
यसपटक त गतिलो साडी किनिन्छ
लकरका गहनाहरूमा
आज किनेको रानीहार थपेर
माइत अनि मावल गइन्छ
इष्टमित्रबीचको होडबाजीमा
आफ्नो वर्चस्व कायम गर्न
योजनारत देखिन्छिन् गृहिणी ।
यसै साल आँगनमा पिङ हालिन्छ
फुर्के जामा लतार्दै मच्चाइन्छ पनि
साथीहरूको जमघटमा
आफ्नो फरक उपस्थिति
मानौँ, पूरै सिनेमा आफ्नै पृष्ठभूमिमा छ ।
बालपन हट्दै छ
हाउभाउमा परिवर्तन
लाग्छ, सबैको नजर आफैँतिर सोझिइरहेछ
छोरी सायद यस्तै अभिलाषामा छिन् ।
च्यातिएको नयाँ पाइन्टसँगै
दुई रङको पांग्रे सर्टमा ठाँटिएर
रातो क्यानभास जुत्ताको तुना लतार्दै
बुलेट बाइकमा पल्लाघरकी सखीसँग
लुसुक्क दोहोरीमा जानुपर्छ–
छोराको हाउभाउले यस्तै भन्दै छ ।
कालो पाइन्टमा सेतो कमिज
रातो टाई तुर्लङ झुन्ड्याउँदै
पालिस गरिएका क्याजुयल जुत्ता
अनि, वेस्टकोटमा ठाँटिएर
अर्धांगिनीको हात समाउँदै
विचरण गर्ने रहर मलाई पनि छ ।
श्रीमतीका आशाका किरण
छोरीका अभिलाषाका अनुभूति
छोराका सात्क्षात्कार परिकल्पना
अनि, आफ्ना अपूर्ण अभिष्ठहरू
मूलढोकाको ताला खोल्न आतुर छन् ।
तर,
जस्केलामा समेत भोटेताल्चा लागेको छ ।
कुण्ठित रहरहरूबीच
परिमार्जित जीवनशैली
चौघेरामा समेटिएको ब्रह्माण्ड
टिलपिलाएका ताराहरूजस्तै
कोलाहलका बीचबाट निस्किएको मन्द ध्वनि
अनि,
अधिक बर्सातले लत्रिएका वृक्षपत्रजस्तै
विमूढ बनेर थलिएको छ जीवन
विसर्जन भएका छन् आशाका किरणहरू
अनि, यस वर्षको दसैँ पनि ।