site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा सुरुङमा फसेका कामदारको उद्धार कार्य जारी

नयाँ दिल्ली । भारतमा करिब दुई सातादेखि भत्किएको सडक सुरुङमा फसेका ४१ कामदारलाई छुट्ट्याएर अन्तिमसम्म भग्नावशेष खनेपछि एम्बुलेन्सहरूलाई बिहानैदेखि तयारी अवस्थामा राखिएको छ ।

घटनास्थलमा एएफपीका पत्रकारले बिहानको समयमा आपत्कालीन सवारीहरू तयारी अवस्थामा राखिएको देखेको बताएका छन् । हिमाली राज्य उत्तराखण्डको सुरुङबाट उनीहरूलाई चाँडै मुक्त गरिने आशा अधिकारीहरूले व्यक्त गरेका छन् ।

नोभेम्बर २२ मा निर्माणाधीन सुरुङको एक भाग खसेपछि इन्जिनियरहरूले करिब ५७ मिटर माटो, कंक्रिट र भग्नावशेषबाट स्टिलको पाइप खन्ने काम गरिरहेका छन् ।

कैयौँ दिनको दर्दनाक सुस्त प्रगतिपछि शक्तिशाली ड्रिलिङ मेसिनका साथ इन्जिनियरहरू बुधबार द्रुत गतिमा अगाडि बढेका छन् । यद्यपि, धातुका रडहरूका कारण मार्ग अवरुद्ध हुँदा केवल १२ मिटर अगाडि बढ्ने काम सुस्त भएको छ ।

इन्जिनियरहरू रड काट्नका निम्ति पाइपभित्र पस्ने र सो समयमा शक्तिशाली ड्रिलिङ गरिने उद्धार टोलीका वरिष्ठ सदस्य हरपाल सिंहले बताए ।

चिन्तित आफन्त हिन्दु मन्दिर बनाइएको स्थलमा जम्मा भएका छन् । एक पुजारीले सुरुङभित्र फसेका कामदारको सुरक्षित उद्धारका निम्ति प्रार्थना गरिरहेका छन् ।

“जुन दिन उनीहरू सुरुङबाट बाहिर आउँछन्, त्यो दिन हाम्रा निम्ति सबैभन्दा खुसीको दिन हुनेछ,” ३५ वर्षीय चञ्चल सिंह विष्टले भने । सुरुङभित्र उनका २४ वर्षीय भाइ पुष्कर सिंह आर्य फसेका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बुधबार साँझ दुर्घटनास्थलमा पुगेर काम युद्धस्तरमा भएको बताए ।

भग्नावशेष खस्नुका साथै महत्त्वपूर्ण भारी मेसिन बारम्बार बिग्रिएर उद्धार कार्यमा अवरोध भएको छ ।

मंगलबार पहिलोपटक कामदारलाई जीवित देखिएको थियो । उद्धारकर्मीले एउटा पातलो पाइपको माध्यमबाट पठाएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र बिजुली पुर्‍याइएको छ ।

उक्त सुरुङमार्ग प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एउटा भाग हो । उक्त परियोजनाको उद्देश्य केही प्रसिद्ध तीर्थस्थल र चीनसँग सीमा जोडिएका क्षेत्रबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ । यद्यपि, विज्ञले ठूलो भाग पहिरोको जोखिममा रहेको भन्दै उत्तराखण्डमा व्यापक निर्माणको प्रभावका बारेमा चेतावनी दिएका छन् । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro