
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुतीले सकारात्मक तरंग ल्याएको बताएका छन् ।
दुबईमा आयोजित कोप–२८ मा भाग लिएर आइतबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग सम्मेलनमा नेपाललाई सोचेभन्दा पनि बढी सन्तुष्टि मिलेको बताए ।
सम्मेलनभर नेपाल, हिमाल र पहाडको विश्वभर धेरै चर्चा भएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई प्राथमिकतामा राखेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा आफू ढुक्क भएको पनि बताए ।
"कोप–२८ पहिलापहिलाको भन्दा फरक, प्रभावकारी हुन्छ भन्ने सबै राष्ट्रहरूको सरकार प्रमुख, राष्ट्र प्रमुखहरूको धारणा थियो । हाम्रा लागि यो अलि नयाँ नै भयो । नेपालको अहिलेसम्म नेपालको छुट्टै पेभिलिएन थिएन यसअघि । पहिलोपटक त्यहाँ पेभिलिएन प्राप्त भएर त्यहाँ हाम्रा युवाहरू, पत्रकारहरू, विज्ञहरू त्यहाँ केन्द्रित भएर त्यहाँ लगातार हस्तक्षेप हुने गरी कार्यक्रम भयो । यो हाम्रा लागि खुसीको कुरा भयो । दोस्रो, संयुक्त राष्ट्र संघका महासभामा गएर हामीले जोड दिएर अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने काम गरियो । र, महासचिवलाई नेपाल भ्रमणको निम्तो दिइयो । उहाँले नेपालमा सगरमाथा पुग्ने, अन्नपूर्ण हिमाल पुग्नु, सबैसँग अन्तरक्रिया गर्नु यो सम्मेलनमा नेपालका लागि ठूलो अवसर भयो । यो सामान्य छैन," उनले भने ।