
काठमाडौं । इरानले यो महिनाको सुरुमा इजरायली आक्रमणमा मारिएका शीर्ष सैन्य अधिकारी, आणविक वैज्ञानिक र सर्वसाधारणको अन्त्येष्टि समारोह आयोजना गरेको छ । राजधानी तेहरानमा कम्तीमा ६० जनाको अन्त्येष्टि गरिने र देशभर पनि यस्तै समारोह हुने सीएनएनले जनाएको छ ।
तेहरानमा ठूलो संख्यामा भीड जम्मा भएर झन्डा र ब्यानर फहराउँदै मारिएका ६० जनाप्रति सम्मान गरिएको छ । ती ६० जनामा इजरायलसँगको द्वन्द्वमा मारिएका इरानी शीर्ष सैन्य अधिकारी र आणविक वैज्ञानिक हुन् ।
इरानी सरकारी मिडिया आउटलेट आईआरआईबीले राष्ट्रिय अन्त्येष्टि समारोहको भिडियोमा देशभक्तिपूर्ण संगीत बजाएको थियो । र, शोकाकुलले रातो, सेतो र हरियो रङमा सजाइएको कफिनलाई छुने प्रयास गरिरहेको देखिएको थियो ।
राष्ट्रपति मसुद पेजेशकियन भीडमा सुरक्षा अधिकारीसँगै देखिएका थिए । मारिएका सैन्य अधिकारीको तस्बिर मञ्चमा राखिएको थियो ।
भीडका केही मानिसले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको तस्बिर पनि बोकेका थिए । उनीहरूले अमेरिका र इजरायलविरुद्ध नारा लगाएका इरानको तस्निम समाचार एजेन्सीले जनाएको छ ।