site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
वीरहरू

तिनीहरूका पङ्ख थिए । अरू मान्छे घस्रिएर बसे । तिनीहरूको हृदयमा बिजुली थियो, देशको तुसारोले झिलिक्क झिल्केर उठ्यो । अरूहरू काँपे । तिनीहरू पोस्तछन् स्वर्गबाट– जहाँ तिनका हातमा अप्सराहरू अमृतका प्याला चढाएर पर्खिरहन्छन् । अरूहरूले माटो खेती गरे । तिनीहरूले हामीहरूलाई आफू सम्झेर आफूलाई हराइरहेछन् ।

दुनियाँ तिनलाई आँसु लिएर युग–युगसम्म सम्झँदै रुँदो छ, किनकि हाम्रा परमेश्वरको चरणमा छिटो खुशीसँग चढेका स्वदेशी भाइहरू तिनै हुन् । हामी तिनकै झल्काले बाँचिरहेका छौँ, तिनीहरू नजिक हुनु हाम्रो आशाको चरम चुली छ ।

मृत्यु नै संसारको विशाल त्रास छ । हामी मर्दा स्वदेशी मुटु नकामेको देख्न चाहन्छौँ । नकाँप्नुमा हाम्रो जातिलाई विश्वासको स्थिरता छ । हामी आफ्नो स्वर्ग र ईश्वर सच्चा रहेछ भनेर शङ्का र त्रासहरू पन्साउँछौं र हाम्रो मुटु अर्को युगसम्म सञ्चोसँग हाँस्न र खेल्न लाग्छ ।

Dabur Nepal
NIC Asia

वीर भनेको त्यो हो जो आफू सम्झँदैन । कीर्तिपिपासु बत्तीको झिल्के पुतली हो । स्वार्थनामेट नै वीरता हो । ‘म बहादुर हुँ’ को चैतन्य मानौँ आत्महत्याको आत्मप्रदर्शनी हो । समर्पणको भावना ईश्वरमा बिजुली मिल्दछ । एक इशारामा उफ्रने आत्मालाई म वीर भन्दछु– जो यताउति हेर्दैन, पछाडि फर्कंदैन ! उसका पूँजीका काँट नै त्यस्तै छन् । उसलाई केन्द्रमा छोइदेऊ । बस, झिलिक्क झल्किहाल्छ अनन्तताको मोहनी, अमृतको बिजुली ।

सच्चा वीरमा विश्वासको जादू हुन्छ । ऊ एक झिलिकमा पुरुखा देख्तछ । दुश्मनको हाँकमा भन्दा अमरत्वको सहज विश्वासमा वीरको सच्चा टुना छ । ऊ ! आत्मा उचालियो । खुट्टा पृथ्वीबाट उठे, समुच्च जीवन झल्कियो । उसले सत्य देख्यो । एकै निमेषभर पनि अनन्तको अमृत चाख्यो । अनि हेर, दुई सय कडोरका आँखा आश्चर्यमा टुल्टुलाएँ । ऊ मान्छेभन्दा कति माथि एक निमेषको पखेटामा उड्दछ ।

हामी ऋणमा डुबिरहेछौँ । दूधको भारा तिर्न हिचकिचाउनु कातरता हो ! के तिमीलाई विश्वास छैन कि तिमी माटो होइनौ ? के अनन्त साठी वर्षको रालसिँगानभन्दा पर छैन ? उताको अनन्तता यताको बोक्रे झोक्राइमा खेर फाल्नु ! डुब नानी ! गहिराइले अतासिने मोतीहरूबाट वञ्चित छन् । तर हाय ! एक अनन्तको झिलिमिलीले मलाई यतातिर तान्दछ ! म उठ्नु एक विशाल मायाजालबाट मुक्ति पाउनु छ ! कातर आत्मा मान्दैन ! भोलिको पर्सिको होश नै नहुनु मेरो पार्थिवता हो । टाढाको नहुनु नै मेरो अन्धता हो । म खुम्चिन्छु । कम रोकावटको पथमा हार खाएर भागिरहन्छु । नजिकका क्षणहरू लोलाइरहन्छन् र क्षणलाई अनन्तको सर्वस्व सुम्पँदै त्रास र विकम्मापन साटेर दीनताको प्रदर्शनी देखाउँछु ।

म किन झल्किन ? के वीरलाई परमेश्वरले सुनौला मौका पठाइदिएका हुन्छन् ? होइन, आत्माले मौका त्यहाँ पाउँछ जहाँ यसको भावना सँग्लिएर अनन्तको प्रतिबिम्ब धारण गर्छ । परमेश्वरले नदिएको होइन । मेरो स्वार्थले सबै क्षणहरू फुस्रो, धुस्रो बनाएको र तिनका टुनामा ध्वाँसो हालेको हो । के अस्ति भैँचालो गएन ? के एउटा केटाकेटी एक घरको भग्नावशेष पनि रोइरहेको थिएन ? मैले ती सुन्दर क्षणका आवाजहरू पर पन्साउँदै लोलुपताको वधिरता ग्रहण गर्ने राह लिएको थिएँ । के त्यो दिन आत्मा मसँग पुकार गरिरहेको थिएन ? त्यो पेटको भोको र आशाले वञ्चित ।

मसँग धन थियो । ममा आत्मबल थिएन । ज्यान दिनुभन्दा सर्वस्व दिनु ठूलो कुरा हो र मलाई घिनलाग्दो लोलुपताले अघि सर्न दिएन ! अस्ति मात्र मैले फोस्रो इज्जतका निम्ति झुटो बोलेँ ! ममा वीरको ताज लगाउने जोश थिएन । म सत्यका निम्ति कति कम दान गर्न सक्तछु –सत्तरी रूपियाँको जागिर जाला भन्नेमा सत्तरी हजार नसा काँप्तछन् ! समाजको अन्धता खप्नुभन्दा सत्यको घाँटी रेट्न मलाई सजिलो लाग्छ र म मेरो आत्मासँग झुटो बोल्छु र दुनियाँसँग सच्चाइको सच्चरित्रताको दावा राख्तछु । अनि मेरो मुटु किन नकाँपोस् ?

मलाई रूनै मन लाग्छ, कहाँ–कहाँबाट आँसु भुलभुलाएर आउँदछन्, जब म आफ्ना स्वदेशका वीरहरूको नाम सम्झन्छु । मलाई त्यस्तै हुन मन लाग्दो हो । म यो मट्टीधूसन जीवनसँग तिनीहरूलाई हरहमेशा दाँजिरहेको हुँदो हुँ ।

नेपाली माटोमा किरण त्यहाँ झर्यो, बीउ त्यहाँ रोपियो र सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुलाबी लाली पोख्तछन्; तिनका बास्नाहरू हावाले दूरतासम्म पुर्‍याएर अरूहरूलाई फुल्नको प्रेरणा गर्दछन् ।

छिः ! मलाई बराबर लाग्दछ, यो के जीवन ? माटो मुसारेझैँ, आँखा बन्द गरेर मुख उघारेझैँ सिँगानेले र्‍यालधूसरता ! यहाँ के छ ? मेरो आत्मा त्यहाँ खोज्छ केही खँदिलो कुरा, जहाँ तिनीहरू बसेका छन् ।

म अविदितको यात्रामा जान चाहन्छु । स्वर्गको फिलिङ्गो चोर्न चाहन्छु ! महको माखा हुन चाहन्नँ ।
(लक्ष्मी निबन्धसंग्रहबाट)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro