी पार्टी कार्यतालिका (क्यालेण्डर) परिमार्जन गरी केन्द्रीय कार्यालयले लागु गर्ने ।
(७) नेपाली कांग्रेसको नियमावलीको नियम ५(२)(क) अनुसूची ७ मा निर्दिष्ट गरिएको क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल र स्पष्ट बनाउन क्रियाशील सदस्यता प्रमाणपत्र परिमार्जित गर्ने ।
(८) जाजरकोट–रूकुम पश्चिममा भूकम्प प्रभावित जनताका लागि अस्थायी आवास निर्माण कार्यमा पार्टीका तर्फबाट विभिन्न चरणमा विभिन्न तहबाट खटिई अभियानमा समन्वय र सहजिकरण गर्नु भएका केन्द्रीय समितिका साथीहरू, स्थानीय संयोजन गर्ने प्रभावित क्षेत्रका पार्टीका साथीहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका साथीहरू र अन्य सहयोगी तथा स्वयंसेवी साथीहरूलाई उहाँहरूको योगदानको प्रशंशा गर्दै नेपाली कांग्रेस धन्यावाद ज्ञापन गर्दै यस अभियानमा हाल प्रभावित क्षेत्रमा निरन्तर खटिइरहनु भएका साथीहरूलाई पार्टीको तर्फबाट आवश्यक समन्वय गर्ने । साथै सरकारका तर्फबाट अस्थायी आवास निर्माणका लागि उपलब्ध गराएको रकम यथाशीघ्र भूकम्प प्रभावित परिवारलाई वितरण गर्न गराउन नेपाल सरकारको पुनः ध्यानाकर्षण गराउने ।
(९) नेपाली कांग्रेस महासमितिको बैठकको मिति परिमार्जन गरी २०८० फागुन ७—१० गते, ललितपुरमा गर्ने ।
(१०) बाराको सिम्रौनगढ नगरपालिकाका ३२ वटा सामुदायिक तथा धार्मिक विद्यालयका १९० जना शिक्षकहरूले ६ महिनादेखि पारिश्रमिक नपाएको विषयलाई लिएर सिम्रौनगढ नगरपालिकाको मुख्य द्वारमा विगत दुई महिनादेखि धर्ना बसेका शिक्षकहरूमाथि यही मंसिर २७ गते सुरक्षाकर्मीले हस्तक्षेप गर्नुका साथै गोली चलाउँदा सिम्रौनगढ नगरपालिका वडा नं. १ नन्सगरा ढाट बस्ने लक्ष्मी मुखिया विनको घटनास्थलमै मृत्यु भएको छ भने वडा नं. ४ का आविद अन्सारी, राजेश सहनी र राम निवास राम गंभीर घाइते भएका छन् । शान्तिपूर्ण रुपमा धर्नामा बसेका शिक्षकहरूमाथि सुरक्षाकर्मीबाट भएको निर्मम दमनको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । उक्त घटनाको यथार्थ छानविन गरी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न, मृतकको परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस, सरकारसंग माग गर्दछ ।
(११) केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते दिनको १ः०० बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ ।