site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी तीन अपराधमा कुकुर प्रयोगले प्राप्त गरेका सफलता, प्रहरी अनुसन्धानको सारथि (भिडियोसहित) 

काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ । आजै लक्ष्मीपूजा पनि गरिँदै छ । तिथिअनुसार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको हो । कुकुर तिहारका दिन कुकुरको पूजा गरी मिठो खानेकुरा दिने प्रचलन छ । कुकुरलाई भोजन गराउँदा यमराज र पितृ खुसी हुने धार्मिक मान्यता छ ।

कुकुरलाई मानिसको साथीका रूपमा हेरिन्छ । कुकुर मानिसको रक्षक पनि हो । हिजोआज गाउँघरदेखि सहरबजारसम्म धेरैले कुकुर पालेको देखिन्छ । पछिल्लो समय विभिन्न प्रजातिका कुकुर पाल्ने चलन बढेको छ । प्रहरीले त कुकुरलाई अपराध अनुसन्धानको महत्त्वपूर्ण ‘टुल्स’कै रूपमा प्रयोग गर्ने गरेको छ ।

नेपाल मात्र नभएर संसारभरका प्रहरीका निम्ति कुकुर अनुसन्धानको सारथि बन्दै आएको छ । अहिले हरेकजसो जघन्य प्रकृतिको अपराधका घटनामा प्रहरीले अनुसन्धानको सुरुमै कुकुरको सहयोग लिने गरेको छ ।

Dabur Nepal
NIC Asia

कतिपय अपराधका घटनामा प्रहरीले कुकुरकै सहयोगले सफलता हासिल गरेको छ । प्रहरीले विशिष्ट व्यक्तिहरूको सुरक्षाका निम्ति समेत कुकुरको प्रयोग गर्दै आएको छ ।

नेपाल प्रहरीसँग विभिन्न प्रकारका अपराधमा प्रयोग हुने कुकुरहरू छन् । केन्द्रीय कुकुर तालिम महाशाखाका प्रमुख एवं एसएसपी देउती गुरुङका अनुसार प्रहरीले विशेष गरी चार प्रकारका अनुसन्धान गर्न कुकुरको प्रयोग गर्ने गरेको छ । जघन्य प्रकृतिको हत्या, खोजी तथा उद्धार, विस्फोटक पदार्थ र लागुऔषध पत्ता लगाउन प्रहरीले कुकुरको प्रयोग गर्ने गरेको हो ।

१२ कार्यालयबाट कुकुरको प्रयोग
नेपाल प्रहरीले देशभरका १२ कार्यालयबाट तालिमप्राप्त कुकुरको प्रयोग गर्ने गरेको छ । एसएसपी गुरुङका अनुसार हाल सातवटै प्रदेश प्रहरी कार्यालयबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जनकपुर विमानस्थल र विराटनगर विमानस्थलमा तालिमप्राप्त कुकुर राखिएको छ ।

१२ कार्यालयमा ६ प्रजातिका कुल ९९ कुकुर रहेका एसएसपी गुरुङले जानकारी दिइन् । ती कुकुरका छुट्टाछुट्टै नाम राखिएको छ । यसरी राखिएका मध्ये हाल प्रहरीसँग सबैभन्दा बढी बेल्जियन शेफर्ड छन् ।

एसएसपी गुरुङले भनिन्, “बेल्जियन प्रजातिका कुकुर हेर्दा सानो तर सबैभन्दा बढी चलाख र तीव्र गतिमा दौडिन सक्ने भएकाले बेल्जियन शेफर्डलाई प्राथमिकता दिएका हौँ ।”

प्रहरीसँग २७ बेल्जियन शेफर्ड छन् । जर्मन शेफर्ड, ल्याब्राडोर, गोल्डेन रिट्रिभर, बिगल र कोकर स्पानियल प्रजातिका कुकुर पनि प्रहरीसँग रहेका उनले बताइन् ।

कुकुरको प्रयोगले सफलता प्राप्त गरेका तीन घटना

घटना–१

गएको असार २९ गते रौतहटको देवाही गोनाही नगरपालिका–६ का ३५ वर्षीय जगरनाथ साहको हत्या भयो । राति आफ्नै घरमा सुतेका बेला धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको थियो ।

घटनाको सूचना पाएलगत्तै प्रहरीको वीरगन्जस्थित केनाइन शाखाबाट अपराध अनुसन्धानमा खटिँदै आएको रियो नामको ‘ट्रयाकर डग’लाई घटनास्थलमा प्रयोग गरिएको थियो । साहको शवनजिकै महिलाले प्रयोग गर्ने कपालमा लगाउने क्लिप फेला पर्‍यो । त्यही क्लिपलाई सुँघाएर छोड्दा रियोले साहकै श्रीमती चन्दा साहलाई संकेत गरेको थियो । प्रहरीले चन्दामाथि नै केरकार गर्‍यो ।

तर, उनले सुरुआतमा राति चार युवकको समूहले श्रीमान्‌को हत्या गरेको प्रहरीसमक्ष बयान दिइन् । पछि उनलाई नियन्त्रणमै लिएर अनुसन्धान गर्दा हत्या आफैँले गरेको स्वीकार गरेकी थिइन् ।

राति सुतेका बेला धारिलो हतियार प्रयोग गरेर चन्दाले श्रीमान् जगरनाथको हत्या गरेकी थिइन् । हाल चन्दा जिल्ला अदालत रौतहटको आदेशले पुर्पक्षका निम्ति थुनामा छिन् । रियो नामको कुकुरकै सहयोगले प्रहरी हत्यारासम्म पुग्न सफल भएको हो ।

घटना–२

गएको असोज ३० गते रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१, त्रिवेणीस्थित सत्कार होटेलमा मुसिकोट–७ की २८ वर्षीया भावना विकको शव फेला पर्‍यो । होटेलको कोठाभित्र धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको थियो । होटेलको कोठा उनकै नाममा ‘बुक’ गरिएको थियो ।

सो सूचना पाएलगत्तै कर्णाली प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा कोहलपुरबाट जम्बो नामको ‘ट्रयाकर डग’ प्रयोग गरियो । घटनास्थलमा फेला परेको खुकुरी सुँघाएर छोड्दा जम्बोले आरोपित होटेलभन्दा दुई किलोमिटर दक्षिणतर्फ गएको संकेत गर्‍यो ।

त्यसकै आधारमा प्रहरीले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकलाई पक्राउ गर्‍यो । उक्त घटनामा कुकुरकै संकेतले अपराधी पक्राउ गर्न प्रहरी सफल भएको थियो । हाल विक पुर्पक्षका निम्ति जेलमा छन् ।

घटना–३

यही कात्तिक ४ गते धुलिखेल हुँदै काठमाडौं भित्रने नाका साँगामा प्रहरीले सानाठूला सवारीसाधनमा लागुऔषध भित्रन सक्ने आशंका गर्दै कुकुर परिचालन गर्‍यो ।

प्रहरीको तालिमप्राप्त कुकुरले बा४ख५८१० नम्बरको अरनिको यातायातको बसमा यात्रारत रामेछापका २२ वर्षीय ओमबहादुर मगरले बोकेको झोलामा शंकास्पद वस्तु रहेको संकेत गर्‍यो । उक्त झोला नियन्त्रणमा लिएर प्रहरीले हेर्दा चार किलो गाँजा फेला पार्‍यो । मगरलाई काभ्रे प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

यसरी पुग्छन् अपराधीसम्म प्रहरीका कुकुर

०३२ सालदेखि नेपाल प्रहरीले अपराध अनुसन्धानमा कुकुरको प्रयोग गर्न थालेको हो । ०२७ सालमा कुकुरबारे तालिम लिन प्रहरीका दुई अधिकारीलाई मलेसिया पठाइएको थियो । अपराध अनुसन्धानमा कुकुरको प्रयोग भने ०३२ सालदेखि मात्र गर्न थालिएको प्रहरी अधिकारी बताउँछन् ।

विभिन्न प्रजातिका कुकुरलाई केनाइन शाखामा कार्यरत प्रहरीले तीन महिनाको उमेरदेखि नै अपराध अनुसन्धानको तालिम दिने गरेका छन् । क्षमताअनुसार वर्गीकरण गरेर अपराध अनुसन्धानमा कुकुरको प्रयोग गरिने एसएसपी गुरुङको भनाइ छ ।

आधारभूत तालिममा कुकुरलाई अनुशासित बनाउने र मान्छेसँग घुलमिल हुन सिकाइन्छ । त्यसपछि एक वर्षसम्म सम्बन्धित अपराध अनुसन्धानसम्बन्धी तालिम दिइन्छ । कुकुरमा सुँघ्ने क्षमता बढी हुन्छ ।

त्यही क्षमताका कारण घटनास्थलमा फेला परेका वस्तु तालिमप्राप्त कुकुरलाई सुँघाइन्छ । र, कुकुर शंकास्पद व्यक्तिसम्म पुग्ने गर्छ ।

प्रत्येक मान्छेमा फरक–फरक गन्ध हुने हुँदा पत्ता लगाउन कुकुरलाई गाह्रो नहुने प्रहरी अधिकारी बताउँछन् । घटनास्थलमा कुनै सबुतप्रमाण नछाडे पनि मान्छेको पाइलाको गन्ध सुँघेर कुकुरले अपराधी पत्ता लगाउन सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro