site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रहरी हस्तक्षेपको विरोध गर्दै राप्रपाले भन्यो– प्रदर्शनमै नआएकालाई समेत खोजीखोजी समातियो
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज तीनकुनेमा प्रहरीले गरेको 'हस्तक्षेप'को विरोध गरेको छ । शुक्रबार साँझ एक विज्ञप्तिमार्फत राप्रपाले संविधानप्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि प्रशासनले दमन तथा धरपकड गरेको बताएको छ ।

राप्रपाले प्रदर्शनमा सहभागी नभएकाहरूलाई समेत खोजीखोजी पक्राउ गरिएको दाबी गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"प्रशासनको निसानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु, प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दु:खद, आपत्तिजनक र विडम्बनापूर्ण छ," राप्रपाले भनेको छ ।

आफ्ना मागहरू लिएर सडकमा ओर्लिएकालाई घरमा नजरबन्द गर्ने, प्रदर्शनस्थलमा पुग्नु अगावै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा कब्जा जमाउने, घरघरमा पुगेर नागरिकलाई पक्राउ गर्ने, सडकपेटीमा हिँडिरहेका नागरिकलाई जथाभाबी गिरफ्तार गर्ने कार्य अलोकतान्त्रिक रहेको राप्रपाको निष्कर्ष छ । 

"यस्ता गतिविधि संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र सामाजिक न्यायको सिद्धान्तविपरीत छ । दमन र धरपकड समस्याको समाधान होइन र हुनै सक्दैन," राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्ता अलोकतान्त्रिक गतिविधि तत्काल रोक्न एवं संविधान र प्रचलित कानुनले नागरिकलाई प्रदान गरेको अधिकारको रक्षा गर्न राप्रपाले माग गरेको छ । साथै, गिरफ्तार गरिएका सबैको बिनासर्त तत्काल रिहाइ गर्न राप्रपाले माग गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्