site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छतको पानी व्यवस्थापन नगरे सेवा बन्द

चितवन । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा बसोबास गर्नेहरूले आफ्नो घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने भएका छन् । छतको पानी सिधै सडकमा पुग्ने गरी फाल्दा बजारमा समस्या आएपछि कडाइ गरिएको हो ।

भरतपुर महानगरपालिका–१ ले पानी व्यवस्थापन नगरे स्थानीय निकायबाट दिइने सेवा बन्द गर्ने भएको छ । वडाध्यक्ष केशव महर्जनका अनुसार लायन्सचोक, सहिदचोक, पुलचोक, मिलनरोड, मेनरोड, प्रगतिपथ, बालकुमारी क्याम्पस रोड, पोखरा बसपार्क, लीलाचोक र उद्योग बाणिज्य संघ टोललगायत क्षेत्रमा भएका घरले आफ्नो छतमा आएको पानी सिधै रोडमा फाल्दा सर्वसाधारण पैदलयात्रुदेखि व्यवसायीलाई समेत समस्या परेको गुनासो आएपछि सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

वडाध्यक्ष महर्जनले भने, “हामीले पटक–पटक सूचना जारी गरेका छौँ । अब कार्यान्वयनमा जाने समय आयो ।” सडकमा पानी फाल्दा सडक बिग्रने, यात्रुहरूले समस्या भोग्नुपर्ने उनले बताए ।  गत वैशाखमा सूचना जारी गरेको भए पनि यसको कार्यान्वयनमा नआएपछि पटक–पटक गरी बुधबार तेस्रोपटक सूचना जारी गरिएको हो ।
 
“मुख्य बजार क्षेत्रमा रहेका दुई हजार २०० घरधुरीमा यो समस्या रहेको छ । पानी व्यवस्थापन नगर्ने घरलाई वडा कार्यालयले दिने सेवामा रोक लगाउँछौँ”, उनले भने ।  सूचना जारी भएको सात दिनपछि कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए । कार्यान्वयनमा आएसँगै बजार क्षेत्रका घरधनीले वडाबाट सेवा लिन जाँदा स्थलगत निरीक्षण गरेरमात्रै सेवा प्रवाह गरिनेछ ।
 
“वडाको निर्णय नमान्ने हो भने मानवीय संवेदनासँग जोडिएका विषयबाहेक अन्य सेवा दिन वडा कार्यालय बाध्यकारी हुने छैन”, उनले भने । घरको छतमा जम्मा भएको पानी पाइपमार्फत व्यवस्थापन गर्न वडा कार्यालयले आफ्नो क्षेत्रमा रहेका १२ टोल विकास संस्थालाई परिपत्र गरेर जानकारीसमेत गराइसकेको छ । 

पहिलो चरणमा सहरी क्षेत्रमा यो नर्णय लागु गर्न लागिएको हो । विस्तारै अन्य क्षेत्रमा पनि यो नियम लागु गर्दै जाने उनको भनाइ छ । रासस 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro