
काठमाडौं । नेपाल मोर्डन पेन्टाथलोन संघ (यूआईपीएम)को आयोजनामा मंसिर ६ गते दोस्रो राष्ट्रिय लेजर रन र मंसिर १० गते ग्लोबल रन सिटी टूर हुने भएको छ । सन् २०१५ मा गठित उक्त संघले गर्न लागेको यो पहिलो ग्लोबल प्रतियोगिता हो ।
आइतबार एनएमपीएले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय प्रतियोगितामा सात प्रदेशबाट १०० भन्दा बढी खेलाडीले भाग लिने जनाएको छ।
प्रतियोगितामा यू–११, यू–१३, यू–१५, यू–१७ र यू–१९ उमेर समूह तथा सिनियर टोलीका छुट्टाछुट्टै इभेन्ट्स हुनेछन् । यस्तै, ग्लोबल लेजर रन सिटी टुरमाभारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान गरी चार देशको सहभागिता रहनेछ ।
दोस्रो राष्ट्रिय लेजर रनबाट हरेक इभेन्टसमा शीर्ष चार भित्र रहने खेलाडीहरू ग्लोबल रनमा छनोट हुने संघका महासचिव यादव बस्नेतले बताए ।

लेजर सिटी रनमा खेलाडीहरूले दौडिनै निश्चित स्थानमा लेजर गन प्रहार गर्ने र फेरि दौडिनेछन् । यो प्रकृया पाँच राउन्डसम्म हुने संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
मोर्डन पेन्टाथलोनमा पौडी, घोडचढी, फेन्सिङ, लेजर गन सट र एथलेटिक्स इभेन्टस समावेश हुनेगर्छ । लेजर रनमा भने लेजर गन शट र एथलेटिक्समात्र समावेश छन् ।
प्रतियोगिता सातदोबाटोको राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद परिसर भित्र बिहान ९ बजेबाट सुरु हुनेछ ।