
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेशको विकल्प खोज्न एकैछिन पनि ढिला गर्न नहुने बताएका छन् ।
महोत्तरीको जलेश्वरमा सोमबारदेखि बुधबारसम्म चलेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा रविले प्रदेशको संरचनाको विकल्प खोजीहाल्नु पर्ने उल्लेख गरेका हुन् ।
“अहिलेको प्रदेश संरचनाले हामीलाई कहीँ लैजाँदैन । त्यसमाथि यो भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बनेको छ,” लामिछानेले राजनीतिक प्रतिवेदनमा व्यवस्थाभित्रै अवस्था परिवर्तन शीर्षकका नोट थप्दै लेखेका छन्, “यसको विकल्प सोच्न एकछिन पनि ढिला गर्नु हुन्न ।”
उनले अहिलेका व्यवस्था फेर्नु आवश्यक नभएको भन्दै आठ दशकमा निरंकुश राणा शासन, सक्रिय राजतन्त्रसहित निर्दलीय पञ्चायत, संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र पछिल्लो १६ वर्षयता संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अँगाले पनि नागरिकको अवस्थामा सुधार ल्याउन नसकेको उल्लेख गरेका छन् ।
“यही व्यवस्थाभित्रै रहेर हामी मुलुक र नागरिकको अवस्था परिवर्तन गर्न सक्छौँ । अहिले व्यवस्था परिवर्तनको बहसभन्दा सुशासन र विकासको बहसमा केन्द्रित हुन जरुरी छ,” लामिछानेको प्रतिवेदनमा भनिएको छ, “गरिब, दुःखी, पीडित नागरिकहरुको कहाली लाग्दो जीवनबारे बहस नगरेर अन्य परिवर्ततिर बहस धकेलिने हो भने आम जनतालाई परिवर्तनको प्रत्याभूति दिने संकल्प अनिश्चिततातर्फ धकेलिन्छ ।”