site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चित्रलेखाको चौरासी, भम्पा : एक अडान अनेक प्रश्न र जन्तरमन्तर 

चित्रलेखाको चौरासी  
(अनुवाद उपन्यास : प्रज्वल पराजुली)
नेपाली कथावस्तु, जीवनशैली, रहनसहन, सांस्कृतिक परम्पराका साथै विविध विषयलाई समेटेर अंग्रेजी भाषामा उपन्यास लेख्ने स्रष्टा हुन्, प्रज्वल पराजुली । उनै पराजुलीको उपन्यास ‘ल्यान्ड ह्वेर आई फ्ली’को नेपाली अनुवाद हो, हालै प्रकाशित ‘चित्रलेखाको चौरासी’ । यो पुस्तकलाई अनुवाद गरेकी हुन्, विभु लुइटेलले ।

उपन्यासकार पराजुलीको यसअघि पनि एउटा कथासंग्रह ‘द गुर्खाज डटर’ प्रकाशित छ । जसको नेपाली अनुवाद यसअघि नै प्रकाशित भइसकेको छ, ‘गोर्खाकी छोरी’ ।

प्रज्वलका यी दुवै अंग्रेजी कृतिले अंग्रेजी साहित्यमा विशेष स्थान हासिल गरेको छ । उनको मूल कृति ‘ल्यान्ड ह्वेर आई फ्ली’ अनेकन् अन्तर्राष्ट्रिय पुरस्कारको मनोनयनमा पनि परेको थियो ।

प्रज्वलको अहिलेको बसोबास बेलायतमा भए पनि उनको थातथलो भारतको सिक्किम हो । उनको मावल नेपाल हो । नेपाली समाजका ससाना सांस्कृतिक कुरालाई सूक्ष्म रूपमा अध्ययन गर्दै आएका प्रज्वलले आख्यान प्रस्तुतिको भाषा अंग्रेजीलाई बनाए पनि त्यसमा कथाव्यथा, समाज, संस्कृति, परम्परा सबै आफूवरपरकै राखेका छन् ।

अर्थात्, उनले नेपाली जनजीवनलाई अंग्रेजी भाषाका करोडौँ पाठकसामु पुर्याए । यसैकारण पनि उनको उपन्यासका बारेमा विश्वका विभिन्न पत्रपत्रिकाहरूले लेखेका शब्दहरू कृतिको ब्लर्बमा राखिएको छ । दी इन्डिपेन्डेन्ट, दी क्यान्सस सिटी स्टार, ले मोन्द, आइरिस एक्जामिनर, दी हिन्दुस्तान टाइम्स, दी गार्जियनका पानाहरूमा ‘ल्यान्ड ह्वेर आई फ्ली’का बारेमा लेखिएका टिप्पणी ‘चित्रलेखाको चौरासी’मा उल्लेख छ ।

कृति विमोचनको छेको पारेर चर्चा गर्दा आख्यानकार प्रज्वलले भनेका थिए, ‘म चाहन्छु– मेरा किताब बढीभन्दा बढी पाठकले पढून् । कतिले भन्छन् नि– मलाई पाँचजना गम्भीर र बुद्धिमान पाठक भए पुग्छ, अरूले पढे पढ्छन्, नपढे पढ्दैनन् । म त्यो मान्दिनँ । म चाहन्छु– मेरो सिर्जना अनगिन्ती पाठकहरूले पढून् ।’

यसैबाट थाहा हुन्छ, प्रज्वल आफ्नो कृति विश्वका अनेकन् भाषाहरूमा प्रकाशित होऊन् ।

यो उपन्यासको एउटा अंशले यस्तो भन्छ, “यसपालि चौरासी पूजामा भेट्दा पनि यस्तै केही निहुँ निकालेर झगडा गर्ने मन थियो मनसालाई । ज्वाइँप्रति हजुरआमाको यस्तै आसक्तिमाथि प्रहार गर्न चाहन्थिन् उनी । तर अफसोस्, हिमाल त्यहाँ थिएनन् । त्यसैले झगडाको स्वाद फिक्का हुने पक्का थियो । त्यस्तो अवस्थामा चित्रलेखा कडा प्रतिस्पर्धी सावित हुन सक्थिन् ।” (पृष्ठ — ६९)

पब्लिकेसन नेपालयद्वारा प्रकाशित ३९२+४ पृष्ठको यो उपन्यासको मूल्य ८७५– रुपैयाँ राखिएको छ ।

०००

भम्पा : एक अडान अनेक प्रश्न
(जीवनकथा : वीरेन मगर)
एक जीवनीका रूपमा प्रकाशित पुस्तक हो, ‘भम्पा – एक अडान अनेक प्रश्न’ । यो कृतिका लेखक हुन्, वीरेन मगर । जसमा उनले भुटानी शरणार्थी डा. भम्पा राईको जीवनका विविध आयामलाई प्रस्तुत गरेका छन् ।

कृतिको ब्लर्बमा पत्रकार देवेन्द्र भट्टराईले लेखेका छन्, “१७ अगस्ट, १९९० मा भुटानका सहायक गृहमन्त्री दागो छिरिङको एउटा सार्वजनिक सूचना आयो, ‘दक्षिणी भुटानबाट ठूलो संख्यामा ल्होत्साम्पाहरू राज्यद्रोहको अभियानमा सहयोगी बन्न देश छाडेर हिँडिरहेका छन् । आइन्दा उनीहरूलाई भुटानी नागरिकका रूपमा दर्ज गरिने छैन ।’

यही ‘नोटिफिकेसन’ बोकेर थिम्पुबाट फुन्चोलिङ जयगाउँ झरेका एक वरिष्ठ चिकित्सक भम्पा राई फेरि फर्किएर आफ्नो जन्म–कर्मथलो कहिल्यै गएनन् । त्यही दक्षिणी भुटानबाट लखेटिएका शरणार्थी बन्न पूर्वी नेपाल आइपुगेका एक लाखभन्दा बढी आफन्तजनको बीचमा स्वनिर्वासित र आजन्म परोपकारी बनेरै उनले जीवन बिताए ।...।”

यो जीवनकथाका सर्जक मगर कृतिभित्र लेख्छन्, “प्रस्तुत पुस्तक मेरो एक्लैको मिहिनेत होइन । करिब पाँच वर्षको लेखन अवधिमा थुप्रै अग्रज तथा शुभेच्छुक साथीहरूको साथ र सहयोग मिल्यो, जसबिना यो सम्भव थिएन ।”

कृतिभित्र डा. भम्पा राईले ‘म स्वेच्छाको शरणार्थी’मा लेखेका छन्, “मेरा आफ्नो कुरा लिपिबद्ध गरेर यो रूप दिने वीरेन भाइलाई विशेष माया ।

यहाँ सबैको नाम राख्न सम्भव छैन । जजसको छुट्यो छुटायो भन्ने नसोच्नु होला है त । अब अन्त्यमा खै के भन्नु र ?

कहिलेकाहीँ लाग्छ, देशभक्ति एउटा ठूलो रोग रहेछ । विगत लामो समयदेखि म यसैले ग्रस्त छु । तर, यो रोग मलाई प्रिय लाग्छ । यही रोगले मलाई जीवनको अर्थ सिकायो । बाँच्ने हौसला दियो । कर्मको बाटो देखायो । म चाहन्छु, मेरो शरीरको अन्य सबै रोगभन्दा भयंकर यो रोगले मलाई चिहानसम्मै साथ देओस् ।”

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ३३८+४ पृष्ठको यो जीवनवृत्तको मूल्य ७९५– रुपैयाँ राखिएको छ ।

०००

जन्तरमन्तर 
(कथासंग्रह : राजेन्द्र पराजुली)
चर्चित कथाकार राजेन्द्र पराजुलीको पछिल्लो कथाकृतिका रूपमा प्रकाशित पुस्तक हो, ‘जन्तरमन्तर’ । यसमा उनका १५ कथा समावेश छ ।

कथाकार पराजुलीको असामयिक देहावसान हुनुभन्दा लगभग महिना दिनअघि प्रकाशित कृति हो, ‘जन्तरमन्तर’ । यसअघि पनि उनका अरू कथाकृति सार्वजनिक भइसकेको छ । एउटा कविताकृति र एउटा संस्मरणसंग्रहसहित कथाकृति पाठकलाई दिएका पराजुली राजनीतिक विषयमाथि चोटिला कथा भन्न खप्पिस थिए । उनका कतिपय प्रकाशित कथाहरू यो कृतिभित्र समावेश छ ।

पुस्तकको अन्तिम आवरणमा प्रकाशकले उल्लेख गरेका छन्, “समाज, संस्कृति, समय र खराब राजनीतिका कारण कष्ट भोगिरहेका मानिसका मनोदशालाई मनोहारी शैलीमा उनले १५ वटा कथा उनेका छन् । ‘जन्तरमन्तर’ कथासंग्रह हामी बाँचिरहेको समयको बिम्बात्मक चित्र हो । यी कथाहरू आजका समयका मानिसले भोगिरहेका अनन्त विसंगतिप्रतिको कडा आलोचकीय दृष्टि पनि हुन् ।”

कृतिभित्र ‘मुसो’, ‘मासु बेच्ने केटो’, ‘जन्तर’, ‘म तिम्रो कथा लेख्छु’, ‘ओनाइरोलोजिष्ट’लगायत कथाहरू छन् ।

शिखा बुक्सद्वारा प्रकाशित १५२+४ पृष्ठको यो कथासंग्रहको मूल्य ३७५– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro