site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
‘मिथुन’ उल्का वर्षाको गतिविधि आज राति उच्च हुने, दूरबिनबिनै हेर्न सकिने
फाइल तस्बिर : एपी ।

काठमाडौं । मिथुन उल्का वर्षाको गतिविधि आज राति उच्च हुने भएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का (पुच्छ्रेतारा) देख्न सकिनेछ ।

यो वर्ष यही मंसिर १८ गतेदेखि सुरु मिथुन उल्का वर्षा आउँदो पुस १ गतेसम्म सक्रिय रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

Argakhachi Cement Island Ad

“उल्का वर्षाको अत्यधिक सक्रियता भने आज राति रहनेछ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिनेछ,” नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “यो उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिँदै छ ।”

उल्का वर्षको समयमा उल्काहरू मिथुन राशिबाट निस्किएजस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामकरण गरिएको उनले उल्लेख गरेका छन् ।

उनका अनुसार उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घर वा नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन र फोटो खिच्न सक्नेछन् ।

सो अवलोकनका निम्ति मंसिर २८ बेलुका ८ः०० देखि भोलिपल्ट बिहान ५ः३० बजेसम्मको समय अनुकूल रहने उनले जानकारी दिए ।

“उल्का वर्षा सामान्यतया मध्यरातपछि हेर्दा उत्तम रहन्छ । मौसमले साथ दिएमा उल्का वर्षा हेर्नेहरूका लागि यो सन् २०२३ कै उत्कृष्ट समय हुनेछ,” उनले भनेका छन्, “उल्का वर्षा हेर्नलाई कुनै दूरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन ।”

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्