site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्रीको आह्वान
फाइल तस्बिर ।

मेड्रिड (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आह्वान गरेका छन् ।

स्पेनस्थित नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू ‘समृद्ध, नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ अगाडि बढेकाले यसका लागि बाहिरको लगानीकर्तालाई प्रोत्साहन दिइँदै आएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीले दुई देशबीच अर्थपूर्ण व्यावसायिक साझेदारी विस्तारका लागि यो छलफलले ऊर्जा दिएको बताउँदै विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको नेपाल र शान्तिको अग्रदूत एवं सांस्कृतिक इतिहास भएको मुलुकमा लगानी गर्ने उपयुक्त अवसर भएको चर्चा गरे ।

“निजी क्षेत्र आर्थिक वृद्धिको इञ्जिन हो । अहिलेको सरकार लगानी वृद्धि र नवप्रवर्तनका लागि स्पष्ट छ । लगानी बोर्ड नेपालको अध्यक्षका हैसियतले म आग्रह गर्छु कि सरकारले लगानीकर्ताको सुरक्षा र सहजीकरणका लागि गर्नुपर्ने सबै काम गर्नेछ,” उनले भने, “नेपालको पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधारका क्षेत्रमा लगानीको प्रचुर सम्भावना छ । त्यसैले म यस्ता क्षेत्रहरूमा लगानीकर्तालाई हार्दिक स्वागत गर्दछु । लगानीको सम्भाव्यताको अध्ययनका लागि यहाँका व्यवसायीलाई नेपाल आउन आग्रह गर्दछु । म तपाईंहरूलाई लगानीकर्ता मात्रै होइन विकासको साझेदार पनि मान्छु ।”

कार्यक्रममा नेपाल उद्योग, वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि आदिका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको बताउँदै सरकारले कानुनी र अन्य सहजीकरण गरेकाले उचित वातावरण रहेको जानकारी गराए ।

स्पेनका उद्योग, वाणिज्यसँग सम्बन्धित सरकारी र संस्थाका प्रतिनिधिहरूले आफूहरू दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई थप अभिवृद्धि गर्न तत्पर रहेको बताएका थिए । रासस

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २३:३०
प्रतिक्रिया दिनुहोस्