काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वाग्मतीबीच ‘चेस इन एजुकेसन’ सञ्चालन गर्ने सहमति भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत बुद्धिचाल महासंघ र प्याब्सन वाग्मतीले सम्झौतापत्र सार्वजनिक गरेका हुन् । सम्झौतामा प्याब्सन वाग्मतीका अध्यक्ष केशवलाल श्रेष्ठ र नेपाल बुद्धिचाल महासंघका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जनले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बुद्धिचाल महासंघ र प्याब्सन वाग्मतीको संयुक्त आयोजनामा हरेक वर्ष छात्रवृत्ति बुद्धिचाल प्रतियोगिता हुनेछ । यस प्रतियोगिताको उत्कृष्ट सातजनाले कक्षा १२ सम्मका लागि छात्रवृत्ति पाउनेछन् ।
महासंघ र प्याब्सन वाग्मतीले आगामी पाँच वर्षसम्मका यो कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेका छन् ।