
काठमाडौं । नेपाल स्रष्टा समाज र सिक्किम साहित्य परिषद्का पदाधिकारीबीच समसामयिक साहित्यिक विषयमाथि अन्तरक्रिया सम्पन्न भएको छ ।
सिक्किममा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष हरि ढुङ्गेलले सिक्किमको समग्र साहित्यिक स्थितिका बारेमा जानकारी गराए ।
सोहीअवसरमा स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले समग्र नेपाली साहित्य र आजको अवस्थाबारे प्रकाश पारेका थिए ।
उक्त अवसरमा समाज र परिषद्का बीच आउँदा दिनमा हुन सक्ने समन्वय तथा सहकार्यका विषयमा पनि छलफल भएको अध्यक्ष रोदनले जानकारी गराए ।
अन्तरक्रियात्मक कार्यक्रममा सिक्किमका साहित्यकारहरू रत्ना सुब्बा, टीका ढुङ्गेल, भीम रावत, जीएस नेम्वाङ, कुवेर विष्ट, राधा पाण्डे, जीविका अश्रु, चन्द्र दुलालसहित नेपालबाट गएको स्रष्टा समाजको साहित्यिक टोलीको उपस्थिति थियो ।