site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१९ वर्षीया जमुना, जसले भूकम्पमा श्रीमान् र गर्भको शिशु गुमाइन्
SkywellSkywell

रुपनी जीएम
बाँके । जमुना बुढामगर भर्खर १९ वर्षकी भइन् । केही दिनअघिको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कंदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्ट्याइरहन्छिन् । भूकम्पमा परी घाइते उनी हाल नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छिन् ।

गएको शुक्रबार रातिको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिका–६, भारगाउँकी जमुनाकोे संसार नै अँध्यारो बनाइदिएको छ । भूकम्पपीडितको व्यथा एउटै–एउटैजस्तो देखिन्छ । तर, जमुनालाई आफ्नो व्यथा अरूको भन्दा धेरै गहिरो लागेको छ ।

उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्कंदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ । बितेका चार दिनमा जमुनाको होस पूर्ण रूपमा फर्किएको छैन । श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उनी अस्पतालको शय्यामा छटपटिरहेकी छन् ।

Dabur Nepal
NIC Asia

जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन् । “छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले ऊ होसमा आएपछि सुनायौँ । उसलाई थाहा छ । तर पनि उसले ‘आमा, मेरो नानीलाई त ठिकै छ नि ?’ भन्दै सोधिरहन्छे,” आमा पवित्राले भनिन्, “एक्लै–एक्लै आफैँसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन ।”

भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उनलाई चिन्ताले सताइरहेको छ ।

शुक्रबार राति नै भूकम्पमा घरले च्यापिएर उनका ज्वाइँ नवीन बुढाको मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीको उद्धार गर्न रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ बाट जमुनाकी आमा पवित्रा खड्कामगर र बुवा भागीराम जाजरकोट पुगेका थिए । घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागीरामले बताए ।

“हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ । उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ,” भेरी अस्पतालमा जमुनाको हेरचाहमा खटिएका उनले भने ।

जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत चौरजहारीसम्म र त्यहाँबाट विमानमा नेपालगन्ज ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको हो । पेटभित्र मरेको शिशुलाई निकालिएको छ । शिशुको अन्तिम संस्कार नेपालगन्जस्थित मसानघाटमा नै गरिएको भागीरामले बताए ।

जमुनाको उद्धार गर्न जाजरकोट पुगेका भागीराम र उनकी पत्नीलाई आफ्नै घर भूकम्पले चर्किएको भारगाउँ पुगेपछि मात्र थाहा भयो । “हामीले त ज्वाइँ रहनु भएन भन्ने सुन्यौँ । गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ । त्यहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौँ, भूकम्पले हाम्रो पनि घर चर्किएछ ।” दुवैजना शुक्रबार राति नै जमुनाको घर गएका थिए ।

अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान भनी हेरचाह गर्न श्रीमान्सँगै आएकी आमा पवित्रा भन्छिन्, “जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ, उसले त्यही भोग्नैपर्छ । हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला,” उनले भनिन्, “अब छोरी चाँडै निको भइदिए हुन्थ्यो ।”

भूकम्प जाँदा जमुना, उनका श्रीमान्, सासू, नन्द र दुई आमाजूसँगै एउटै घरमा खाना खाएर सुतेका थिए । भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लग्यो । परिवारका अरू सदस्यलाई सामान्य चोट लागेको छ । जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन् ।

भेरी अस्पतालमा जाजरकोट भूकम्पमा परी घाइते भएका ४४ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जनालाई ल्याइएको थियो । दुईजना निको भई घर फर्किएका छन् । उपचार गर्न अस्पताल ल्याउँदै गर्दा एकजनाको बाटैमा मृत्यु भएको थियो ।

प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu