site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैंक तथा वित्तीय संस्थाहरूबाट लिइएको ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

मंगलबार सिंहदरबारमा निजी क्षेत्र र सरकारी निकायसँग गरिएको मुलुकको अर्थतन्त्र सुधारसम्बन्धी छलफलको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री प्रचण्डले लघुवित्तसहितका बैंक तथा वित्तीय संस्थाहरूको ऋण नतिर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने बताएका हुन् ।

Argakhachi Cement Island Ad

उनले व्यवसायी दुर्गा प्रसाईँप्रति संकेत गर्दै ऋण लिए जबरजस्ती ऋण नतिर्ने कुराले संविधान, ऐन, कानुन, मूल्य, मान्यता तोड्ने भएकाले पनि त्यसलाई राज्यले कुनै अर्थमा छुट दिन नसक्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको शिथिलताका कारण कसैले सो ऋण तिर्न नसकेमा त्यसको सहजीकरणको काम नेपाल राष्ट्र बैंकले गर्ने निष्कर्ष पनि छलफलले सुझाएको बताए ।

त्यसैगरी बैठकले आर्थिक शिथिलताका कारण ऋण भुक्तानी गर्न नसक्ने ऋणीहरूका लागि सहजीकरण गर्ने काम पनि नेपाल राष्ट्र बैकलाई दिइएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले सहकारी संस्थाहरूमा देखिएको समस्या ६ महिनाभित्र समाधान हुनेगरी छुट्टै विशिष्टिकृत खालको नियमनकारी निकाय स्थापना गर्ने पनि बताए ।

प्रधानमन्त्रीले कर प्रणालीमा सुधारका लागि गठित आयोगले दिएको सुझावको आधारमा लगानी र उत्पादनमैत्री राजस्व संरचनामा सुधार गरिने निष्कर्ष छलफलबाट निस्किएको बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्