
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा चितवन एफसीले वीरगन्ज युनाइटेड एफसीविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ ।
एनएसएलको दोस्रो संस्करण चलिरहँदा प्रतियोगिताको इतिहामै चितवनको यो पहिलो जित हो । पहिलो संस्करणमा ६ खेल खेल्दा पनि चितवनले जित निकाल्न सकेको थिएन । पहिलो संस्करणमा ६ खेलमध्ये चार खेलमा हार बेहोरेको चितवनले दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चितवनलाई जत दिलाउन विमल घर्तिमगर र टोरिक जेब्रिनले गोल गरे । वीरगन्जका आइकिन्स बाफोरले एक गोल फर्काएका थिए ।
खेलको २८औँ विमलले गोल गर्दै चितवनलाई अग्रतामा राखेका थिए । मध्यभागबाट रोशन रानामगर निकालेको उत्कृष्ट ‘थ्रू’ बललाई नियन्त्रणमा लिँदै विमलले ‘वान भर्सेस वान’ मा वीरगन्जका गोलकिपर दीप कार्कीलाई बिट गरी खाली पोस्टमा गोल गरे ।
५५औँ मिनेटमा आइकिन्स बाफोरले गोल गर्दै वीरगन्जलाई खेलमा फर्काएका थिए । विलियम आइसेडुको क्रर्नरमा बाफोरले हेडर गोल गर्दा चितवनका गोलकिपर विशाल श्रेष्ठ प्रतिक्रयाविहीन बनेका थिए ।
तर, ६८औँ मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै पुनः चितवनलाई अग्रतामा राखे । विमल घर्तिमगरको पासलाई टोरिकले १८ यार्ड बक्सको लेफ्ट साइडबाटै ‘टप कर्नर’ जालीको दिशा दिएका थिए ।
जितसँगै तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । दुई खेल खेल्दा पनि अंकविहीन वीरगन्ज भने तालिकाको पुछारमा छ ।
जारी सिजन चितवनको यो तेस्रो खेल हो । चितवनले पहिलो धनगढी एफसीसँग १–० को हार बेहोर्दा दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।
वीरगन्ज भने यसअघि पहिलो खेलमा धनगढी एफसीसँग २–१ ले पराजित भएको थियो ।
मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।
एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।