site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तिहारका पाँच दिन : यो वर्ष कहिले के गर्ने ?

काठमाडौं । यो वर्षको तिहार पर्व कात्तिक २५ गतेदेखि सुरु हुँदै छ । तिहारका जम्मा पाँच दिन हुन्छ । जसलाई यमपञ्चकका पाँच दिन भनिन्छ ।

कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि यसै महिनाको शुक्लपक्षको द्वितीयासम्मका पाँच तिथिलाई यमपञ्चक भनिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

“यो वर्ष, २०८० सालमा कार्तिकको २५ गते शनिबार त्रयोदशी तिथि छ, सूर्योदयकालमा । त्यसो भएकाले पहिलो तिहारको दिन यही भयो, जुन दिन यमराजको दूतको रूपमा हामीले कागको पूजा गर्छौँ,” उनले बाह्रखरीसित भने, “हामी प्रकृतिको पुजारी हौँ र कागको पूजा गर्छौँ, यही दिन ।”

कात्तिक २६ गते कुकुरपूजा, सोही दिन दिउँसो २ बजेपछि औँसी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीको पूजा–आराधना गरिने उनले बताए ।

“औँसी तिथि जुन दिन पर्छ, साँझ र अर्धरात्रिकालमा, त्यही दिन लक्ष्मीपूजा गर्नुपर्छ । २६ गते आइतबार दिउँसो २ बजेपछाडि औँसी तिथि लाग्ने भएको हुनाले बिहान कुकुरको पूजाहरू गरेर साँझदेखि नै लक्ष्मीको पूजा–आराधना गरिन्छ,” उनले भने, “साँझमा लक्ष्मीलाई भित्र्याउने, पूजा गर्ने गरिन्छ । कसैले अर्धरात्रिकालमा पनि पूजा गर्छन् । तर, लक्ष्मीको साँझमा भित्र्याएर अलक्ष्मीलाई चाहिँ राति १२ बजे बहिर्गमन गराउने हो ।”

कात्तिक २७ गते गाई तिहार, २८ गते बिहान गोवर्धन पूजा गरिन्छ, सोही दिन गोरुपूजा गरिन्छ । लक्ष्मीपूजा, गाईपूजा र गोरुपूजाका दिन देउसीभैलो पनि खेल्ने गरिन्छ । 

कात्तिक २८ गते नै नेवार समुदायले म्हःपूजा र सोही दिन बेलुका बलिको पूजा पनि गरिन्छ । उक्त दिन हली तिहारका रूपमा पनि प्रसिद्ध रहेको उनले बताए ।

सोही दिनदेखि नेपाल संवत् ११४४ सुरु हुने उनले जानकारी दिए ।

यो वर्ष कात्तिक २९ गते भाइटीका परेको छ । कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तमसाइत रहेको उनले बताए ।

कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलको भनाइ पढ्नोस्–

तिहारका जम्मा पाँच दिन हुन्छ । जसलाई यमपञ्चकका पाँच दिन भनिन्छ । कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशी तिथिदेखि लिएर कार्तिक महिनाको शुक्लपक्ष द्वितीयासम्मका पाँचवटा तिथिलाई यमपञ्चक भनिन्छ ।

यो वर्ष २०८० सालमा कार्तिकको २५ गते शनिबार त्रयोदशी तिथि छ, सूर्योदयकालमा । त्यसको भएकाले पहिलो तिहारको दिन यही भयो, जुन दिन यमराजको दूतको रूपमा हामीले कागको पूजा गर्छौँ । हामी प्रकृतिको पुजारी हौँ र कागको पूजा गर्छौँ, यही दिन ।

त्यस्तै गरेर २६ गते आइतबार सूर्योदयकालमा चतुर्दशी भएको दिन ककुरको पूजा गर्छौँ र यही दिन बिहान झिसमिसेमा तेल लगाएर नुहाउने चलन छ । बाहिर नदीहरूमा लगेर दीपदान गर्ने चलन पनि हुन्छ । बर्के बगाउने पनि भन्छन् त्यसलाई ।

त्यस्तै गरेर औँसी तिथि जुन दिन पर्छ, साँझ र अर्धरात्रिकालमा, त्यही दिन लक्ष्मीपूजा गर्नुपर्छ । २६ गते आइतबार दिउँसो २ बजेपछाडि औँसी तिथि लाग्ने भएको हुनाले बिहान कुकुरको पूजाहरू गरेर साँझदेखि नै लक्ष्मीको पूजा–आराधना गरिन्छ । साँझमा लक्ष्मीलाई भित्र्याउने, पूजा गर्ने गरिन्छ । कसैले अर्धरात्रिकालमा पनि पूजा गर्छन् । तर, लक्ष्मीको साँझमा भित्र्याएर अलक्ष्मीलाई चाहिँ राति १२ बजे बहिर्गमन गराउने हो । २६ गते आइतबार औँसी पर्दछ । लक्ष्मीपूजा यही दिन हुन्छ ।

त्यस्तै गरेर २७ गते – आइतबारको जो औँसी, जो गाई तिहारको औँसी, गाईको पूजा गर्ने । सकेसम्म गाईको पूजा गर्नलाई त परेवा तिथि भेटे राम्रो । तर, हाम्रो परम्परामा बिहान पनि पूजा गर्ने चलन भा’को हुनाले २७ गते सोमबार गाई तिहार भयो । र, सोमबारे औँसी पनि यो परेको छ । सोमवती अमावस्या पनि परेको छ ।

त्यस्तै, कार्तिक महिनाको शुक्लपक्षको परेवा तिथि २८ गते मंगलबार छ । २८ गते मंगलबार बिहान गोवर्धन पहाड बनाएर गोवर्धन पहाड/पर्वतको पूजा गरिन्छ । यही दिन गोरुपूजा गरिन्छ । केही समुदायहरू – जस्तो, नेवार समुदायहरूले म्हःपूजा पनि गर्नुहुन्छ, यही दिन । यही दिन बेलुका बलिको पूजा पनि गरिन्छ । यो दिनलाई चाहिँ, हली तिहारको रूपमा पनि यो दिन प्रसिद्ध छ । अर्को विशेष, हाम्रो नेपाल संवत् जुन छ, ११४४ यही दिनबाट, कार्तिक शुक्ल प्रतिपदाबाट आरम्भ हुने हुनाले यही २८ गते मंगलबार नै नेपाल संवत् ११४४ आरम्भ हुन्छ ।

त्यस्तै गरेर २९ गते बुधबार, द्वितीया तिथि मध्याह्नकालमा भएको दिन भाइटीका गरिन्छ । जसलाई यम द्वितीया भनिन्छ र भाइटीका गरिन्छ ।

यसरी तिहारका पाँच दिनका यीयी तिथिहरूमा पर्वहरू मनाइन्छ । पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेका पात्राहरूमा २५ गते शनिबारबाट तिहार पर्व सुरु भएर २९ गते बुधबार सिद्धिने उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro