
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति भत्काउने र रुपान्तरणसहित समाजवादी क्रान्तिको बाटोतर्फ अघि बढेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी अघि बढिरहेको बताए ।
चुनौतीविरुद्ध लड्ने संकल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एकपटक यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको बताए ।
अध्यक्ष प्रचण्डले अहिले प्रतिक्रियावादी र अवसरवादी अझ बढी आफूहरुविरुद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने काममा लागेको आरोप लगाए । उनले नेताहरूलाई देवत्वकरण गर्न नहुने पनि बताए ।
“नेताहरूप्रति हामीले बुझ्दा देवत्वकरण गरेर बुझ्यो भने पनि गलत हुन्छ । त्यसको विकृत तरिकाले बुझ्यो भने झन गलत हुन्छ,” उनले भने, “प्रत्येक पार्टी र नेताहरू सीमा हुन्छन् । कमजोरी पनि हुन्छन् ।”
लेनिनले भनेको झैँ सीमा र कमजोरी नभएको मान्छे नहुने उनले बताए ।
अध्यक्ष प्रचण्डले समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने बताए । –न्युज एजेन्सी नेपाल